काठमाडौं । व्यावसायिक घरना गोल्यान ग्रुपले ४ अर्ब लागतमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका–४ रम्वापुरमा अर्को पाँचतारे होटल ‘वेदा हस्पिटालिटी होटल’ निर्माण गर्न लागेको छ ।
वेदालाई इन्गेजमेन्ट, विवाह गन्तव्यको रुपमा होटलको विकास गर्ने जनाइएको छ । हाल होटलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएर यसमा आवश्यक सुझाव माग गरिएको छ ।
यो होटलको पूर्वाधारमा वेलकम ब्लक, क्यानिसो ब्लक एक/एकवटा, ४ वटा होटल ब्लक, ५ वटा भिल्ला ब्लक गरी ११ वटा भवनहरू हुनेछन् । होटल कुल क्षेत्रफल १० विघा ५ कठ्ठा ४.०६ धुर जग्गामा बन्ने छ ।
होटलमा १ सय ७७ पाहुना कोठामा २ सय ७० शय्या, विभिन्न स्तरका पाहुना कोठाहरूसहित बेन्क्वेट हल, कन्फेरेन्स हल, मिटिङ्ग हल, ज्याकुजी, स्पा, स्टिम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ्ग पूल जस्ता सुविधाहरू रहने छन् । यो होटल ६९ हजार ४८५.९७ वर्ग मिटर क्षेत्रफलमा बन्ने छ । यसको खुला क्षेत्रमा ५० वटा दुईपाङ्ग्रे र २२० बटा चार पाङ्ग्रे सवारी साधनको लागि पार्किª क्षेत्र रहेको छ।
होटलबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा कुनै पनि घरपरिबार नरहेको जनाइएको छ । होटल निर्माणको चरणमा दैनिक ८० जना कामदार अवाश्यक पर्ने जनाइएको छ । यस्तै होटल सञ्चालनमा आएपछि १ सय ७० जना कर्मचारी आवश्यक पर्ने जनाएको छ । कुल कामदारमा दक्ष ३० प्रतिशत, अर्धदक्ष ४० र अदक्ष कामदार १० प्रतिशत आवश्यक पर्ने जनाइएको छ ।
४ करोड रुपैयाँमा निर्माण हुन लागेको होटलमा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण र १ अर्ब १ करोड ८० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) रहने छ । अर्थात् ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाइने छ ।
यो होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९.११ किलोमिटर पश्चिम र मायादेवी मन्दिदरबाट ६.७ किलोमिटर उत्तर–पूर्वमा रहने छ । यो होटल बन्न करिब ४ वर्ष लाग्ने अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७ देखि १० वर्ष रहेको छ। यो होटलमा क्यासिनो पनि हुने छ ।
यो होटल क्यासिनो र विवाह गन्तव्यको रुपमा बढी रुचाइने अपेक्षा गरिएको छ । धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमि बोकेको लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति आस्था राख्ने हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नजिक निर्माण हुने होटलको उद्देश्य आधुनिक तथा विलासी सेवा तथा सुविधाहरू प्रदान गरेर लुम्बिनी घुम्न आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने र यस क्षेत्रको पर्यटन विकास गर्नु रहेको छ । हाल नेपालमा विवाह गन्तव्य, इन्गेजमेन्ट, रिसेप्सेन, कन्फ्रेन्स, सेमिनार आदिका लागि तारे स्तरका होटलहरू प्रचलित बन्दै गएका छन् ।
यही मागलाई पूरा गरी यो होटलले पर्यटन विकासमा टेवा पुर्याउने दाबी गरेको छ । गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा बन्न लागेको होटल नेपाल भारतको सीमा नजिकै रहेको छ । यो होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेसनबाट करिब ३९ किलोमिटर दुरीमारहेको छ ।
यो समूहले ‘ह्यात सेन्ट्रिक’ सञ्चालन गरिरहेको छ । यो समूहले होटल, उर्जा, कृषि, ब्यापार, बैंक, बीमा, प्लास्टिक उद्योग, रियलस्टेट, टेक्सटाइल क्षत्रेमा लगानी गरेको छ । गोल्यान ग्रुपको अध्यक्षमा पवन गोल्यान छन् भने उपाध्यक्षमा बासुदेव गोल्यान, निर्देशक शक्ति गोल्यान, अनन्त गोल्यान र अक्षय गाेल्यान छन् ।






प्रतिक्रिया दिनुहोस्