काठमाडौं । नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले २०७८ सालको चैतमा बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्नका लागि निर्देशन दियो । सुरुमा एक वर्षको समय थप गरेर पुँजी वृद्धि गर्नका लागि आग्रह गरेको प्राधिकरणले पटक-पटक गरी समय थप गर्दा पनि अझै पनि आधाभन्दा बढी बीमा कम्पनीहरुले आवश्यक पुँजी पुर्याउन सकेका छैनन् ।
आल जीवन र निर्जीवन गरी कुल २८ वटा बीमा कम्पनीहरु छन् । २८ वटा ठूला बीमा कम्पनीहरुमध्ये हालसम्म प्राधिकरणले तोकेको पुँजी पुर्याउन नसक्ने कम्पनी १५ वटा छन् । पटक–पटक समय थप गरेको प्राधिकरणले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा चुक्ता पुँजी पुर्याउने समय थप गरेको थियो । त्यस भन्दा पछि भने प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउने समय सीमा नै तोकेको छैन ।
अन्तिमपटक थपिएको समयमा केही कम्पनीले चुक्ता पुँजी कायम गर्न सफल भए पनि अहिले भने बीमा कम्पनीहरुलाई समय नतोकिएको बीमा प्राधिकरणका एक अधिकारीले जानानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारणले केही कम्पनीहरुको हकप्रद सेयर जारी गर्न स्वीकृति प्राप्त नभएकाले ढिलो भएको छ । पछिल्लो समय बीमा प्राधिकरण कम्पनीप्रति यति लचिलो भयो कि उनीहरुलाई पुँजी वृद्धिको लागि कुनै पनि समय सीमा नदिएर अनलिमिटेड समय दिएको छ ।
आफैंले दिएको समय कार्यान्वयन गर्न नसक्दा प्राधिकरणले लगातार रूपमा समय थप्दै आइरहेको प्राधिकरणले अहिले पनि कुनै समय नै न तोकेर कम्प्नीहरुलाई पुँजी पुर्याउन भनिरहेको छ ।
नेपाल धितापत्र बोर्डबाट हकप्रद सेयर जारी गर्ने अनुमति नपाएका कारण पुँजी वृद्धि गर्न नसकेकाले समय थप्नका लागि कम्पनीहरुले आग्रह गरे अनुसार प्राधिकरणले पछिल्लो समय मिति थप गरेको थियो । उक्त थपिएको समय सकिए पछि अहिले कुनै समय थप नगरिएको ति अधिकारीले लगानी न्युजलाई जानकारी दिए ।
केही कम्पनीले मर्जरमार्फत पुँजी वृद्धि गरे भने केही कम्पनीको भने पहिले नै पुँजी पुगेको थियो । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको विवरणअनुसार २८ वटा कम्पनीमध्ये ८ वटा जीवन बीमा कम्पनी र ७ वटा निर्जीवन बीमा कम्पनीहरुले आवश्यक पुँजी पुर्याउन सकेका छैनन् ।
प्राधिकरणले २०७८ सालमा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेको ४ वर्ष पूरा हुँदासमेत १५ कम्पनीले आवश्यक पुँजी पुर्याउन सकेका छैनन् ।
हालसम्म पनि पुँजी पुर्याउन नसक्नेमा जीवन बीमा कम्पनीतर्फ सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेनस (नेपाल), एसियन लाइफ र सन नेपाल लाइफ रहेका छन् । त्यस्तै रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ छन् ।
हाल सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । त्यस्तै एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ मात्रै रहेको छ । त्यस्तै एसियन लाइफको ३ अर्ब ३९ करोड रुपैयाँ, सन नेपाल लाइफको ३ अर्ब ९६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ अर्ब ६४ करोड, सानिमा रिलाइन्सको ४ अर्ब ९५ करोड रुपैयाँ, सिटिजन लाइफको ३ अर्ब ९३ करोड र प्रभु महालक्ष्मी लाइफको ४ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफ मर्जर हुँदा पनि आवश्यक ५ अर्ब चुक्ता पुँजी पुगेको छैन । प्रभु महालक्ष्मी लाइफको हकप्रद सेयर अहिले पाइपलाइनमा रहेको छ । त्यस्तै जीवन बीमा कम्पनीतर्फ एलआईसी र सन नेपाल लाइफले हकप्रद सेयर जारी गर्ने अनुमति पाइसकेका छन् । सन नेपाल लाइफले हकप्रद जारी गर्नका लागि बुक क्लोजसमेत गरिसकेको छ ।
बीमा कम्पनीहरुले लामो समय धितोपत्र बोर्डको अध्यक्ष खाली हुँदा हकप्रद सेयर जारी गर्न नपाएका कारणले पुँजी पुर्याउन नसकेको भने पछि समय थप गरिएको प्राधिकरणले जनाएको छ ।
यी हुन पुँजी पुगेका जीवन बीमा कम्पनीहरु
हालसम्म प्राधिकरणले तोकेको पुँजी पुगेका जीवन बीमा कम्पनीहरु ५ वटा मात्रै छन् । यी कम्पनीमध्ये केही कम्पनीहरुले मर्जरबाट पुँजी वृद्धि गरेका हुन भने केहीले आफैंले पुँजी वृद्धि गर्न सफल भएका छन् ।
पुँजी पुगेका जीवन बीमा कम्पनीहरुमा नेसलन लाइफको ५ अर्ब २१ करोड, नेपाल लाइफको ८ अर्ब २० करोड रुपैयाँ, सूर्यज्योति लाइफको ५ अर्ब १ करोड, हिमालयन लाइफको ८ अर्ब २ करोड र आइएमई लाइफको ५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै मेट लाइफ इन्स्योरेन्स विदेशी बीमा कम्पनीको शाखाका रुपमा सञ्चालित रहेको छ ।
निर्जीवन बीमामा ५० प्रतिशतको पुगेको छैन पुँजी
निर्जीवन बीमा कम्पनीहरुमध्ये पनि हालसम्म ५० प्रतिशत कम्पनीले आवश्यक चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । १४ वटा कम्पनीहरुमध्ये ७ वटा कम्पनीको मात्रै चुक्ता पुँजी पुगेको छ भने ७ वटाको पुगेको छैन् । प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।
हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसी इन्स्योरेन्सको चुक्ता पुँजी प्राधिकरणले तोकेको भन्दा कम रहेको छ ।
हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । त्यस्तै युनाइटेड अजोडको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ र नेको इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ मात्रै रहेको छ ।
त्यस्तै प्रभु इन्स्योरेन्सको १ अर्ब ३७ करोड रुपैयाँ, एनएलजीको १ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सको २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
त्यस्तै निर्जीवन बीमा कम्पनीमा आवश्य चुक्ता पुँजी पुर्याउने कम्पनीमा हिमालयन एभरेष्टको २ अर्ब ५० करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सको २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पँजी रहेको छ । नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स् विदेशी बीमा कम्पनीका शाखा तथा एलाइन्ड क्यापिटलमा सञ्चालित कम्पनी हुन् ।
प्राधिकरणको मापदण्ड अर्बमाथि सरकारी स्वामित्वका कम्पनीको चुक्ता पुँजी करोडमा बीमा क्षेत्रमा सरकारी स्वामित्वका एक/एक जीवन र निर्जीवन गरी दुईवटा बीमा कम्पनीहरु छन् । दुवै कम्पनीको चुक्ता पुँजीको अवस्था निकै दयनीय रहेको छ ।
प्राधिकरणले ५ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने भनेको जीवन बीमा कम्पनीको जम्मा पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ । त्यस्तै निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्रै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्