Skip to content

ड्राइभरबिनाको ट्रक व्यावसायिक रुपमा सञ्चालनमा

एजेन्सी । स्वचालित ट्रक सञ्चालन गर्ने कम्पनी अरोराले अमेरिकाको टेक्सासको ड्यालस र ह्युस्टनबीच नियमित लामो दूरीको ड्राइभरबिनाको सेवा सुरु गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक रूपमा जानकारी दिँदै अरोरा ड्राइभर नामक प्रविधिबाट बिना चालक ट्रक व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।
Hyundai
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक क्रिस उर्मसनले भने, “हामीले सुरक्षित, छिटो र व्यापक रूपमा ड्राइभरबिनाको प्रविधि लागू गर्ने उद्देश्यले अरोरा स्थापना गरेका थियौं । आज हामी सार्वजनिक सडकमा व्यावसायिक रूपमा सफलतापूर्वक ड्राइभरबिनाको ट्रक सेवा सञ्चालन गर्ने पहिलो कम्पनी भएका छौं ।”
अहिलेका लागि अरोराले एक वटा ड्राइभरबिनाको ट्रक सञ्चालनमा ल्याएको छ र सन् २०२५ सकिँदासम्म थप ट्रकहरू सञ्चालनमा ल्याउने योजना बनाएको छ । अरोराले उबर फ्रेट र हिर्शबाख मोटर लाइन्ससँग साझेदारी गर्दै सेवा सुरु गरेको हो, जसले समय र तापमान संवेदनशील सामान ढुवानी गर्छ ।
चार वर्षको परीक्षण अवधिमा अरोराको प्रविधिबाट १०,००० भन्दा बढी ग्राहकका सामानहरू ढुवानी गरिएका छन् । बिहीबारदेखि भने बिना चालकका ट्रकहरूले १,२०० माइलभन्दा बढी दूरी पार गरिसकेका छन् ।
ट्रकहरूमा शक्तिशाली कम्प्युटर र सेन्सरहरू जडान गरिएका छन् जसले चार वटा फुटबल मैदानको लम्बाइसम्म देख्न सक्छन् । सुरुमा परीक्षणका क्रममा सुरक्षा चालक राखिएको भए पनि अब कम्पनीले चालकविनै व्यावसायिक सेवा सुरु गरेको हो ।
हालैका वर्षहरूमा टेस्ला, जीएमलगायत कम्पनीहरूले स्वचालित प्रविधिमा अर्बौं डलर लगानी गरिरहेका छन् । टेक्सास र क्यालिफोर्निया जस्ता राज्यहरू स्वचालित प्रविधिको परीक्षणका लागि प्रमुख स्थल बनेका छन् ।
तर, उपभोक्ता र यातायात अधिकारीहरूले भने स्वचालित सवारीसाधनको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । अरोराले यसै वर्ष सार्वजनिक गरेको सुरक्षा प्रतिवेदनमा प्रविधिको कार्यप्रणालीबारे विस्तृत विवरण दिएको छ ।
स्वचालित प्रविधिको विरोधमा श्रमिक यूनियनहरू पनि उत्रिएका छन् । उनीहरूले रोजगारी गुम्ने डर र सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै आएका छन् । यस वर्षको सुरुमा अमेरिकी फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेसनले अरोरा र वेमोको एउटा याचिका अस्वीकृत गरेको थियो। ती कम्पनीहरूले परम्परागत चेतावनी संकेतको सट्टा ट्रकको क्याबमा बत्ती राख्न अनुमति माग गरेका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्