Skip to content
Prabhu

ब्रोकरको पुँजी पुर्याउने समय २ वर्ष थप्दै सेबोन, २० करोड पुँजी हुनेले मार्जिन कारोबार गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई तोकेको चुक्ता पुँजी पु्र्याउने समय २ वर्ष थप्ने भएको छ । बोर्डले स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आग्रहअनुसार पुँजी नपुगेका ब्रोकरलाई पुँजी पुर्याउने समय २ वर्ष थप्न लागेको बोर्ड निकट स्रोतको दाबी छ ।

यसअघि २०८२ असार मसान्तभित्र ब्रोकरको चुक्ता पुँजी १० गुणाले बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था छ । ब्रोकरको मागअनुसार अब बोर्डले २०८४ असार मसान्तभित्र तोकेको पुँजी पुर्याउन दिने स्रोतको दाबी छ । त्यसका लागि बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन गर्न लागिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नियमावली संशोधन गर्न भन्दै बोर्डमा कमिटीसमेत बनेको छ । उक्त कमिटीले मस्यौदा अन्तिम चरणमा पुर्याएको छ । नियमावली संशोधन गरेर सेबोनको बोर्ड बैठकमा पेश गर्ने र उक्त नियमावली संंशोधन गरेर स्वीकृतिका लागि आगामी साता अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको स्रोतको दाबी छ । मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि कार्यान्वयमा जाने छ । यो नियमावली चालु आव भित्रै संशोधन हुने भएको छ । यता बोर्डका प्रवक्ता निरन्जय घिमिरे यो विषयमा अध्ययन भइरहेको भए पनि टुंगो लागि नसकेको बताउँछन् ।

‘ब्रोकर एसोसिएसनका अध्यक्षसहित पदाधिकारीले पटक–पटक समय थप्न आग्रह गर्नु भएको थियो’ प्रवक्ता घिमिरेले भने, ‘समय थप्ने विषयमा अध्ययन भइरहेको छ । थप्ने नै भन्ने निश्चित भइसकेको छैन ।’ ब्रोकरको पुँजी बढाउन समय थप्ने विषयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिएको बताइन्छ । बोर्डले धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका–२०८१ गत चैत १५ गते जारी गरेको छ ।

बोर्डले मर्जको निर्देशिका ढिला जारी गरेका कारण ब्रोकरलाई पुँजी पुर्याउने योजना बनाउन समय लागेकाले समय थप्न माग गरेको एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘अहिले करिब २ दर्जन ब्रोकरको चुक्ता पुँजी पुगेको छैन । पुँजी नपुग्ने ब्रोकर पुराना छन्’ अध्यक्ष ढकालले भने, ‘बोर्डले निर्देशिका नियमावलीले भनेको समय सकिनु तीन महिना अघि मात्रै ल्याएको छ । तीन महिनाभित्र पुँजी पुर्याउनु भनेर दबाब दिँदा प्राविधिक कारणले पनि ब्रोकरलाई यो सम्भव हुँदैन । यति लामो समय सेयर बजारलाई चलायमान बनाउन भूमिका खेलेका पुराना ब्रोकरलाई अहिले आएर पुँजी नपुगे कारबाही हुन्छ भन्न मिल्दैन ।’ त्यही भएर एसोसिएसनले पुँजी पुर्याउने समय थप २ वर्ष माग गरेको उनको भनाइ छ ।

तीन महिना अघि निदेशिका आयो, निर्देशिका आएपछि मर्जरमा जाने हो वा अन्य विकल्पमा जाने हो भने पनि विशेष साधारणसभा बोलाउन पनि ३५ दिने सुचना जारी गर्दा, अन्य यसका प्राविधिक विषय मिलाउन समय अपुग हुने उनको भनाइ छ ।

बोर्डका अनुसार ३९ वटा ब्रोकरको पुँजी पुगेको थिएन । यसमध्ये ८ वटा ब्रोकरले पुँजी पुर्याउने योजना बोर्डमा पेश गरिसकेका छन् । योजना पेश गर्ने ब्रोकरमा कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, जे.एफ. सेक्युरिटिज, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग, सुन्धारा सेक्युरिटिज, लिन्च स्टक मार्केट, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।

यता ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, त्रिशुल सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट, साउथ एसियन बुल, निभा सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनीले पनि चालु आव भित्रै सेबोनले तोकेको पुँजी पुर्याउने भने बोर्डमा भने पनि योजना भने पेश भइनसकेको जनाइएको छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार हाल धितोपत्र व्यापारीको संख्या २ (नागरिक स्टक डिलर र नबिल स्टक डिलर) रहेका छन् । यस्तै पूर्ण कार्यगर्ने ब्रोकरको संख्या २ रहेको छ । जसमा हिमालयन सेक्युरिटिज र एनआईएमबि स्टक मार्केट छन् । बाँकी ८८ वटा सीमित कार्य गर्ने ब्रोकर रहेका छन् ।

अब २० करोड चुक्ता पुँजी भएर सीमित कार्य गर्ने ब्रोकरले पनि मार्जिन कारोबार गर्न पाउने भएका छन् । त्यसका लागि बोर्डले नियमावली संशोधन गर्ने क्रममा रहेको छ । बजारको विकासका लागि पनि यो आवश्यक भएको बोर्डका एक अधिकारीले बताए। यस विषयमा अध्ययन भने भइरहेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको पाँचौं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । यो ब्यबस्था ब्रोकरको पुँजी पुर्याउन गरिएको थियो ।

बोर्डले चुक्ता पुँजी नपुगेका ३९ वटा ब्रोकर कम्पनीलाई पुँजी पुर्याउने योजना यथाशीर्घ पेस गर्न पुस ८ गते पत्राचार गरेको थियो। पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई उक्त नियमावलीको नियम १० को (१क) मा भएको व्यवस्था अनुसार पुँजी पुर्याउने योजना बोर्डले माग गरेको थियो ।

नियम १० को (१क)मा ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम न्यूनतम पुँजी पुर्याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७ क बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । ७ क मा ‘धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्नरगाभिन सक्नेछ’ भन्ने व्यवस्था छ ।

नियमावलीको नियम १० को १ मा ‘नियम प्रारम्भ हुँदाका बखत संचालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत् २०८२ साल असार मसान्तभित्र अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार ६ महिनाअघि योजना माग गरेको बोर्डले जनाएको छ । तर, अहिलेसम्म योजना प्रस्ट रुपमा ८ वटाले पेश गरेका छन् ।

यता धितोपत्र बोर्डले बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई संशोधन २० करोड भन्दा कम चुक्ता पुँजी भएका ब्रोकरलाई मार्जिन कारोबार गर्न दिने तयारी गरेको छ । सेबोनले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको थियो । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल धितोपत्र व्यापारीको संख्या २ (नागरिक स्टक डिलर र नबिल स्टक डिलर) रहेका छन् । यस्तै पूर्ण कार्यगर्ने ब्रोकरको संख्या २ रहेको छ । जसमा हिमालयन सेक्युरिटिज र एनआईएमबि स्टक मार्केट छन् । बाँकी ८८ वटा सीमित कार्य गर्ने ब्रोकर छन् । अब २० करोड चुक्ता पुँजी भएर सीमित कार्य गर्ने ब्रोकरले पनि मार्जिन कारोबार गर्न पाउने भएका छन् । त्यसका लागि बोर्डले नियमावली संशोधन गर्ने क्रममा रहेको जनाएको छ । बजारको विकासका लागि पनि यो आवश्यक भएको बोर्डका एक अधिकारीले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्