काठमाडौं । हाल कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको विद्युत प्राधिकरणले आगामी ५ वर्षको गर्ने कामको आन्तरिक योजना तयार पारेको छ । त्यो योजना प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मंगलबार पत्रकार सम्मेलन गरेर नै श्वेतपत्र मार्फत सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यो पुरा हुन भने पाएन । उनले अर्को व्यवस्था नभएसम्म स्वेतपत्र नल्याउने भएका छन् ।
उनले तयार पारेको श्वेतपत्रमा आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड छ । तर आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि विगत १२ वर्षको नोक्सानी समायोजन र मूल्यह्रासको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको छ ।
प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म भएको ठेक्का पट्टाअन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको रकम ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । जुन भुक्तानी दिन नसकेको प्राधिकरणले स्वीकारेको छ । सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको व्याज २९ अर्ब ५ करोड र टनकपुर विद्युतबापत ३ अर्ब गरी कुल ३२ अर्ब ५ करोड रुपैयाँ दायित्व बाँकी छ ।
यी दायित्व पुरा गर्नका लागि प्राधिकरणले विभिन्न योजना बनाएको छ । प्राधिकरणको दिगो र मजबूत आर्थिक सुधारमार्फत ऊर्जा सुरक्षाको अवस्थालाई सुदृढ गर्दै विश्वसनीय विद्युत उपलब्ध गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको जनाएको छ । विश्वसनिय विद्युतको लागि उर्जा सुरक्षाको बन्दोबस्ती र विद्युतीय संजालको सुदृढीकरण गर्नुपर्ने छ । यसको लागि आगामी ५ वर्षभित्र बृहत लगानी आवश्यक रहेको शाक्यले नलाएको श्वेतपत्रमा उल्लेख छ । ऊर्जा सुरक्षाको लागि निकट भविष्यमानै ब्यार्टी इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) र पम्प्ड स्टोरेज प्लान्ट को निर्माण कार्य अगाडि बढाइने उल्लेख छ ।
विश्वसनीय विद्युत आपूर्तिका लागि वितरण फिडरहरुमा अटो रिक्लोजर र स्मार्ट लोड ब्रेक स्वीच जडान कार्य आगामी वर्षबाट शुरु गर्ने योजना रहेको छ । यसबाट वितरण लाइनमा कुनै एक ठाउँमा अवरोध आउँदा अरु भागमा विद्युत सुचारु राख्ने व्यवस्था हुनेछ । साथै मुख्य शहरहरुमा १०० केभीए देखि माथिका वितरण ट्रान्सफर्मरहरुमा स्मार्ट मिटर जडान गरिने जनाएको छ । यसबाट ग्राहकमा विद्युत अवरोध हुनासाथ स्थान र प्रकृती पत्ता लगाउन सकिने र शिघ्र समाधान गर्न सकिने भएबाट विद्युतको विश्वसनीयता बढ्ने प्राधिकरणले जनाएको छ ।
https://laganinews.com/2025/04/29/61521/
साथै स्वीचाटारमा निर्माण भएको डिस्ट्रिब्यूसन कन्ट्रोल सेन्टर (डीसीसी) मार्फत काठमाडौं उपत्यकाको बितरण लाईनको चौबिसै घण्टा नियन्त्रण तथा अनुगमन गरिने योजना रहेको छ । प्राधिकरण तथा दातृ निकायहरू समेतको सहयोगमा स्युचाटारमा निर्माण भएको आगामी २ वर्ष भित्र सम्पूर्ण जिल्लाहरुलाई विद्युतीकरण उल्लेख छ । प्राधिकरण आफै वा सहायक कम्पनीमार्फत अप्पर अरुण (१०६३ मेगावाट), दुधकोशी (६७० मेगावाट) र सुनकोशी–३ (६८३ मेगावाट) जलाशयुक्त तथा जावा तिला (७०.३७ मेगावाट) अर्ध जलाशययुक्त आयोजना लगायतका अन्य जलविद्युत आयोजनाहरुको निर्माण गर्ने प्राधिकरणको योजना छ ।
राष्ट्रिय ग्रिड प्रणाली तथा अन्तर्राष्ट्रिय विद्युत व्यापारलाई थप मजबुत बनाउन न्यू बुटवल–लमही, लिंगला–दुधकोशी–ढल्केबर, अरुण इनरुवा ४०० केभी प्रसारण लाईन तथा इनरुवा–न्यू पूर्णिया, लम्की (दोधरा) बरेली ४०० केभी र चमेलिया–जौलजीवी तथा चिलिमे हब–केरुङ २२० केभी अन्तरदेशीय प्रसारण लाईनहरु लगायत अन्य भोल्टेज स्तरका प्रसारण लाईनहरूको निर्माण कार्य अगाडी बढाउने प्राधिकरणको तयारी छ ।
उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तारका लागि आगामी पाँच वर्षमा निर्माणाधिन आयोजना सहित करिब ६ खर्बको बजेट आवश्यक हुने प्रक्षेपण गरिएको छ । जसमा करिब ४ खर्ब वैदेशिक र करिब २ खर्ब आन्तरिक श्रोतबाट जुटाइने लक्ष्य लिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्