काठमाडौं । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६६१ दशमलव ६४ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.८७ प्रतिशत अर्थात ४९ दशमलव ७९ अंक घटेर २६११ दशमलव ८५ विन्दुमा पुगेको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स पनि ८ दशमलव ८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ७५ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको कारोबार भएको बजारमा यो साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम ६.७५ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या १४.०७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ११.०४ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ८२ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ४४ अर्ब रुपैयाँ सीमित भएको छ । यस साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। गत साता ६४२२ दशमलव ८७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६८ दशमलव ७९ अंक बढेर ६८९१ दशमलव ६६ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढको छ ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.२० प्रतिशत घटेको छ । गत साता २५४४ दशमलव ७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५७.६८ अंक घटेर २३८७ दशमलव ०९ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३१८ दशमलव ७२ अंक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्