Skip to content

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा

nabil bank

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छन् ।

थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन्, ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला हुनसक्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा मन्त्री डा. राणाले उहाँ कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको स्पष्ट पारिन् ।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको उल्लेख गर्दै मन्त्री डा राणाले बिहीबार नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री डा राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनस्केप) को ८१औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किएकी हुन् । यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गर्नुभएको थियो । सो अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयका बारेमा नेपालका तर्फबाट धारणा राखेकी थिइन्।

उक्त अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रबर्द्धन गर्न सघाउ पुगेको महससु भएको परराष्ट्रमन्त्री डा राणाले बताइन् ।

उनले सो कार्यक्रमको ‘साइडलाइन’मा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहयोग आदान–प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिइन् ।

उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको परराष्ट्रमन्त्री डा राणाले बताइन् ।

साथै यस भ्रमणका क्रममा आफूले नेपालले आगामी जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’का बारेमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू, अन्तरराष्ट्रिय सङ्घसङ्गठन एवम् नागरिक समाजका प्रतिनिधिलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको उनले जानकारी दिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime