एजेन्सी । सन् २००८ डिसेम्बर १० मा अमेरिकाको इतिहासको सबैभन्दा ठूलो वित्तीय ठगीको पर्दाफास भयो । मन्दीका कारण टाट पल्टने अवस्थाबाट गुज्रिरहेको अमेरिकी फाइनान्सेर बर्नार्ड लरेन्स म्याडफले आफ्ना छोराहरु मार्क र एन्ड्रयुलाई आफ्नो एडभाइजरी व्यवसाय एक ठूलो झूट भएको खुलासा गरे ।
छोराहरूले यसबारे एफबीआईलाई जानकारी गराए । त्यसको भोलिपल्ट अर्थात् ११ डिसेम्बर, २००८ मा म्याडफ पक्राउ परे । यो ठगी लगभग ६५ अर्ब अमेरिकी डलरको थियो । आजको दरमा यो रकम करिब नौ करोड रुपैयाँ हुन्छ । म्याडफले विश्वभरिका हजारौं लगानीकर्तालाई १७ वर्षसम्म मूर्ख बनाएका थिए ।
म्याडफमाथि विश्वास गर्ने धेरै व्यक्तिको अवकाशको पैसा डुब्यो । अदालतले उनलाई १५० वर्षको सजाय सुनायो । छोरा मार्कले सन् २०१० मा आत्महत्या गरे । अर्का छोरा एन्ड्रयुको सन् २०१४ मा क्यान्सरका कारण मृत्यु भयो । यो ठगी त्यस्ता व्यक्तिले गरेका थिए, जो त्यहाँको स्टक एक्सचेञ्ज नास्डाकका पूर्वअध्यक्षसमेत थिए ।
बर्नार्ड म्याडफको जन्म २९ अप्रिल १९३८ मा भएको थियो । १४ अप्रिल २०२१ मा उनको मृत्यु भयो । उनको ठगीको कथा यसरी सुरु हुन्छ ।
बर्नार्ड म्याडफको कम्पनीका दुई मुख्य अंग थिए, एउटा वैध मार्केट–मेकिङ र प्रोप्राइटरी ट्रेडिङ व्यवसाय र अर्को एक गोप्य एडभाइजरी व्यवसाय, जसमार्फत सम्पूर्ण ठगी गरियो । एडभाइजरी व्यवसायमा म्याडफले जुनसुकै परिस्थितिमा पनि ८–१२ प्रतिशतको वार्षिक प्रतिफल दिने बाचा गर्थे । यसले स्थिर आम्दानी चाहने व्यक्तिहरू, हेज फन्ड, च्यारिटी र संस्थाहरुलाई आकर्षित ग¥यो ।
म्याडफले विशेष पहुँचको आभा सिर्जना गर्न लगानीकर्ताहरूको पैसा लिनबाट कहिलेकाहीं अस्वीकार गर्दथे । साथसाथै, आफूलाई नेस्डाकको पूर्वअध्यक्षको छवि देखाएर विश्वास बढाउँथे । म्याडफले सन् १९६० मा आफ्नो ब्रोकरेज फर्म ‘बर्नार्ड एल. म्याडफ इनभेष्टमेन्ट सेक्योरिटीज’ स्थापना गरेका थिए ।
म्याडफले लगानीकर्ताको पैसा लिएर त्यसलाई लगानी गर्दैनथे । ग्राहकको पैसा स्टक, बन्ड वा अन्य सुरक्षात्मक साधनहरूमा लगानी गर्ने सट्टा, सिधै बैंक खातामा राखिन्थ्यो । म्याडफ र उनको टोलीले नक्कली ट्रेड र नाफा देखाउन फर्जी स्टेटमेन्ट बनाउथे । स्टेटमेन्टमा ब्लू–चिप स्टक र ट्रेजरी सेक्योरिटीज देखाइन्थ्यो । जब ग्राहकले रकम फिर्ता माग्थे, तब म्याडफले नयाँ लगानीकर्ताको पैसा पुरानोहरूलाई दिन्थे । अर्थात्, जबसम्म नयाँ भित्रिएको रकम फिर्ता मागिएको रकमभन्दा बढी रहन्थ्यो, यो स्किम सजिलै चल्न सक्थ्यो । म्याडफले स्टक पर्चेज र इन्डेक्स अप्सनको एक कम्प्लेक्स अप्सन रणनीतिबाट उनी स्थिर प्रतिफल दिनसक्छन् । तर वास्तवमा यस्तो कुनै ट्रेड नै हुँदैनथ्यो ।
म्याडफलाई हजारौं लगानीकर्ताले आफ्नो पैसा सुम्पेका थिए । सन् २००८ मा उनीसँगको कुल रकम ६५ अर्ब डलर पैसा थियो । तर वास्तववमा नगद भने ३०० मिलियन डलरभन्दा कम मात्र थियो । उनका ग्राहकहरूमा रिटायर्ड मानिसदेखि लिएर चर्चित व्यक्तिहरू थिए । साथै, विश्वविद्यालय, पेन्सन फन्ड र फेयरफिल्ड ग्रिनिच जस्ता फिडर फन्डहरू पनि थिए, जसले विश्वभरिका लगानीकर्ताबाट अर्बौं डलर जुटाएका थिए ।
म्याडफको टोलीले पुरानो सफ्टवेयरको प्रयोग गरेर नक्कली ट्रेड कन्फर्मेसन र स्टेटमेन्ट बनाउँथ्यो। आवश्यक रिटर्न देखाउन संख्यालाई म्यानुअली मिलाइन्थ्यो । म्याडफले आफ्नो प्रतिष्ठाको फाइदा उठाएर र बनावटी डेटा प्रयोग गरेर सेक्युरिटी एक्सचेञ्ज कमिसनको जाँचलाई गुमराहमा राख्थे । सन् २००५ र सन् २००६ मा गरिएका जाँचले पनि ठगी देखाउन सकेन ।
एडभाइजरी व्यवसाय छुट्टै फ्लोरमा चल्थ्यो, जहाँ सीमित व्यक्तिको मात्रै पहुँच थियो । दावी अनुसार, म्याडफका छोराहरुलाई पनि ठगीबारे जानकारी थिएन । उनीहरू कम्पनीको वैध विभागमा काम गर्थे । म्याडफले सन् १९९० को मन्दी, सन् १९९८ को फाइनान्सियल क्राइसिस र ९÷११ को आक्रमणपश्चात पनि ठगीको स्किम चलाइरहेका थिए ।
वैध व्यवसाय, उद्योगसँग सम्बन्ध, च्यारिटीमा डोनेशन जस्ता कामले म्याडफलाई विश्वासिलो बनायो । म्याडफले लगानीकर्तालाई ८–१२ प्रतिशतको स्थिर प्रतिफल दिँदै आएका थिए । बजार अस्थिर भए पनि यस्तो प्रतिफल मिल्दथ्यो । एसईसीले ह्यारी मार्कोपोलोसजस्ता व्हिसलब्लोअरको चेतावनीलाई नजरअन्दाज ग¥यो । उनले गणितीय प्रमाणसहित म्याडफको रिटर्न असम्भव रहेको बताए । स्थिर नाफाबाट चकित ग्राहकहरू प्रायः ठूलो रकम निकाल्दैनथे, जसले म्याडफलाई नगद प्रवाह कायम राख्न सघायो ।
म्याडफको ठगी २००८ को वित्तीय संकटमा पर्दाफास भयो । बजारमा डर फैलिएपछि ग्राहकहरूले सात अर्ब डलर फिर्ता माग्न थाले । म्याडफसँग बैंकमा केवल २००–३०० मिलियन डलर बाँकी थियो ।
