काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ साधारणसभाको मिति तोकेको हो ।
सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि सभा बस्ने बताइएको छ । सभाले यसअघि नै सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्