काठमाडौं । स्थानीय सेवा सञ्चालन व्यवस्थापन गर्न उत्तरदायी करदाताको अपेक्षा गरेको बताउँदै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने बताएका छन् । खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्दै उनले, जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न स्थानीय करप्रति जिम्मेवार हुन आग्रह गरेका हुन् ।
प्रचलित व्यवस्थाले तोके बमोजिम कर तिर्नु नागरिकको पहिलो दायित्व भएको बताउँदै उहाँले समयमा कर तिर्ने दायित्व बोध गर्न आग्रह गरे । कार्यक्रममा वाणिज्य विभागका निर्देशक जगदिश अर्यालले, व्यापारिक बस्तु र सेवाको गुणस्तरका बारे प्रस्तुतिकरण गर्दै सामानको मूल्य, खरिद विल र विक्री बिल, सामानको गुणस्तर जस्ता विषय व्यवसायीका अनिवार्य शर्त रहेको उल्लेख गरे । यस्तै महानगरपालिकाको वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, महानगरपालिकालाई बुझाउनु पर्ने बिज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका सिद्धान्त र व्यवहारका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
स्थानीय तहलाई बुझाएको कर स्थानीय विकासमा खर्च भएको तत्काल अनुभूत गर्न सकिने अधिकारीको भनाइ थियो । छलफलमा व्यवसायीहरुले रेष्टुरेन्टहरुले प्रदान गर्ने सेवाअनुसारको मूल्य सूची हुने बताउँदै कहिलेकाही सेवा नहेरी मूल्य मात्र हेरिदिँदा समस्या सिर्जना हुने गरेको अनुभव सुनाएका थिए । थोक मूल्य र खुद्रा मूल्यको कुरा गर्दै व्यवसायीहरुले सबै कारोबारहरुले खरिद बिल र बिक्री बिलको प्रयोगलाई अनिवार्य गराउने वातावरण भए मात्र पूर्ण प्रयोग नगरेका कारण चाहेर पनि व्यवस्थित गर्न नसकिएको धारणा राखे । वडा नम्बर २२ क्षेत्र महानगरपालिकाभित्रको प्रमुख व्यवसायिक स्थानमध्येको एउटा हो । नयाँ सडक, शुक्रपथ, खिचापोखरी, सुन्धारालगायत स्थान व्यापारिक क्रियाकलापकै कारण परिचित छन् । वडा सचिव ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र ९ हजार १५० व्यवसाय दर्ता छन् । वडामा ३ हजार १३ जना सम्पत्ति करदाता छन् ।






प्रतिक्रिया दिनुहोस्