काठमाडौं । सञ्चालमा रहेको जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनासम्म विभिन्न क्षेत्रमा करिब साढे ८ खर्ब रुपैयाँ लगानी गरेका छन् । यी कम्पनीहरुले चैत मसान्तसम्म ८ खर्ब ४२ अर्ब ६९ करोड १६ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।
बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ र पुनर्बीमा कम्पनीहरुले ४० अर्ब ८६ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
उक्त लगानी मध्ये जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले बैंकको संस्थापक सेयर १७ अर्ब भन्दा बढी लगानी गरेका छन् । बीमा कम्पनीहरुले चैत मसान्तसम्म १७ अर्ब १० करोड ७३ लाख रुपैयाँ बैंकको संस्थापक सेयरमा लगानी गरेका छन् । हाल १४ वटा जीवनमा, १४ वटा निर्जीवन कम्पनी र दुई वटा पुनर्बीमा कम्पनी रहेका छन् । यी मध्ये जीवन तर्फ मेट लाइफ र सिटिजन्स, निर्जीबन तर्फ सानिमा जीआईसी, राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सले भने बैंकको संस्थापक सेयरमा लगानी गरेका छैनन् । अन्य कम्पनीले लगानी गरेको प्राधिकरणले जनाएको छ ।
संस्थापक सेयरमा जीवन बीमा कम्पनीहरुले १४ अर्ब १३ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीले १ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ र पुनर्बीमा कम्पनीले ९७ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् ।
पछिल्लो समय बैंकबाट संस्थापक लगानीकर्ता बाहिरिने क्रम बढेपछि बीमा कम्पनीहरुले लगानी बढाउँदै लगेका छन् । बैंकहरुको लगानी माथीको प्रतिफल (आरओई) खुम्चदै जाँदा व्यक्तिगत ठूला तथा पुराना लगानीकर्ता सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको छ । कतिपय लगानीकर्ताले बैंकमा आफ्नो स्वामित्व घटाइ राखेका छन् । अहिले बैंकको आरओई औषतमा ७ प्रतिशतको हाराहारीमा छ ।
बीमा कम्पनीहरुले ‘क’ वर्गका वाणिज्य बैंक र पूर्वाधार बैंकको मुद्दति खातामा न्यूनतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । त्यस्तै जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा बढीमा १० प्रतिशतसम्म लागनी गर्न पाउँछन् । त्यस्तै ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा बढीमा ५ प्रतिशत, घरजग्गामा बढीमा १० प्रतिशत र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढिमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, वन्ड, डिबेन्चर र ऋणपत्रमा ३० प्रतिशतसम्म, सूचीकृत पब्लिक कम्पनीको वन्ड, डिबेन्चर र ऋणपत्रमा बढिमा २० प्रतिशत, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत नविकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढिमा १० प्रतिशत लागनी गर्न पाउने व्यवस्था छ ।
त्यस्तै नागरिक लगानी कोष र म्युचुअल फण्डमा बढिमा ५ प्रतिशत र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढिमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्