Skip to content

पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान

nabil bank

गण्डकी । लमजुङको जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७ ताङ्लीचोकमा निर्मित भूगोलविद् डा हर्क गुरुङ स्मृति पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । डा हर्क गुरुङ प्रतिष्ठानले उनको समाधीस्थलसँगै अर्धकदको सालिक निर्माण गरी उक्त स्थानलाई भूगोल एवम् इतिहासका अध्येता र पर्यटकका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा विकास गर्न लागेको हो ।

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका गुरुङको शवलाई आफ्नै जन्मस्थलमा ल्याएर संस्कार गरिएको र अन्तिम संस्कार गरिएकै स्थानमा अर्धकदको सालिक निर्माण गरी हर्क गुरुङ स्मृति उद्यान निर्माण गरिएको हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष एवम् मस्र्याङदी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए ।

आफ्नो जीवनकालमा नै स्व गुरुङले आफ्नो समाधि जन्मेकै गाउँठाउँमा होस् भन्ने चाहना व्यक्त गरे अनुसार नै उनको गाउँमा नै ल्याएर अन्तिम संस्कार गरिएको उनले बताए । हर्क गुरुङको योगदानलाई जीवन्त राख्नका लागि स्मृति पार्क निर्माण गरिएको बताउँदै अध्यक्ष गुरुङले पछिल्ला समयमा विभिन्न अनुसन्धाता एवम् शैक्षिक संस्थाबाट यस पार्कको भ्रमणका लागि आउने गरेको जानकारी दिए ।

उनका अनुुसार प्रतिष्ठानले आर्थिक वर्ष २०७४/७५ बाट सार्क निर्माण कार्यलाई अघि बढाएको हो । उद्यानको निर्माणका लागि मस्र्याङ्दी गाउँपालिकाले गुरुयोजना तयार गरिदिएको र त्यही अनुरुप निर्माण कार्य अघि बढेको उनले जानकारी दिए । गुरुयोजना अनुसारका निर्माण सम्पन्न गर्न रु छ करोड ३१ लाख लाग्ने अनुमान गरिएको छ । उद्यान परिसरको साढे दुई रोपनी जग्गा प्रतिष्ठानको नाममा रहेको र थप साढे चार रोपनी जग्गा प्रतिष्ठानलाई प्रयोगका लागि परिवारजनबाट मञ्जुरीनामा प्राप्त भएको बताउँदै अध्यक्ष गुरुङले त्यस बाहेक करिब साढे तीन रोपनी किन्ने तयारी गरिएको जानकारी दिए ।

गुरुयोजना अनुसार अपेक्षित सबै किसिमका पूर्वाधार निर्माणका लागि करिब १५ रोपनी जग्गा आवश्यक रहने उनको भनाइ छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माण गदै यस ठाउँलाई भूगोल तथा इतिहासका अध्येताका लागि अध्ययन अनुसन्धानको थलोका साथै स्वदेशी एवम् विदेशी पर्यटकलाई पुग्नैपर्ने गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले जानकारी दिए ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–७ तरांँचे ताङ्लीचोकमा जन्मिएका डा हर्क बहुमुखी प्रतिभाका धनी थिए । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनी चढेको हेलिकप्टर विसं २०६३ असोज ७ गते (२००६, सेप्टेम्बर २३) को दिन दुर्घटना हुँदा मृत्यु भएको थियो । उनीसहित २४ जनाले सो दुर्घटनामा एकैै पटक ज्यान गुमाएका थिए ।

भूगोलविद्, योजनाविद्, मानवशास्त्री, चित्रकार, राजनीतिज्ञ, संरक्षणविद् लगायतका आफ्नो विभिन्न चिनारी बनाउन सफल डा हर्क गुरुङले लेखेको पुस्तक ‘भिन्नेट्स अफ नेपाल’ को नेपाली अनुवाद ’मैले देखेको नेपाल’ चर्कित पुस्तकमध्ये एक मानिन्छ । उनी पर्यटनमन्त्रीसमेत भएका थिए । नेपाली पर्वतको आख्यानकार डा गुरुङले खुम्बु क्षेत्रको पर्यटनको गुरुयोजना समेत बनाएका थिए । नेपाल पर्वतारोहण सङ्घलाई व्यावसायिक संस्थाका रुपमा विकास गराउन पनि उनको ठूलो योगदान छ । पोखरामा बनेको अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय उनकै पहलमा स्थापना भएको थियो ।

स्व गुरुङका योगदानलाई हर्क गुरुङ स्मृति पार्कका माध्यमबाट जीवन्त राख्नका लागि गाउँपालिका निरन्तर लागिरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । मस्र्याङ्दी गाउँपालिकासहित समग्र लमजुङ जिल्लामा धेरै पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले सबैलाई समेटेर पर्यटकीय विकासमा अघि बढ्न खोजिएको उनले जानकारी दिए । ‘यो क्षेत्र हर्क गुरुङसहित भक्ति थापा, माधव घिमिरे जस्ता व्यक्तित्वको जन्मस्थलो हो’, उनले भने, ‘उहाँहरूको योगदानलाई जीवन्त राख्दै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने हाम्रो योजना छ ।’ पछिल्ला समयमा विभिन्न शैक्षिक सङ्घसंस्थाबाट पार्कको भ्रमणका लागि आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । । हालै कस्केली अधिकृत समाजले यस क्षेत्रमा प्रवद्र्धनात्मक भ्रमण गरेको छ ।

समाजको नेतृत्वमा ६० सदस्यीय टोलीले हर्क गुरुङ स्मृति उद्यान लगायत यस क्षेत्रका विभिन्न स्थानको प्रवद्र्धनात्मक भ्रमण गरेको अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार गुरुङको योगदानलाई जीवन्त राख्नका लागि बनाइएको उद्यानलाई व्यवस्थित बनाउँदै यसलाई महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । नेपालको पहिलो भूगोलविद्, पर्यटनविद्का साथै योजनाकार स्व हर्क गुरुङको योगदानलाई पुस्तौंँसम्म बचाउनका लागि निर्मित हर्क गुरुङ स्मृति पार्क महत्वपूर्ण बन्ने समाजका सचिव महेश पौडेलले बताए । यस उद्यानलाई अनुसन्धाताका साथै पर्यटकका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा विकास गर्नेतर्फ प्रतिष्ठान लाग्नुपर्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime