एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा गरिएको उच्च शुल्क अन्ततः घटाउने बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीको ‘मिट द प्रेस विथ क्रिस्टेन वेल्कर’ कार्यक्रममा शुक्रबार गरिएको अन्तर्वार्तामा उनले चीनको अर्थतन्त्र संकटमा परेको भन्दै दुवै पक्ष व्यापार वार्तामा तयार देखिन थालेको संकेत दिएका हुन् ।
“कुनै समय म चीनमाथिको शुल्क घटाउनेछु, किनभने त्यसबिना तपाईंहरूले उनीहरूसँग व्यापार गर्न सक्नुहुन्न,” ट्रम्पले भने, “चीन व्यापार गर्न चाहन्छ, उनीहरूको अर्थतन्त्र ढल्दैछ ।”
हाल अमेरिका र चीनबीचको शुल्क विवादले तीव्र रूप लिएको छ । अमेरिकाले चिनियाँ उत्पादनहरूमा १४५ प्रतिशतसम्म शुल्क लगाएको छ भने चीनले अमेरिकी वस्तुहरूमा १२५ प्रतिशतसम्म कर लगाएको छ । तर पछिल्ला दुई हप्तायता दुवै देशले केही नरम भाष्य प्रयोग गर्न थालेका छन् ।
ट्रम्पले चीनमा कारखाना बन्द हुँदै गएको र बेरोजगारी दर अत्यधिक बढेको उदाहरण दिँदै शुल्कको प्रभाव देखिएको दाबी गरे । तर उनी आफैंले पहिलोपटक शुल्क घटाउने पक्षमा नभएको पनि बताए । “वार्ताका लागि म किन शुल्क हटाउने”, उनले प्रतिप्रश्न गरे ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका वार्ताको प्रस्तावमा चीनले मूल्यांकन गरिरहेको र वार्ता अघि ट्रम्पले लगाएको ‘एकपक्षीय शुल्क’ हटाउनुपर्ने बताएका थिए ।
चीनको उत्पादनमा आधारित निर्यात अर्थतन्त्रमा शुल्कको प्रतिकूल असर देखिन थालेको छ । आधिकारिक तथ्याङ्कअनुसार, गत अप्रिलमा चिनियाँ कारखानाहरूको गतिविधि पछिल्लो १६ महिनायताकै न्यून स्तरमा झरेको छ भने नयाँ निर्यात अर्डरहरू सन् २०२२ को महामारीकालीन स्थितिपछि पहिलो पटक घटेका छन् ।
ट्रम्पले राष्ट्रपति रहँदाको अवधिमा चीनसँग निष्पक्ष व्यापार सम्झौता खोजेको दाबी गरे । उनले चीनले लामो समयदेखि अमेरिका माथि व्यापारमा अनुचित लाभ लिइरहेको आरोप पनि दोहोर्याए ।
यसैबीच, उनले चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिका स्थित लोकप्रिय भिडियो एप टिकटकको स्वामित्व बेच्ने समयसीमा फेरि थप गर्ने संकेत दिएका छन् । उक्त एपमा १७ करोड अमेरिकी प्रयोगकर्ता छन् । ट्रम्पले टिकटकमार्फत २०२४ को निर्वाचनमा युवा मतदाताहरूलाई आकर्षित गर्न सहयोग पुगेको भन्दै त्यसप्रति आफूलाई ‘स्वीट स्पट’ रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्