काठमाडौँ । मखन आगलागी समयमा नियन्त्रण हुन नसक्नुको कारण पत्ता लगाउन छानविन समिति बनाउन काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले निर्देशक दिएकी छन् । उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई समित गठन गर्नका लागि निर्देशन दिएकी हुन् ।
‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन,’ उनले भनिन् ।
त्यस दिन विहान ६ः५० बजे दयाराम श्रेष्ठको घरबाट आगो बल्न सुरु भएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगगालीका कारण आएको धुँवामा निस्सासिएर एक जना ज्येष्ठ महिलाको मृत्यु भएको थियो । त्यसलगत्तै उपप्रमुख डंगोल र वडाध्यक्ष विनोद कुमार राजभण्डारीले घटनाको अनुगमन गरेका थिए । ‘आगलागी नियन्त्रणका लागि तत्परतामा कमजोरी भएको गुनासा आएका छन् । घटना स्थलमा दमकल लैजान पूर्वाधारजन्य अवरोध भएको कुरा पनि छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘घटना व्यवस्थापन गर्न कस्ता चुनौती थिए? के–के कमजोरी भए? यसका लागि दमकल, एम्बुलेन्स, दमकल, स्थानीयबासी, जनप्रतिनिधिहरुसँग छलफल गरेर सुक्ष्म अध्ययनका लागि छानविन गर्न निर्देशन दिएकी हुँ ।’ यस्ता घटनाको जोखिम घटाउन पूर्वतयारी, घटना नियन्त्रण, खोज उद्धार र घटनापछिको राहत तथा पुनःस्थापनाका विषयमा समितिले शिफारिस गर्नेछ ।
त्यो दिन दमकलमा पानी नभएको, बाटोमा निर्माण सामाग्रीले अवरोध गरेका कारण समयमा दमकल पुग्न नसकेको जस्ता गुनासाहरु पनि आएको भन्दै ती सबै कुरालाई ध्यानमा राखेर छानविन गर्न स्पष्ट निर्देशन दिएको पनि उनले जानकारी दिइन् । ‘हामीले अनुगमनको कामलाई तिव्रता दिदैँ आएका छौँ,’ उनले भनिन्, ‘त्यो दिन आगलागी हुँदा भौतिक संरचनामा मात्रै क्षति भएको छैन त्यहाँ मानवीय क्षति पनि भएको छ । त्यो गम्भीर कुरा हो । यस्ता कुरामा कमजोरी कस्को भयो ? र किन भयो भनेर हामीले छानविन समिति नै बनाएर त्यसको रिपोर्टका आधारमा के गर्ने भन्ने तयारीसहित अघि बढ्ने तयारी गरेका हौँ । यस्ले आगामी दिनमा कतै लापरबाही भएको रहेछ भन्ने कहाँबाट र कस्बाट भयो भनेर पत्ता लगाउन सहज हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्