काठमाडौँ । सन् १९८४ मा नेपालमा चाउचाउ कारखाना सुरु गर्दैगर्दा धेरैलाई लागेको थियो, ‘यो चल्दैन’ । किनभने तत्कालीन समयमा एउटा चाउचाउ कारखाना चल्नका लागि दैनिक कम्तीमा ३० हजार प्याकेट चाउचाउ खपत हुनुपर्दथ्यो । त्यति ठूलो बजार नेपालमा बनिसकेको थिएन । बजार नै नहुँदाको अवस्थामा ठूलो लगानी गर्नु निकै चुनौतीपूर्ण काम थियो ।
उद्यमी बिनोद चौधरीले भने यसमा भविष्य देखिसकेका थिए । त्यो बेलामा नेपालमा थाइल्याण्डबाट आयातित चाउचाउको बजार विस्तार हुँदै थियो । आयातित चाउचाउको बजार विस्तारले चौधरीलाई चाउचाउ उद्योग खोल्नुपर्छ र यो चल्छ भन्ने विश्वास थियो उनमा ।
चाउचाउ उद्योग खोल्ने हुटहुटीले उनी थाइल्याण्ड पुगे । त्यहाँ यसबारे अध्ययन तथा अनुसन्धान गरे अनि नेपालमा चाउचाउ कारखाना सुरु गर्ने महत्वाकांक्षी लक्ष्य लिएर नेपाल फर्किए ।
नेपाल फर्किएपछि चौधरीले थाइल्याण्डको थाइ प्रिजर्भ फूड फ्याक्ट्रीको सहकार्यमा नेपालमा वाइवाइका नाममा पहिलो ब्राउन नुडल्स उत्पादन सुरु गरे । त्यसता वाइवाइको नाम नेपालीको मनमनमा र स्वाद जिब्रोमै झुण्डिएको छ । वाइवाइ चाउचाउको स्वाद नलिने सायदै नेपाली कोही होलान् । यसबीचमा वाइवाइ एउटा ब्राण्डका रुपमा मात्रै नभइ चाउचाउको पर्यायका रुपमा पनि स्थापित भएको छ । वाइवाइकै कारण नेपाली कम्पनी विश्वका विभिन्न देशमा पुग्न सकेको अवस्था छ ।
त्यसैले त चालिस वर्षअघि चौधरीले लिएको त्यो निर्णयले उनलाई नेपालको पहिलो र एकमात्र डलर अर्बपति बनाएको छ । त्यति मात्रै होइन, नेपालबाट सुरु गरेको वाइवाइको यात्रा आज विश्वका ३६ देशसम्म पुगेको छ । नेपालको पहिचान विश्वभर फैलाइरहेको छ । अब चौधरीको योजना वाइवाइलाई कम्तीमा नेपालीहरु भएका सबै देशमा पुर्याउनेमा छ ।
सुरुआती चरणमा नेपाली बजारमा लोकप्रियता हासिल गरेपछि सन् १९९० को दशकसम्म वाइवाइ भारतको सीमावर्ती क्षेत्रमा समेत निर्यात हुन थाल्यो । भारतमा वाइवाइको माग बढ्न थालेपछि चौधरीले सन् २००६ मा भारतमा पहिलो अन्तर्राष्ट्रिय उत्पादन केन्द्र स्थापना गरे । जसले दक्षिण एशियाली बजार विस्तारको ढोका खोल्यो । दक्षिण एसियामा एउटै छानोमुनी आधा दर्शनभन्दा बढी प्लान्टबाट नुडल्स उत्पादन हुने एक मात्रै ब्राण्ड वाइवाइ हो ।
हाल वाइवाइ चाउचाउ भारतका सिक्किम, रुद्रपुर, राजस्थान, आन्द्रप्रदेशको चितुर, बिहार, असाम र गुवाहटीमा उत्पादन भइरहेको छ भने नेपालका नवलपरासी, बर्दिया र सुनसरीमा उत्पादन भइरहेको छ ।
वाइवाइ चाउचाउ नेपालीका लागि उत्पादन मात्रै होइन, यो नेपालको एक मात्रै बहुराष्ट्रिय कम्पनी समेत हो । भारतीय नूडल्स बजारमा वाइवाइको हिस्सा करिव ३० प्रतिशत छ । जसलाई सन् २०२८ सम्म ३५ प्रतिशत पुर्याउने चौधरीको लक्ष्य छ । भारतीय बजारमा निरन्तर बढ्दो मागका कारण कम्पनीले फरक–फरक स्वादमा पनि वाइवाइ उत्पादन गरिरहेको छ ।
त्यति मात्रै होइन अबको तीन वर्षमा विश्वका नौ वटा देशमा वाइवाइको उत्पादन सुरु गर्ने र वार्षिक पाँच अर्ब प्याकेट वाइवाइ बिक्री गर्ने समेत योजना बनाएका छन् । जुन विश्वको चाउचाउ बजारको ५ प्रतिशत हिस्सा हुनेछ ।
हाल विश्वमा वार्षिक तीन अर्ब प्याकेट वाइवाइ बिक्री भइरहेको छ भने वार्षिक माग २० प्रतिशतले बढिरहेको छ । पाँच वटा महादेशका ३६ देशमा बिक्री भइरहेको वाइवाइले हाल वार्षिक २०० मिलियन अमेरिकी डलरको आम्दानी गरिरहेको छ । नेपालमा वाइवाइको बजार हिस्सा ६५ प्रतिशत छ भने भारतीय बजारका लागि सबैभन्दा छिटो बजार हिस्सा ओगट्ने कम्पनी समेत बनेको छ ।
कम्पनीले भारतीय बजारमा मात्रै पछिल्लो ६ वर्षमा वार्षिक २० प्रतिशतका दरले वृद्धि भइरहेको छ । हाल नेपालका तीन स्थानमा रहेका १० वटा प्लान्टबाट वाइवाइ उत्पादन भइरहेको छ भने भारतका सात वटा स्थानका १२ वटा उद्योगबाट वाइवाइ उत्पादन भइरहेको छ । त्यसबाहेक यूरोपको सर्बिया, बंगलादेश, काजकस्तान र इजिप्टमा पनि वाइवाइ उत्पादन भइरहेको छ ।
कम्पनीले आगामी दिनमा बेलारुस, मेक्सिको, घाना, कम्बोडियालगायतका देशमा उत्पादनका लागि कारखाना सञ्चालनमा ल्याउने योजना बनाएको छ । हाल वाइवाइ चाउचाउ एशिया, युरोप, उत्तर अमेरिका, मध्यपूर्व तथा अफ्रिकाका विभिन्न देशहरूमा निर्यात भइरहेको छ । प्रमुख निर्यात गन्तव्यहरूमा भारत, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अष्ट्रेलिया र क्यानडा जस्ता देशहरू पर्दछन् ।
वाइवाइ सबैको मनमन बस्न सक्नुको प्रमुख कारण यसको गुणस्तर र स्वाद हो । वाइवाइलाई काँचै, उमालेर वा फ्राइ गरेर पनि खान सकिन्छ । त्यसबाहेक विभिन्न स्वादमा उपलब्ध हुने भएकाले पनि वाइवाइ सबैको मनमनमा बस्न सफल ब्राण्डका रुपमा परिचित छ ।
हाल कम्पनीले क्लासिक चिकेन, मसाला डिलाइट, तोमयाम, शेजवान र स्पाइसी पेरी पेरी स्वादमा वाइवाइ उत्पादन गरिरहेको छ । वाइवाइ तयारी चाउचाउ चिकन, भेज र चिकेन पिज्जालगायतका विभिन्न स्वादमा उपलब्ध छन् । यसलाई प्याकेटबाट सिधै स्न्याकका रूपमा खान सकिन्छ । तातो पानीमा हालेर मसला, फ्लेभर तेल र खुर्सानी पाउडर मिसाएर स्वादिष्ट सुप बनाउन सकिन्छ । साथै मनपर्ने परिकार थपेर पनि खानाका रुपमा लिन सकिन्छ । यसलाई स्न्याकका रुपमा पेय पदार्थसँग पनि खान सकिन्छ ।
विश्वको ट्रेन्ड हेर्दा चाउचाउ विभिन्न स्वादमा बिक्री भइरहेको छ । हाल विश्वमा विभिन्न ब्राण्डका चाउचाउहरु झोलमा चिकन, पोर्क, विफ, सिफूड, भेजिटेबल स्वादमा बढी मन पराइएका छन् । त्यसबाहेक सोया सस, चिज, बिन पेस्ता, स्पाइस, करी मसला, चिली पेपर र सिटरससँग मिलाएर पनि खाने चलन छ ।
अर्थतन्त्रमा योगदान
वाइवाइ स्वदेश तथा विदेशमा रोजगारी सृजना गर्ने नेपाली कम्पनीमा अग्रस्थानमा आउँछ । विदेश निर्यातबाट करोडौँ डलर विदेशी मुद्रा आर्जनदेखि नेपालको नाम विश्वका विभिन्न देशमा परिचित बनाउनमा पनि यसको महत्वपूर्ण योगदान छ । साथै यसले नेपाली कृषि उत्पादकत्वलाई प्रवद्र्धन गर्दै किसानहरूलाई प्रत्यक्ष लाभ पु¥याइरहेको छ ।
वाइवाइले उपभोक्ताहरुलाई पनि मालिक बनाउने उद्देश्यले आइपीओ निष्कासनको तयारी गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसअघि नेपालमा आइपीओ निष्कासनको तयारी भइरहेको बताइसकेका छन् । “तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं, यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं”, निर्वाणले आइपीओ निष्कासनको घोषणका क्रममा भनेका थिए । नेपालमा मात्रै होइन, वाइवाइले भारतमा पनि आइपीओ निष्कासनको तयारी गरिरहेको छ । सन् २०२५ मा प्रि आइपीओ निष्कासनको तयारी गरेको कम्पनीले सन् २०२६ मा फूल आइपीओ निष्कासन गर्नेछ ।
चुनौती स्पाइसी चाउचाउको
ब्राउन नुडल्समा चार दशकदेखि एकछत्र राज गरिरहेको वाइवाइले पछिल्लो समय बजार पिटिरहेको स्पाइसी सेग्मेन्टमा भने केही चुनौती सामना गरिरहेको छ । उपभोक्तामाझ स्पाइसी नुडल्सले बजार लिँदै गर्दा खासै वास्ता नगरेको सिजीले अहिले भने त्यही नुडल्स आफूलाई चुनौती बनेको महसुस गरेको छ ।
विसं २०७४ सालमा जब स्पाइसी नुडल्सको बजार बढ्दो थियो त्यतिबेला विनोद चौधरीले प्रिमियम सेग्मेन्टको चाउचाउको बजार सानो रहेकाले आफूहरुको ध्यान त्यता नगएको बताएका थिए ।
तर, अहिले त्यही प्रिमियम चाउचाउले वाइवाइको लिगेसीमा धक्का दिएको छ । त्यसैले त अहिले सिजीले स्पाइसी सेग्मेन्टमा विभिन्न चाउचाउ उत्पादन गरिरहेको छ । भर्खरै बजारमा ल्याइएको वाइवाइ क्विक हट एण्ड स्पाइसी सेग्मेन्टले भने बजारमा लोकप्रियता कमाइरहेको छ ।
कस्तो छ चाउचाउको विश्वबजार ?
वाइवाइले आगामी तीन वर्षमा विश्वबजारमा आफ्नो हिस्सा पाँच प्रतिशत पु¥याउने योजनाका साथ अघि बढेको छ । सन् २०२० को एक तथ्यांकअनुसार विश्वमा तयारी चाउचाउको बजार करिब ३३ अर्ब अमेरिकी डलर छ । जुन सन् २०२१ देखि २०२८ सम्म वार्षिक ६.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
त्यसमध्ये पनि एसिया प्रशान्त क्षेत्रले मात्रै तयारी चाउचाउको ७० प्रतिशत बजार ओगटेको छ । जसमा चीन सबैभन्दा बढी तयारी चाउचाउ खपत गर्ने मुलुक बनेको छ भने त्यसपछि जापान, इन्डोेनेसिया, दक्षिण कोरिया र भियतनाम छन् ।
त्यसबाहेक उत्तर अमेरिका, युरोप, मध्यपूर्वमा पनि उल्लेख्य मात्रामा तयारी चाउचाउको बजार विकास भइरहेको छ । बदलिँदो जीवनशैली, सहरीकरण र सहज रुपमा पाइने खाद्यान्नको मागका कारण तयारी चाउचाउको माग बढिरहेको चौधरीको बुझाइ छ । त्यसबाहेक पछिल्लो समय विभिन्न स्वादमा आइरहेका तयारी चाउचाउले पनि मानिसहरुले आकर्षित गरिरहेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्