काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण नबुझाउने ९५ हजार बढी करदाताको मूल्य अभवृद्धि कर (भ्याट) निलम्बन गरेको छ ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार विभागले लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको जनाएको छ ।
लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको संख्या ९५ हजार ३४९ रहेको छ । विभागका अनुसार जेठ ९ गतेको निर्णय अनुसार कर विवरण नबुझाएका करदातालाई निलम्बन गर्दै सुची सार्वजनिक गरिएको हो ।
विभागले वैशाख ११ गते सूचना प्रकाशित गरी आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी १५ दिनभित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न अनुरोध गरेको थियो ।
तर, जेठ ७ सम्म पनि करदाताहरूले कर विवरण बुझाएपछि विभागले ९ गतेको निर्णय बमोजिम तोकिएको म्यादभित्र कर विवरण नबुझाएका करदाताहरूको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरेको जनाएको छ ।
दर्ता निलम्बन भएका करदाताको हकमा निलम्बन रहेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गगर्न भन्सार विभागलाई अनुरोध गरिएको जनाएको छ ।
कुनै करदाताको दर्ता निलम्बन हुनुनपर्ने कुनै कारण भएमा वा यस सम्बन्धमा कुनै दाबी विरोध भएमा वा कुनै असुविधा परेमा आफ्नो व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय (ठूला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालय समेत) तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।






प्रतिक्रिया दिनुहोस्