एजेन्सी । भारतको जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव लगातार बढिरहेको छ । त्यसपछि पछिल्लो पटक भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी) ले पाकिस्तानसँगका सबै प्रकारका आयातमा पूर्ण रूपमा रोक लगाएको छ । त्यस्तै, डायरेक्टरेट जनरल अफ शिपिङले पाकिस्तानका जहाजहरूलाई भारतका बन्दरगाहहरूमा प्रवेशको अनुमति नदिने समेत घोषणा गरेको छ ।
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध धेरै कदम चालेका छन्, जसमा भारतको तर्फबाट सिंधु जल सन्धि निलम्बनमा राखिएको पनि समावेश छ । यसपछि दुवै देशले एकअर्काका लागि एयरस्पेस (हवाई क्षेत्र) पनि बन्द गरेका छन् ।
डीजीएफटीले पाकिस्तानबाट सबै प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष आयातमा तुरुन्त प्रभावले अर्को आदेश नआएसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।
शनिबार डायरेक्टरेट जनरल अफ शिपिङले भनेको छ, “मर्चेन्ट शिपिङ एक्ट १९५८ को धारा ४११ को प्रयोग गर्दै यो आदेश जारी गरिँदैछ । पाकिस्तानको झण्डा लगाइएका जहाजहरूलाई कुनै पनि भारतीय बन्दरगाहमा जान दिइने छैन । भारतीय झण्डा लगाएका जहाजहरू पाकिस्तानको कुनै पनि बन्दरगाहमा जाने छैनन् ।”
२२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको चरमपन्थी हमलामा २६ जनाको मृत्यु भएको थियो र धेरैजना घाइते भएका थिए ।
व्यापारमा लगातार गिरावट
व्यापारको हिसाबले भारत र पाकिस्तान ऐतिहासिक रूपमा धेरै नजिक कहिल्यै पनि रहेनन् । विशेष गरी समुद्रमार्ग हुँदै हुने व्यापार सीमित र प्रतीकात्मक नै रहँदै आएको छ । दुवै देश अरब सागरमार्फत समुद्री व्यापार गर्छन् । तर सुरक्षा कारणहरू र कूटनीतिक तनावका कारण व्यापारी जहाजहरू प्रायः एकअर्काको बन्दरगाहबाट टाढै रहँदै आएका छन् ।
भारत सरकारको वाणिज्य मन्त्रालयका अनुसार अप्रिल २०२४ देखि जनवरी २०२५ सम्म पाकिस्तानबाट भारतले ४ लाख २० हजार डलरको आयात गरेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा, अर्थात अप्रिल २०२३ देखि जनवरी २०२४ सम्म भारतले पाकिस्तानबाट करिब २८ लाख ६० हजार डलरको आयात गरेको थियो ।
निर्यातको कुरा गर्दा, अप्रिल २०२४ देखि जनवरी २०२५ सम्म पाकिस्तानमा भारतको निर्यात घटेर ४४७.६५ मिलियन डलरमा झरेको छ । जबकि अप्रिल २०२३ देखि जनवरी २०२४ सम्म भारत र पाकिस्तानबीचको निर्यात १.१ अर्ब डलर थियो ।
कुन–कुन वस्तु आयात–निर्यात गरिन्छ?
भारत पाकिस्तानबाट मुख्य रूपमा आयात गर्ने वस्तुहरूमा तामा, तामा जन्य वस्तुहरू, कपास, फलफूल र गेडागुडी, नून, अग्र्यानिक केमिकल, ऊन आदि समावेश छन् । त्यस्तै भारत पाकिस्तानमा मुख्य रूपमा निर्यात गर्ने वस्तुहरूमा कपास, अग्र्यानिक केमिकल, कफी, चिया, मसला, प्लास्टिक जन्य वस्तु, डेरी उत्पादनहरू, औषधि, तेलहन, पशु चारा आदि छन् ।
भारतले अघिसम्म के–के कदम चालेको छ ?
पहलगाम आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध धेरै कडा कदम चालेको छ । भारतले पाकिस्तानसँग १९६० मा भएको सिंधु जल सन्धिलाई तुरुन्त प्रभावले निलम्बनमा राख्ने निर्णय गरेको छ । भारतले अटारी इन्टिग्रेटेड चेक पोस्टलाई पनि बन्द गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट स्किम (एसभीईएस) अन्तर्गत जारी भिसाको आधारमा भारत भ्रमण गर्न पाउने छैनन् । भारतले पाकिस्तानबाट आउने विमानहरूका लागि आफ्नो एयरस्पेस बन्द गरिसकेको छ ।
पाकिस्तानले के कदम चालेको छ ?
पाकिस्तानले पनि भारततर्फबाट चालेका कदमहरूको जवाफ दिएको छ । पाकिस्तानले भारतको स्वामित्वमा रहेका वा भारतबाट सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । साथै वाघा नाका पनि बन्द गरिएको छ । पाकिस्तानले सिख तीर्थयात्रीहरूलाई छोडेर सार्क भिसा छुट कार्यक्रम अन्तर्गत सबै भारतीय नागरिकलाई दिइएका सबै भिसा निलम्बन गरिसकेको छ र भनिएको छ कि ती रद्द मानिने छन् ।
प्रतिक्रिया दिनुहोस्