काठमाडौं । नेपालमा कृषि बिमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बिमा’ नामक पुस्तक बजारमा आएको छ । बिमा बिज्ञ डा. रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा. गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ ।
यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बिमा व्यवसायीलाई सान्दर्भीक हुने लेखक डा. रविन्द्र घिमिरेले बताए । नेपालमा कृषि बिमा विकास र अभ्यासमा रुचि राख्नेका लागि पनि यो पुस्तक सान्दर्भिक रहेको उनको भनाइ छ । ‘पुस्तकमा कृषि बिमाको सैद्धान्तिक आधार तथा विश्व र नेपालमा अभ्यासमा रहेका बिमा पोलिसीको बारेमा उल्लेख गरिएको छ । साथै, तथ्यांक सहित नेपालको कृषि बिमाको बिकासक्रम, बिगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ,’ उनले बताए ।
उक्त पुस्तकलाई १४ अध्यायमा बिभाजन गरिएको छ । कृषि क्षेत्रमा बिद्यमान जोखिम र अन्तर्राष्टिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम ब्यवस्थापनको अभ्यासको बारेमा पुस्तकमा चर्चा गरिएको छ । यसैगरि कृषि बिमा सम्बन्धमा विश्वमा अभ्यासमा रहेका बिभिन्न पोलिसीहरु तथा असल अभ्यासहरुबारेमा पनि चर्चा गरिएको अर्का लेखक सुदिप पौडेलले बताए ।
‘कृषि बिमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ । नेपालका निर्जीवन बिमा कम्पनीहरुले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै बिश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ,’ उनले भने, ‘कृषि बिमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरुको पनि चर्चा गरिएको छ भने कृषि बिमामा ब्याप्त समस्या, चुनौती र संभावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ ।’ यस पुस्तकले नेपालको कृषि बिमा बजार विकास गर्न चाहने नीति निर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्