काठमाडौं । बैंकहरूमा निष्क्रिय कर्जा बढ्दै गएको छ । नाफामा उल्लेख्य सुधार हुन सकेको छैन । कर्जाको मागमा कमी आएको छ । आरओई घट्दो क्रममा छ ।
बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दा दर्जन बढी उस्तै खालका आन्तरिक र बाह्य चुनौती उजागर गरेका छन् । जसले निष्क्रिय कर्जा बढेको, नाफामा उल्लेख्य सुधार नभएको, कर्जा प्रवाह हुन नसकेको, आरओई घटेको हो ।
बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय अवस्थामा अधिकांश बैंकले बैंकिङ क्षेत्रमा अधिक तरलता, सञ्चालन खर्च व्यवस्थापन गर्न नसक्नु, योग्य र अनुभवी जनशक्तिको अभाव बढ्दै जानु, ऋण असुलीमा चुनौती बढ्दै जानु, निष्क्रिय कर्जा बढ्नु, कर्जाको मागमा कमी आउनु, ऐतिहासिक रूपमा डलरको मूल्यमा आएको वृद्धि, सरकारले पुँजीगत गर्न नसक्नुलगायत करिब एकै खाले समस्या छन् ।
यति मात्रै होइन बैंकहरूले आन्तरिक मात्रै नभएर बाह्य पनि विभिन्न चुनौती देखेका छन् । बैंकहरूले देखेका बाह्य कारण पनि औसतमा एकै खाले नै छन् । बाह्य चुनौतीहरूमा रूस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, अमेरिकाद्वारा गरिएको उच्च महसुल तथा विश्वव्यापी आर्थिक अस्थिरताले ब्याजदर, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने निरन्तर नियामक परिवर्तन, साइबर अपराधका घटनाहरू बढ्दो क्रममा छन् ।
यस्ता चुनौतीले गर्दा बैंकमा लगानी गर्नेले उपयुक्त प्रतिफल नपाउनु, राम्रो नाफा कमाउन सकेका छैनन् । बैंकहरूले सोचेअनुसार प्रगति गर्न नसक्नुमा विभिन्न आन्तरिक तथा बाह्य कारण रहेको जनाएका छन् । बैंकहरूले देखेका चुनौतीको सामना गर्न विभिन्न रणनीतिसमेत बनाएका छन् ।
अधिकांश बैंकले देखेका आन्तरिक तथा बाह्य चुनौती एकै खालका छन् । आन्तरिक कारणको सामना गर्न सक्ने भए पनि बाह्य चुनौती बैंकरहरूको सामर्थभन्दा बाहिर छ ।
कुनै बैंकबाट राम्रो कर्मचारीले छोड्यो भने एकै पटक त्यसको असर नदेखिए पनि विस्तारै देखिँदै जाने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन् । कुनै शाखाको म्यानेजरले बैंक छोड्यो भने पनि त्यसको असर नाफामा देखिने उनको बुझाइ छ ।
कर्जाको माग घट्दा, कर्जा बढी गएर प्रोभिजनिङ बढाउनु पर्यो भने त्यसको प्रभाव बैंकको वित्तीय स्थितिमा देखिने उनको भनाइ छ । बैंकले प्रकाशित गरेको वित्तीय अवस्थालाई बैंकले देखेका चुनौतीसँग दाँजेर हेर्न सकिने उनको तर्क छ । बाह्य चुनौतीले भने तत्काल ठूलो चुनौती नहुने भए पनि केही न केही असर बाँकी रहने उनको बुझाइ छ ।
बैंकर्स संघका पूर्वअध्यक्ष सुनिल केसीले बैंकहरूले देखेका बाह्य तथा आन्तरिक चुनौतीका कारण विभिन्न समस्या देखिने गरेको बताए । यस्ता चूनौतीका कारण बैंकको निष्क्रिय कर्जा बढ्न जाने, बैंकको निक्षेप घट्ने, बैंकको नाफा घट्दै जाने समस्या देखिने केसीको भनाइ छ । बैंकको आरओई पनि अहिले औसतमा ७ प्रतिशतको हाराहारीमा रहेको छ ।
यो पनि बैंकले देखेको विभिन्न खाले चुनौती ल्याएको परिणाम भएको उनको बुझाइ छ । अहिले बैंकले लसमा डिपोजिट लिनुपर्दा पनि नाफा घटेको उनको बुझाइ छ । अहिले बैंकमा लगानीको माग पनि न्यून हुने गरेको छ । ‘अहिले रिक्स लिएर लगानी गर्ने सम्भावना छैन’, उनले भने, ‘अहिले बैंकको बिजनेस कर्जा प्रवाह खस्केको छ ।’ बैंकहरूले देखेका चुनौतीले यस्तो अवस्था सिर्जना गरेको उनको बुझाई छ।
