काठमाडौं । पानी जहाज कार्यालयले ६ वर्षमा ११ वटा नदीमा सम्भाव्यता अध्ययन गर्नका लागि ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानी जहाज कार्यालयले ६ वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै ६ वर्षमा ११ वटा नदीमा सम्भाव्यता अध्ययनको लागि ११ करोड ६६ लाख ५०९ रुपैयाँ खर्च भएको जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा १५ लाख रुपैयाँ खर्च भएको देखिएको छ । त्यस्तै आव २०७६/७७ मा २ करोड ७३ लाख ६९ हजार ९९८ रुपैयाँ, आव २०७७/७८ मा ४ करोड ४६ लाख २७ हजार ७४८ रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ करोड १८ लाख १ हजार ३१४ रुपैयाँ खर्च भएको छ । त्यस्तै आव २०७९/८० मा १ करोड ७७ लाख ५४ हजार ४४९ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै आव २०८०/८१ मा ७० लाख २२ हजार रुपैयाँ खर्च भएको छ । ६ वर्षको अवधिमा पानीजहाज कार्यालयका लागि कुल १५ करोड २७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजना गरिएको थियो । जस अनुसार क्रमशः आव २०७५/७६ मा १५ लाख रुपैयाँ, २०७६/७७ मा ३ करोड ६३ लाख, २०७७/७८ मा ५ करोड ६० लाख, २०७८/८९ मा १ करोड ६९ लाख, २०७९/८० मा ३ करोड २८ लाख ८० हजार र २०८०/८१ मा ९२ लाख रुपैयाँ बजेट विनियोजना गरिएको थियो ।
यो अवधिमा पानी जहाज कार्यालयले कर्णाली नदी, कालीगण्डकी नदी, राप्ती, बबइ, नारायणी, कोशी, मस्र्याङ्गदी, त्रिशुली, तामाकोशी, दूधकोशी र सुनकोशी नदीमा सम्भाव्यता अध्ययन गरेको जनाएको छ । जसमा कर्णाली नदिको खक्रैला–खिमडी ११५ किलो मिटर, कालीगण्डकी नदीको राम्दी–देवघाट ९५ किलो मिटर र राप्ती नदीको सिक्ट–भालुवाङ १०२ किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएको छ ।
त्यस्तै बबई नदीको नेपालगञ्ज– गुलरिया हाइवे माथि ५२ किलोमिटर, नारायणी नदीको देवघाट–गण्डक ८५ किलोमिटर, कोशी नदीको चतरा–तुम्लिङ्गटार ७५ किलोमिटर र मस्र्याङ्दी नदीको मस्र्याङ्दी हाइड्रोपावर ड्याम देखि तुलुङ्गकोट सम्मको २० किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएको छ ।
त्यस्तै त्रिशूली नदीको देवघाट–मुग्लिन २२ किलोमिटर, तामाकोशी नदीको सुनकोशी दोभानदेखि माथि ६३ किलोमिटर र सुनकोशी नदीको अरुण दोभान–रानीटार २२ किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्