काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने ठूलै तयारी रहेको थियो । श्वेतपत्र ल्याउने सबै तयारी पूरा भए पनि अन्तिम समयमा भने यो रोकिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आज (मंगलबार) ११ बजे पत्रकार सम्मेलन गरेर नै श्वेतपत्र सार्वजनिक गर्ने र प्राधिकरणको वर्तमान अवस्था जस्ताको त्यस्तै बाहिर ल्याउने तयारी गरेका थिए । अन्तिम समयमा आएर उनले प्राविधिक कारण देखाउँदै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेका छन् ।
उनले आज सार्वजनिक गर्ने भनेर जुन श्वेतपत्र बनाएका थिए, अब त्यो सार्वजनिक नहुने मात्रै होइन अब अर्को श्वेतपत्र केही परिवर्तन भएर आउने स्रोतको दाबी छ । शाक्यले आज सार्वजनिक गर्न लागेको स्वेतपत्र लगानी न्युजले फेला पारेको छ । शाक्यले तयार पारेको श्वेतपत्रमा प्राधिकरणले हालसम्म हासिल गरेको उपलब्धि र वर्तमान अवस्था तथा आगामी अवसर र चुनौती समावेश थियो ।
प्राधिकरणले तयार पारेको श्वेतपत्रमा आर्थिक वर्ष २०८०/८१ सम्ममा कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकोमा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको छ । जुन लेखांकन हुन बाँकी छ । करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजनाहरु छन् । यी आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्नुपर्ने श्वेतपत्रमा उल्लेख थियो ।
सरकारको प्राधिकरणमा सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ छ । प्राधिकरणमा सरकारको कुल २ खर्ब ४८ अर्ब १२ करोड ऋण लगानी छ । जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो । प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म भएको ठेक्का पट्टाअन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।
हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र अन्य चालु खातामा २ अर्थ ४७ करोड रुपैयाँ रहेको छ । जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा भएको प्राधिकरणले जनाएको छ ।
आव २०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्व वापत ४७ अर्ब २४ करोड र धरौटीबापत २४ अर्ब ११ करोड रुपैयाँ दायित्व रहेको छ।
सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको व्याज २९.५ अर्थ र टनकपुर विद्युतबापत ३ अर्ब गरी कुल ३२.५ अर्ब दायित्व बाँकी रहेको छ । प्राधिकरणको ऋण भने सरकारको आन्तरिक स्राेततर्फ ७७ अर्ब ८ करोड र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालिन ऋण रहेको छ । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको छ ।
यसको अलावा २०८०/८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्व ५७ करोड रुपैयाँ रहेको छ । प्राधिकरणविरुद्ध विभिन्न अर्ध न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरुको सम्भावित दायित्व २०८१ फागुन मसान्तसम्म ८ अर्ब ४० करोड पुगेको छ । यसैगरी, प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रबर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको संस्थागत जमानत प्रदान गरेको छ ।
आव २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ । फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि विगत १२ वर्षको नोक्सानी समायोजन र मूल्यह्रासको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको देखिन्छ ।
फागुनसम्म डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको छ । सरकारबाट कोभिड छुट, चिस्यान केन्द्रलगायत शीर्षकमा दिइएको छुट बापतको रकम १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी छ ।
यसरी डेडिकेटेड फिडर तथा ट्रक साइनतर्फको र अन्यसहित बक्यौता जम्मा ३२ अर्ब ५ करोड रहेको छ । बाँकी १२ अर्ब ४९ करोड नियमित तर्फको बक्यौता रहेको छ । यी बक्यौता रकमहरु आयमा समावेश रहेको छ । आब २०८१/८२ को लागि प्राधिकरणको प्रयोपित मायको स्रोत १ खर्ब ९९ अर्ब २ करोड छ । तर २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ छ ।
सरकारबाट विगतमा शोधभर्ना पाउनुपर्ने रकम १४ अर्ब १० करोड रातो किताबमा समावेश नभएकै अवस्थामा समेत प्राधिकरणको बजेटमा समावेश गरिएको छ । त्यस्तै डेडिकेटेड फिडर र ट्रक लाइनतर्फको बाँकी बक्यौता समेत अनुमानित आयमा समावेश गरि बजेट कायम भएको छ ।
यसरी २९ अर्ब ७५ करोड बजेट स्रोतको व्यवस्था नभएको देखिन्छ । प्रक्षेपित आयमा विद्युत बिक्रीको अनुमान पनि बढी भएको र गत असोजको बाढीबाट विभिन्न उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक बिक्रीसमेत कम हुन गएबाट वास्तविक बिक्री करिब १८ अर्ब न्यून हुन जाने देखिन्छ ।
स्वीकृत बजेटमा प्रस्तावित नगद प्रवाहको अनिश्चितताको बाबजुद स्रोतभन्दा बढ़ी निर्माण कार्य अघि बढेबाट हालको नगद संकट उत्पन्न भएको उल्लेख छ । त्यसको परिपूर्तिका लागि १० अर्बसम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणमा सरकारको शेयर तथा ऋण लगानीमा सञ्चालित विभिन्न आयोजनाहरुमा विनियोजित रकम निरन्तर घट्दो क्रममा रहेको देखिन्छ ।
चालु आवमा सरकारको आन्तरिक स्राेततर्फ विनियोजित रकम ४ अर्ब २६ करोड विगत वर्षहरुको सञ्चालित आयोजनाहरुको स्वदेशी काउन्टरपार्ट फाण्ड को लागि समेत चालु आवमा सरकारको तुलनामा अत्यन्त न्यून रहेको छ ।
वैदेशिक सहायतामा विनियोजित रकम अपर्याप्त रहेको छ । चालु आवको फागुनसम्ममा सरकारबाट १ अर्ब ४६ करोड मात्र प्राप्त भएको छ । प्राधिकरणबाट १४ अर्ब ५३ करोड आयोजनाहरुमा खर्च भएको छ । प्राधिकरणले आव २०७३/७४ देखि हालसम्म आफ्नो स्रोतबाट मात्र करिब ५९ अर्ब रकम सहायक तथा सम्बद्ध कम्पनीहरुमा लगानी गरेको छ ।
वार्षिक नाफाको तुलनामा आयोजनाहरुमा आवश्यक लगानी रकम अत्यधिक रहेको र सरकारबाट वार्षिक विनियोजन पनि कम हुँदै गएकाले आगामी दिनहरुमा प्राधिकरणको नगद प्रवाह व्यवस्थापन कठिन हुने देखिन्छ । प्राधिकरणको विगत चार वर्षको परिस्थितिको विश्लेषण गर्दा औसतमा विद्युत् बिक्रीबाट हुने आम्दानीको करिव ५९४ विद्युत खरिदमा मात्र खर्च हुने गरेको छ ।






प्रतिक्रिया दिनुहोस्