Skip to content
Prabhu

चालु आवको ९ महिनासम्म अर्थतन्त्रका अधिकांश सूचकमा सुधार

काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिँदै गएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको विवरणअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरुमा सुधार देखिएको हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा अर्थतन्त्रका बाह्य सूचकहरु बलिया देखिएका छन् भने आन्तरिक सूचक पनि विस्तारै लगायमा आउँदै गएको देखिन्छ। चैत मसान्तसम्मको अवधिमा उच्च रेमिट्यान्स भित्रिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै विदेशी मुद्राको सञ्चिति पनि १४.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने रहेको छ । त्यस्तै बैंकिङ क्षेत्रको कर्जा वृद्धि, मूल्यवृद्धिमा कमी, घरजग्गामा लगानी वृद्धि भएको देखिन्छ । त्यस्तै चालु खाता र शोधनान्तर स्थिति पनि सकारात्मक देखिएको छ ।

करिब १२ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

विदेशी विनिमय सञ्चिति २४ खर्बमाथि

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियाो ।

निक्षेप र कर्जा दुवैमा वृद्धि

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ । जसको वृद्धि दर ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ७.२ प्रतिशतको वृद्धि भएको थियो । यस अवधिमा, बैंकहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको अंश ३५.८ प्रतिशत र मुद्दती खाताको अंश ५१.० प्रतिशत रहेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले वृद्धि भएको छ । जुन ७.१ प्रतिशतको वृद्धि हो ।

अघिल्लो वर्षको सोही अवधिमा कर्जा ४.६ प्रतिशतको वृद्धि भएको थियो । कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.६ प्रतिशत कर्जा प्रवाहित भएको छ । कर्जा प्रवाहको वर्गीकरणमा वाणिज्य बैंकहरूले ७.४ प्रतिशत, विकास बैंकहरूले ४.६ प्रतिशत र वित्त कम्पनीहरूले ६.४ प्रतिशत कर्जा प्रवाहमा वृद्धि गरेको देखिन्छ । कर्जामा ६५.२ प्रतिशत घरजग्गा धितोको आधारमा प्रवाहित गरिएको छ । कृषि र गैरकृषिजन्य वस्तुमा कर्जा प्रवाह १४.६ प्रतिशत रहेको छ ।

क्षेत्रगत रूपमा, औद्योगिक उत्पादन, निर्माण, थोक व्यापार, यातायात, र सेवायुक्त क्षेत्रतर्फ कर्जा प्रवाहमा क्रमशः ९.६ प्रतिशत, ११.४ प्रतिशत, ५.२ प्रतिशत, १०.२ प्रतिशत र ८.६ प्रतिशतको वृद्धि भएको छ । ट्रष्ट रिसिट कर्जा र रियल स्टेट कर्जामा पनि ६०.६ प्रतिशत र ४.९ प्रतिशतको वृद्धि देखिएको छ ।

मूल्यवृद्धि घट्दै

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ चैत महिनामा नेपालको मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.६१ प्रतिशत थियो । यस वर्षको चैत महिनामा मूल्यवृद्धिमा गिरावट आएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू र तेलको मूल्यमा ११.६३ प्रतिशत, फलफूलमा ९.०७ प्रतिशत, र दाल तथा गेडागुडीको मूल्यमा ६.५८ प्रतिशत वृद्धि भएको छ । तर, तरकारीको मूल्यमा भने ५.२४ प्रतिशत र माछा तथा मासुको मूल्यमा ०.८९ प्रतिशत घटेको छ । यद्यपि, गैरखाद्य तथा सेवा समूहका वस्तुहरूमा वृद्धि कायम छ, विशेषतः विविध वस्तु तथा सेवामा ८.६९ प्रतिशतको वृद्धि भएको छ।

प्रदेशगत रूपमा, २०८१ चैत महिनामा कोशी प्रदेशमा ४.९१ प्रतिशत मुद्रास्फीति र बागमती प्रदेशमा २.८० प्रतिशत मुद्रास्फीति रहेको छ । काठमाडौं उपत्यकामा मुद्रास्फीति २.९५ प्रतिशत रहेको छ भने, तराईमा ३.३१ प्रतिशत, पहाडमा ३.४६ प्रतिशत र हिमाल क्षेत्रको मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ ।

आन्तरिक कर्जा २.५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ९ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिकोदाबी ८.१ प्रतिशतले बढेको छ ।

चालु खाता र शोधनान्तर स्थिति बचतमा

नेपालको चालु खाता तथा शोधनान्तर स्थिति दुवै बचतमै देखिएको छ । आर्थिक स्थायित्वतर्फ सकारात्मक संकेत दिँदै चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो । अघिल्लो वर्ष चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा चालु खाता १ अर्ब ५५ करोड डलरले बचतमा रहेको देखिएको छ, जबकि अघिल्लो वर्ष यो बचत १ अर्ब ३५ करोड डलर थियो । यस अवधिमा पूँजीगत पक्षमा पनि सुधार देखिएको छ । खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७८ करोडको तुलनामा उल्लेख्य वृद्धि हो ।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढेर ८ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यो लगानी ६ अर्ब ४९ करोड रुपैयाँमा सीमित थियो । शोधनान्तर स्थिति भने केही घटेर पनि अझै बचतमै देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष यो ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा यो बचत अहिले २ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७५ करोड थियो ।

वैदेशिक व्यापार

चालु आर्थिक आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १८८ अर्ब २० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुस, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३०९ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई  ११२१ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३५ अर्ब ५५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १११ अर्ब २ करोड रूपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३३.५ प्रतिशत र ६५.३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात १.२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.८ प्रतिशत, ०.४५ प्रतिशत र ४२.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५१.७ प्रतिशत, पुँजीगत वस्तुको अनुपात ८.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.२ प्रतिशत, ९.१ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्