एजेन्सी । बिहीबार, बिल गेट्सले सार्वजनिक रूपमा आफ्नो बाँकी सम्पत्तिको लगभग सम्पूर्ण हिस्सा दान दिने दोहोर्याएका छन् र सन् २०४५ को अन्त्यसम्ममा आफ्नी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग सह–स्थापना गरेको गेट्स फाउन्डेशन बन्द गर्नेछन् ।
माइक्रोसफ्टको शेयर मूल्य र लाभांशमा आएको उकालोले गर्दा, बिल र मेलिन्डा गेट्सले सन् २००० मा स्थापना भएदेखि हालसम्म गेट्स फाउन्डेशनमा संयुक्त रूपमा ६०.२ अर्ब डलरभन्दा बढी लगानी गरिसकेका छन् । जसले उनीहरूलाई अमेरिकाका दोस्रो सबैभन्दा ठूलो परोपकारीको रूपमा स्थापित गरेको छ । उनीहरूको उदारतापछि पनि, उनीहरू अझै संसारका क्रमशः १३औं (बिल) र ५६औं (मेलिन्डा) धनी व्यक्तिको सूचीमा छन्, जसको अनुमानित सम्पत्ति ११३ अर्ब र ३०.४ अर्ब डलर रहेको छ ।
तर के हुन्थ्यो यदि बिल र मेलिन्डाले परोपकारको बाटो समातेका नै थिएनन् र माइक्रोसफ्टको एक कित्ता सेयर पनि बेचिएका थिएनन् भने ? फोब्र्सको अनुमानअनुसार उनीहरूको संयुक्त सम्पत्ति १.५ ट्रिलियन डलर पुग्थ्यो, र बिल संसारकै पहिलो ट्रिलियनियर हुन्थे, जसको सम्पत्ति १.२ ट्रिलियन हुन्थ्यो ।
सन् २०२१ मा डिभोर्स भएकोपश्चात पनि त्यो रकम एलन मस्कको सम्पत्तिको भन्दा तीन गुणा बढी हो (मस्कको अनुमानित सम्पत्तिः ३८८ अर्ब डलर , जुन डिसेम्बरमा ४६४ अर्ब डलर सम्म पुगेको थियो)। मेलिन्डाको सम्पत्ति पनि ३०० अर्ब हुने थियो, यदि उनले डिभोर्सको बेला दाबी गरेको अनुमानित हिस्सानुसार सम्पत्ति पाएको भए, जसले उनलाई बिल र मस्कपछिको तेस्रो धनी व्यक्ति बनाउँथ्यो ।
सन् १९८६ मा माइक्रोसफ्टलाई सार्वजनिक कम्पनी बनाउने बेलामा बिलसँग कम्पनीको ११.२ मिलियन सेयर थियो, जुन कम्पनीको ४९ प्रतिशत हिस्सा र २०० मिलियन मूल्य बराबरको थियो । यदि उनले चार दशकसम्म ती सेयर राखेका भए, सेयर विभाजनपछि उनी र मेलिन्डासँग हाल ३.२ अर्ब सेयर हुन्थ्यो, जुन माइक्रोसफ्टको ४३ प्रतिशत हिस्सासँग बराबर र १.४ ट्रिलियन मूल्यको हुन्थ्यो । पूर्व जोडीसँग लाभांशबाट कर कटौतीपश्चात थप १०० अर्ब डलर नगद पनि हुने थियो । यो मात्र नगद नै संसारका ३ हजारभन्दा बढी अर्बपतिहरूमध्ये १८ जनाबाहेक सबैको सम्पत्तिभन्दा बढी हुने थियो ।
तर वास्तवमा, बिलले माइक्रोसफ्टका सेयर राखेनन् । उनले क्रमशः बेच्दै र दान दिँदै आए ।अहिले उनका माइक्रोसफ्ट सेयरहरू ०.९ प्रतिशत हिस्सा मात्र बाँकी छन् । जसको मूल्य २८ अर्ब छ (उनी सम्पूर्ण सम्पत्तिको एक चौथाई मात्र)। बाँकी सम्पत्तिलाई उनले क्यास्केड इन्भेस्टमेन्ट्स फेमिली अफिसमार्फत विविध क्षेत्रमा लगानी गरेका छन् । उनका ठूला लगानीहरूमा रिपब्लिक सर्भिसेस (फोहोर व्यवस्थापन कम्पनी), डियर एण्ड कम्पनी (ट्र्याक्टर निर्माता) र फोर सिजन्स होटल्स सामेल छन् ।
