काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाल व्यवस्थापक संघले आज काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरु (एसएमइज) को योगदान ठूलो रहेपनि ती उद्योगहरु प्रवर्द्धन हुन नसकेको बताए ।
“नेपालको अर्थतन्त्रमा एएमइजको योगदान ठूलो छ । तर योगदान अनुरुप प्रोत्साहन छैन । यसले गर्दा उत्पादन, उत्पाकत्व र रोजगारीमा समेत असर पारेको छ । ती उद्योगहरुको प्रर्वद्धनका लागि सहज ऋण प्राप्ति, लिएको ऋणको पुनः नविरकण वा पुर्नतालिकिकरण आवश्यकछ । नयाँ बजेटले यी विषयहरु सम्बोधन हुने छन् भन्ने हाम्रो अपेक्षा छ ” श्रेष्ठले भने ।
साथै उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।
देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भएपनि तदनुरुप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उनले भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक कनेक्टिभिटी गराउन सरकारको ध्यानाकर्षण गराए ।
यस्तै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा ४० प्रतिशत बढि अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताए ।
यस्तै उनले सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन सुझाव दिए । देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमा औद्योगिक विकास र अवसर सिर्जना गर्न सकेमात्र युवा पलायन रोक्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्