एजेन्सी । सोमबार चिनियाँ सेयर बजार तीव्र रूपमा ओरालो लाग्यो जब अमेरिका र चीनबीचको ‘टिट–फर–ट्याट’ ट्यारिफ युद्ध चर्कियो, जसका कारण देशका सबैभन्दा धनी उद्योगपतिहरूले एकै दिनमा अर्बौं डलर गुमाए ।
ट्रम्प प्रशासनले लगाएका ट्यारिफ वृद्धिप्रति सुरुमा प्रतिरोध देखाएको चिनियाँ सेयर बजार लामो बिदापछि खुलेलगत्तै धरासायी भयो । साङ्घाई र शेन्जेन्का सेयरहरू समेट्ने सीएसआई ३०० सूचक सोमबार बिहानको कारोबारमा ७.५ प्रतिशतसम्म घट्यो भने हङकङको हाङ सेङ सूचकाङ्क १०.५ प्रतिशतले सम्मले ओरालो लाग्यो ।
यो बजार गिरावट शुक्रबार चीनले अमेरिकाबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा ३४ प्रतिशतको बराबरी ट्यारिफ लागू गर्ने घोषणा गरेपछि आएको हो । नयाँ ट्यारिफ अप्रिल १० देखि लागू हुने जनाइएको छ ।
चिनियाँ प्रतिक्रियामा केही दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरिएको छ । ट्रम्पका अघिल्ला ट्यारिफमा ढिला प्रतिक्रिया जनाउने चीनले यसपटक भने सार्वजनिक बिदाका दिनमै तीव्र प्रतिक्रिया जनाएको हो ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच चाँडै वार्ताको सम्भावना नदेखिएपछि लगानीकर्ताहरूले सेयर बेच्न थाले, बेइजिङस्थित लगानी बैंक चान्सन एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेन मङले भने ।
यसका कारण हङकङमा सूचीकृत टेन्सेन्टको सेयर ११ः३० बजे सम्ममा करिब १० प्रतिशतले घट्यो । जसले अध्यक्षमा हुआतेंगको सम्पत्तिमा ४.५ अर्ब डलरको गिरावट ल्यायो । फोब्र्सको रियल टाइम बिलियनेयर सूचीअनुसार उनी अझै पनि चीनका तेस्रो धनी व्यक्ति छन् । हालको कुल सम्पत्ति ४८ अर्ब डलर रहेको छ । अन्य प्रमुख धनी व्यक्तिहरूमा शाओमीका संस्थापक लेई जुनको सम्पत्तिमा ४.२ अर्ब डलर र बीआईडीका सहसंस्थापक वाङ चुवानफुको सम्पत्तिमा २.५ अर्ब डलरको गिरावट आएको छ ।
सोमबार बिहान रियल टाइम बिलियनेयर लिस्टमा रहेका सबैभन्दा धेरै गुमाउने पाँचमध्ये चार जना चिनियाँ उद्योगपति थिए । यसबाहेक जापानका मसायोशी सोनको सम्पत्ति २.१ अर्ब डलर घटेर २३.६ अर्ब डलरमा झरेको छ, किनभने टोकियोमा सूचीबद्ध सफ्टबैंकका सेयरहरू १० प्रतिशतभन्दा बढी घटेका थिए ।
भारतको बजार खुल्दा, रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति ५.४ अर्ब डलरले घटेर ८५.९ अर्ब डलरमा झ¥यो भने अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति ४.१ अर्ब डलरले घटेर ५६.२ अर्ब डलरमा सीमित रह्यो । यी दुवै भारतका क्रमशः पहिलो र दोस्रो धनी व्यक्ति हुन् ।
चिनियाँ अधिकारीहरूले आन्तरिक अर्थतन्त्रलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । चान्सन एन्ड कम्पनीका शेनका अनुसार, आगामी केही दिनमै सरकारी नीति घोषणा भएसँगै बजारमा स्थिरता आउन सक्नेछ ।
आइतबार राति सरकारी सञ्चालित पीपल्स डेलीमा प्रकाशित सम्पादकीयमा एक नाम नखुलाइएका टिप्पणीकारले चीनले राजकोषीय घाटा बढाउने, ब्याजदर घटाउने, तथा बैंकहरूको रिजर्भ आवश्यकतामा कटौती गर्ने ठाउँ रहेको लेखेका छन् । लेखमा असाधारण उपायमार्फत घरेलु खपत बढाउने र घोषणा गरिएका नीतिहरूको कार्यान्वयनलाई तीव्र बनाउने भनिएको छ, यद्यपि विस्तृत विवरण दिइएको छैन ।
सिंगापुरस्थित अबर्डीन कम्पनीका एसियाली सेयरका लगानी निर्देशक सिन्–याओ न्गले भने, “चीन, संभवतः यो व्यापार युद्धको लागि सबैभन्दा बढी तयार देश हो ।” किनभने उसले वर्षौंदेखि अमेरिकासँग व्यापार संघर्ष भोग्दै आएको छ । उनले भने, केही घरेलु खपतसँग सम्बन्धित सेयरहरू अत्यधिक मात्रामा बेचेका हुन सक्छन्, किनभने ठूलो स्थानीय बजार र भविष्यका प्रोत्साहनहरूले तिनीहरूमा अझै वृद्धि हुन सक्ने सम्भावना छ ।
तर, न्गका अनुसार व्यापार युद्धको अन्त्य ट्रम्प पछि हटे मात्र सम्भव छ । तर ट्रम्प प्रशासनले बढ्दो द्विपक्षीय आलोचनाका बाबजुद पनि आफ्नो नीतिमा अडिग रहने वाचा गरेको छ । चीन तथा सम्भावित रूपमा युरोपेली संघद्वारा उठाइएका प्रतिकारहरू सही प्रतिक्रिया हुन सक्ने उनले बताए ।
“मेरो विचारमा, कुनै पनि देशका लागि अमेरिका निर्भरता हटाउँदै बाँकी विश्वसँग व्यापार विस्तार गर्नु नै अगाडि बढ्ने बाटो हो,” न्गले भने, “अमेरिकालाई भनिदिनुपर्छ कि यो व्यवहार स्वीकार्य छैन, अनि बाँकी विश्वसँग मिलेर अमेरिका बाहेकका व्यापारहरू सिर्जना गर्नु पर्छ ।”
प्रतिक्रिया दिनुहोस्