बैंकहरूले अहिले देखेको चुनौतीले नाफामा असर पर्ने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल बनाउँछन् । अहिले बैंकहरूमा निष्क्रिय कर्जाको चुनौती रहेको र त्यसको असर नाफामा पर्ने उनको भनाइ छ । बैंहरूले अहिले देखेका फरक–फरक खालका चुनौतीले नाफाका साथै सेवाग्राहीलाई दिने गुणस्तरीय सेवा, कर्जा प्रवाहलगायतमा असर पर्ने उनको भनाइ छ। रुस युक्रेनको युद्धले इन्धनको मूल्य बढ्ने र त्यसले सञ्चालन खर्च बढ्ने समस्या हुन्छ । यस्ता विषयले सिधै नाफामा असर नपुगे पनि अप्रत्यक्ष रूपमा असर पर्ने उनको बुझाइ छ । ‘बैंकहरूले देखेका आन्तरिक चुनौतीको सामना गर्न सक्ने खालका हुन्छन्’ उनले भने, ‘बाह्य चुनौती हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ ।’ यस्ता चुनौतीको सामना गरिरहेका बैंकहरूले चुनौतीबाट पार पाउन बैंकहरूले आफ्नै खाले रणनीतिसमेत बनाएका छन् । बैंकहरूले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ सेवाबाट बञ्चित व्यक्ति तथा संघसंस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउने, बैंकका अन्य सेवाहरूको आक्रामक रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने रणनीति बनाएका छन् ।
आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, विभिन्न व्यावसायिक संघ–संस्थालगायत व्यक्तिगत ग्राहकहरूसँगको सम्बन्ध सुमधुर बनाउने रणनीति बनाएका छन् ।
यस्तै छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरू उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनका आधारभूत पक्षहरूलाई मजबुत बनाउने, आन्तरिक कार्य प्रणाली स्वचालित बनाउने, निष्क्रिय कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरूलगायत गैरबैंकिङ सम्पत्तिको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति बनाएका छन् । यस्तै बलियो साइबर सुरक्षा व्यवस्था निर्माण गर्ने, सेवा गुणस्तर सुधार गर्न कर्मचारीलाई दिने तालिममा लगानी गर्ने, ग्राहकलाई वित्तीय साक्षरता दिने रणनीति छन् ।
नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि लिएको लचिलो नीतिले बैंकहरूको नाफा १.४० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा नाफामा थोरै सुधार आएको थियो ।
राष्ट्र बैंकले यो व्यवस्था गरेको थिएन भने चैत मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा १.४० प्रतिशतले बढेर ४१ अर्ब २५ करोड ११ लाख ३ हजार रुपैयाँ पुग्न कठिन थियो । अहिले बैंकहरूको लगानीमाथिको प्रतिफल (आरओई) मा पनि सुधार आउन सकेको छैन । बैंकको आरओई बढ्नुभन्दा पनि घटिरहेको छ । अहिले बैंकमा १०० रुपैयाँ लगानी गर्नेले ७ रुपैयाँ ७३ पैसा मात्रै हात पार्छन् ।
गत आवको चैत समान्तसम्म बैंकमा १०० रुपैयाँ लगानी गर्नेले ८ रुपैयाँ ३२ पैसा हात पार्ने गरेका थिए । यो अवधिमा बैंकहरूको आरओई औसतमा ०.५९ प्रतिशतले घटेको छ । यसले बैंकमा लगानी गर्नेहरूलाई निराश बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्