त्यसपछि म्याडफले नयाँ लगानी भित्र्याउने प्रयास गरे । इमान्दार ग्राहकहरूलाई दबाब दिए, अवैध तरिकाबाट पनि फन्ड जुटाउने सोच बनाए । तर फिर्ता माग बराबर लगानी जुट्न सकेन। म्याडफ टाट पल्टिए र रकम फिर्ता दिन सकेनन् ।
उनले आफ्नो ठगीबारे १० डिसेम्बर २००८ मा छोराहरुलाई भने । त्यसपछि उनी पक्राउ परे ।
उनका कारणले हजारौं लगानीकर्ताले बचत गुमाउनुप¥यो । धेरैजसो रिटायर्ड मानिसले जीवनभरको बचत गुमाए । एली विजेल फाउन्डेशन जस्चा च्यारिटी संस्था बन्द भए । फिडर फन्डमार्फत युरोपियन बैंक र मध्यपूर्वी लगानीकर्ता पनि प्रभावित भए । उनको ठगीबारे पत्नी रूथ म्याडफलाई पनि जानकारी थिएन । उनले सार्वजनिक रुपमा लाज र निर्वासन भोग्नुप¥यो ।
१२ मार्च २००९ मा म्याडफले सेक्योरिटी फ्रड, मनी लन्ड्रिङ र झूटा बयानजस्ता ११ फेडरल अपराध स्वीकार गरे । त्यसपछि जुन २००९ मा न्यायाधीश डेनी चिनले यस ठगीलाई असाधारण रूपले दुष्ट भन्दै १५० वर्षको जेल सजाय सुनाए । त्यतिबेला ७१ वर्षीय म्याडफलाई १७० अर्ब डलर हर्जाना तिर्न आदेश दिइयो । यो रकम म्याडफसँग भएका सम्पत्तिभन्दा धेरै थियो ।
उक्त प्रक्रिया म्याडफको सजायपछि पनि जारी रह्यो । पीडितहरूले म्याडफसँग संलग्न अन्य व्यक्तिमाथि पनि कारबाही मागे । उक्त ठगीमा म्याडफका भाइ पीटरलाई १० वर्षको जेल सजाय दिइयो । रूथ म्याडफले पीडितहरूसँग सम्झौता गरी अधिकांश सम्पत्ति जफत गरियो । एसईसीले लापरवाहीको मुद्दा खेप्नुप¥यो र पीडित प्रतिनिधिहरूसँग लाखौं डलरमा सम्झौता ग¥यो ।
ट्रस्टी इरविङ पिकार्डको नेतृत्वमा सन् २०२१ सम्ममा १४ अर्ब डलरभन्दा बढी फिर्ता गरिएको थियो । म्याडफ विक्टिम फन्डमार्फत पीडितहरूलाई रकम दिइयो । तर धेरै लगानीकर्ताहरू अझै पनि पूर्ण क्षतिपूर्ति पाउन सकेनन् । म्याडफका मुख्य बैंक जेपी मोर्गन चेसले शंकास्पद गतिविधिबारे रिपोर्ट नगरेको आरोपमा २.६ अर्ब डलर जरिवाना ति¥यो ।
म्याडफले आफ्नो अन्तिम समय नर्थ क्यारोलिनाको एफसीआई बुटनर जेलमा मृगौलाको रोगसँग संघर्ष गर्दै बिताए । सन् २०२० मा दया रिहाइ अस्वीकृत भएपछि, १४ अप्रिल २०२१ मा ८२ वर्षको उमेरमा उनको मृत्यु भयो । उनको मृत्युले केवल एउटा अध्याय समाप्त ग¥यो, तर उनको ठगीका असरहरू अझै बाँकी छन् । म्याडफको काण्डपछि धेरै सुधार गरियो, एसईसीको निगरानी कडा बनाइयो र लगानीकर्ताको ‘ड्यु डिलिजेन्स’ बढाइयो । यद्यपि, प्रणालीको कमजोरीबारे बहस अझै जारी छ।
प्रतिक्रिया दिनुहोस्