मेलिन्डासँग अनुमानित ३८०,००० माइक्रोसफ्ट सेयर मात्र छन्, जसको मूल्य १७० मिलियन डलर छ (उनको सम्पत्तिको एक प्रतिशतभन्दा कम) । बिलले सन् २०२० मा बोर्डबाट राजीनामा दिएपछि न त बिल न मेलिन्डा माइक्रोसफ्टको एसईसी फाइलिङमा देखिन्छन् ।
यदि बिल र मेलिन्डाले सबै माइक्रोसफ्ट सेयर राखेका भए, संसारले धेरै राम्रो कार्यहरूबाट वञ्चित हुने थियो । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन (जसलाई मेलिन्डाले २०२४ को जुनमा सह–अध्यक्ष पदबाट राजीनामा दिएपछि गेट्स फाउन्डेशन मात्र बनाइएको हो) मार्फत उनीहरूले हालसम्म स्वास्थ्य र गरिबी न्यूनीकरणमा केन्द्रित परोपकारी संस्थाहरुलाई अनुमानित ४७.७ अर्ब डलर सहयोग गरिसकेका छन् ।
यो रकम वारेन बफेट बाहेक अरु कसैले पनि दिएको छैन, जसले हालसम्म अनुमानित ६२ अर्ब डलर दान गरिसकेका छन् । बफेटलाई लामो समयसम्म आफ्ना सम्पत्तिको ठूलो हिस्सा गेट्स फाउन्डेशनलाई दिने विश्वास गरिएको थियो । तर उनले नोभेम्बर २०२३ मा बर्कशायर हैथवेका सेयरहोल्डरहरूलाई लेखेको पत्रमा भनेका थिए कि उनको सम्पत्ति अब उनका तीन छोराछोरीद्वारा सञ्चालित च्यारिटेबल ट्रस्टलाई दिनेछन् । त्यसपछि उनले गत जुनमा वाल स्ट्रीट जर्नललाई भनेका थिए, “मेरो मृत्युपछि गेट्स फाउन्डेशनलाई कुनै पैसा दिइने छैन ।”
मेलिन्डाले पनि आफ्नो परोपकारी योजना पुनः बनाएकी छिन् । उनले सन् २०२२ मा पिभोटल फिलान्थ्रपिज नामक नयाँ फाउन्डेशनमा ६७४ मिलियन लगानी गरिन् । त्यसपछि जुन २०२४ मा उनले महिलाहरू र बालिकाहरूको अधिकारका लागि तीन वर्षमा १ अर्ब डलर दान गर्ने घोषणा गरिन् । साथै, गेट्स फाउन्डेशनको सह–अध्यक्षबाट राजीनामा दिने निर्णयसँगै उनले थप १२.५ अर्ब डलर परोपकारका लागि पाउने घोषणा गरिन् ।
बिल र मेलिन्डा दुवै अझै पनि ‘गिभिङ प्लेज’ पूरा गर्ने योजनामा छन्, जुन उनीहरूले वारेन बफेटसँग मिलेर सन् २०१० मा स्थापना गरेका थिए, जसको उद्देश्य अन्य धनी व्यक्तिहरूलाई मृत्यु हुनु अघि वा वसीयतनामामार्फत आफ्नो आधा सम्पत्ति दान गर्न प्रेरित गर्नु हो ।
बिलले आफ्नो गिभिङ प्लेज पत्रमा लेखेका छन्, “मेरो आमाबाबुले समय र स्रोतहरूको प्रयोगबाट मलाई उदारता के हो भन्ने देखाएका थिए । जब माइक्रोसफ्टबाट कमाएको सम्पत्तिबारे निर्णय गर्ने समय आयो, मैले उनीहरूको उदाहरण पछ्याउनु पर्छ भन्ने ठानेँ । मैले मेरो सम्पत्तिको ठूलो हिस्सा जतिसक्दो धेरै मानिसको सहयोगमा खर्च गर्ने निर्णय गरें ।”
मेलिन्डाले गिभिङ प्लेज पत्रमा थपेकी छिन्, “एउटा व्यक्तिको हातमा यति धेरै सम्पत्ति हुनुको बेतुक देख्छु, र यस्तो सम्पत्ति राख्नुको एउटै उत्तरदायित्वपूर्ण उपाय भनेको यो जतिसक्दो प्रभावकारी ढंगले दान गर्नु हो ।”
प्रतिक्रिया दिनुहोस्