Skip to content

लगानीकर्ताले थोरै कित्ता सेयर बिक्री गर्न नपाएपछि अडलट काराेबार खोल्दै नेप्से

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नियमित रुपमा अडलट काराेबार खोल्ने भएको छ ।

यसअघि २०७९ वैशाख २५ गते ब्रोकर नेप्सेले सबै ब्रोकर कम्पनीलाई पत्र काटेर अडलट कारोबार नगर्न निर्देशन दिएको थियो । नेप्सेले अडलट कारोबार रोक्दा धेरै लगानीकर्तासँग साना–साना कित्ता बिक्री नभएर रोकिएर बसेका छन् । लगानीकर्ताले बिक्री गर्न नपाएको सेयर बिक्री गर्न दिनका लागि अडलट कारोबार सुरु गर्न लागेको बताइएको छ ।

यसका लागि नेप्सेले आन्तरिक तयारी गरिरहेको जनाइएको छ । अडलट कारोबार सुरु भएपछि मार्केट डेप्थमा नै देखिने गरी राख्ने तयारी भएको छ । ‘धेरै लगानीकर्तासँग सानोसानो कित्तामा धेरै कम्पनीको सेयर रोकिएर बसेको छ’ नेप्सेका प्रमुख कार्यकारी चूडामणि चापागाईले भने, ‘त्यो रोकिएर बसेको सेयर बिक्री गर्न पाउनुपर्छ ।

थोरै सेयर रोकिएर बस्दा लगानीकर्ताको सम्पत्ति सही ठाउँमा प्रयोग हुन पाएको छैन। त्यही भएर अडलट कारोबार खोल्न लागेको हो ।’

थोरै भएपनि लगानीकर्ताको सम्पत्ति बन्धक हुन नहुने उनको बुझाइ छ । अहिले पनि अडलट कारोबार हुने गरेको भए पनि प्रभावकारी रुपमा हुन सकेको छैन । अहिले सेल अडर हाल्ने धेरै भए पनि बाइ गर्नेको संख्या निकै कम रहेको छ । त्यही भएर नेप्सेले मार्केट डेप्थमा नै देखिने गरी राख्न लागेको जनाएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम एकमा कारोबार हुने धितोपत्र सेयर वा सामुहिक लगानी प्रयोजनको एकाइ भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था छ ।

सोही विनियमको उपविनियम दुईमा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ भएमा एक कित्ता कारोबार इकाई हुने व्यवस्था छ ।

सोही विनियमको उपविनियम ३ बमोजिम ‘उपविनियम १ र २’ मा उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुन्छ । र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिने व्यवस्था छ । तर, कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइँदैन ।

उक्त समयमा धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानुनी व्यवस्था तथा प्रचलित कानुन बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदस्य दलालमा रहेको स्मरण गराउँदै सम्पूर्ण ब्रोकरलाई उक्त प्रावधानविपरीत टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलटमा कारोबार नगर्न नेप्सेले निर्देशन दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime