Skip to content
Prabhu

महानगरपालिकाद्वारा नेसनल हस्पिटललाई १ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलंकीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एक लाख रुपैयाँ जरिवाना तिर्नुपरेको हो । सुधारको मौका दिँदा अस्पतालजन्य फोहर व्यवस्थापनमा लापरबाही गरेको थियो ।

यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि आज अनुगमन गरिएको थियो । कामपाले जरिवानाको पत्र पठाएपछि अस्पतालले कामपाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको कामपाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिए।

global
अर्घाखाँची सिमेन्ट

‘एक वा दुईपटक होइन । पटकपटक गएर सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन’, उनले भने, ‘सुधारको अवसर उपयोग नगरेपछि कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ ।’

दफाबमोजिम रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।

यही कसुर दोहोर्याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था रहेको श्रेष्ठले जानकारी दिए।

‘अस्पतालबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चारवटा कोठा छन् । गत वर्षको अनुगमनमा अटोक्लेभ मेसिन बिग्रिएको अस्पतालले जानकारी दिएको थियो ।

त्यसबेला विसं २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्न अस्पतालले प्रतिबद्धता जनाएको थियो । यही चैत २० गते गरिएको अनुगमनका क्रममा अवस्थामा सुधार नदेखिएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको हो’ उनले भने ।

उनका अनुसार फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सङ्कलनकक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारणकक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनुलगायत अस्पतालका लापर्बाही हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal