काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार परिसूचक आज सामान्य अंकले सुधार भएको हो ।
साताको सेयर कारोबार हुने अन्तिम दिनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २ दशमलव ०८ अंकले बढेर २६५८ दशमलव ०२ विन्दुमा पुगेको छ । अघिल्लो दिन भने सेयर बजार ३२ अंकले घटेको थियो । आज सेयर बजारमा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८३ कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २३ अंकले बढेर ४४७ दशमलव २६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको सेयर मूल्य बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । अघिल्लो दिन दिन ७ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०८ कम्पनीका १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७० हजार ७०३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्