काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नरेन्द्रदेव भट्ट र कुमारमणि थपलिया नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आज भट्ट र थपलियालाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुलाई निजी क्षेत्रको तर्फबाट तीन वर्षका लागि नियुक्त गरिएको हो ।
नवनियुक्त सदस्य भट्ट हिमालयन उद्धार संघ ‘एचआरए’ का पूर्वअध्यक्ष हुन् भने थपलिया नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का वर्तमान अध्यक्ष हुन् ।
बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ । बोर्डमा सरकारी क्षेत्रबाट पाँच जना र पाँच जना निजी क्षेत्रबाट नियुक्त हुने व्यवस्था छ । प्रमुख कार्यकारी अधिकृत (सीइओ) को व्यवस्था गरिएको छ ।
बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, अध्यागमन विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पदेन सदस्य हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्