काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको मूल्य वृद्धि घटिरहेको देखाएको छ । केन्द्रीय बैंकको तथ्यांकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा वार्षिक विन्दुगत रुपमा मूल्य वृद्धि १.२२ प्रतिशतले घटेको देखाएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४.६१ प्रतिशत रहेको यस्तो मूल्य वृद्धि चालु आवको सोही अवधिमा घटेर ३.३९ प्रतिशतलमा कायम भएको देखिन्छ । तथ्यांकमा मूल्य वृद्धि घटेको देखिए पनि वास्तविक रूपमा उपभोक्ताले भने त्यसको महसुस गर्न पाएका छैनन् ।
केन्द्रीय बैंकको तथ्यांकले गत आवको ९ महिनाको अवधिको भन्दा चालु आवको ९ महिनामा मूल्य वृद्धि १.२२ प्रतिशतले घटेको देखाए पनि बजारमा कुनै पनि सामानको मूल्य गत वर्षको भन्दा सस्तो भने छैन् ।
उपभोक्ताहरुले भने सबैजसो सामानको मूल्य गत वर्षको भन्दा यो वर्ष बढी नै तिर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा तथ्यांक एकातिर र वस्तुको मूल्य अर्कै तिर भएको छ । विशेष गरेर भान्सामा प्रयोग हुने वस्तुको मूल्य अचाक्लिनै वृद्धि भएको छ ।
त्यस्तै निर्माण सामग्रीको मूल्य पनि गत वर्षको भन्दा यो वर्ष निकै बढेको छ । बजारमा गएर उपभोक्तालाई बजार मूल्यबारे सोध्दा उनीहरुले दिने जबाफ भनेको एउटै हुन्छ– सामानको मूल्य छोइनसक्नु बढेको छ । बजारमा यस्तो गुनासो आइरहँदा केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा भने महँगी घटेको देखिन्छ ।
सुनसरी घर भइ हाल काठमाडौं बस्दै आएका प्रसान्त ढकालले गत वर्षको भन्दा अहिले महँगी उच्च मात्रामा बढेको बताए । हरेक वर्ष सबै सामानको महँगी बढिरहेको उनको भनाइ छ । अघिल्लो वर्षको भन्दा यो वर्ष सबै सामानको मूल्य बढेको उनको भनाइ छ ।
अहिले बजारमा कुनै पनि वस्तुको मूल्य गत वर्षको भन्दा सस्तो नरहेको उनले सुनाए । ‘बजारमा सामानको मूल्य छोइनसक्नु महंगो छ । कुनै पनि सामानको मूल्य पहिलोभन्दा घटेको भनेर सुन्न पाइएको छैन,’ उनले भने ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चैत महिनासम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सूचकांक ११.६३ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत, फलफूलको ९.७ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको ५.१६ प्रतिशतले बढेको छ । तरकारीजन्य वस्तुको मूल्य सूचकांक ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको देखाएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.६९ प्रतिशत रहेको छ । त्यस्तै कपडाजन्य तथा जुत्ताचप्पलको मूल्य सूचकांक ७.०१ प्रतिशत, मदिराजन्य पेयपदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२५ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेस प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।
नाै महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति ४ प्रतिशतमाथि
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा कम देखिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत रहेको थियो ।
९ महिनामा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८३ प्रतिशतलेबढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.०८ प्रतिशत र ३.०६ प्रतिशतले बढेको छ । ९ महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति २.५२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्