Skip to content

बागलुङमा २ वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण

nabil bank

बागलुङ । बागलुङमा पछिल्लो २ वर्षमा २७ किलोमिटर २३५ मिटर पदमार्ग निर्माण भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी पर्यटक आकर्षणका लागि पदमार्ग निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा विनियोजन गरेको बजेटबाट जिल्लाको १० पालिकाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ ।

पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज भएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्ग निर्माण गरिएको हो । प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको छ करोड ८० लाख रुपैयाँ बजेटले १२ किलोमिटर दुई सय ३५ मिटर पदमार्ग निर्माण गरिएको थियो । चालु आर्थिक वर्षमा विनियोजन भएको तीन करोड ८५ लाख रुपैयाँ १५ किलोमिटर पदमार्ग बनाइएको उद्योग तथा पर्यटन कार्यालय बागलुङले जनाएको छ ।

अघिल्लो वर्ष १२ हजार ३५ मिटर पदमार्ग रेलिङ र ‘स्लेट’ ढुङ्गाको प्रयोग गरि पक्की र यस वर्ष आठ हजार मिटर पक्की र सात हजार मिटर कच्ची पदमार्ग निर्माण गरेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । यस वर्षका सबै योजना कार्यान्वन गरेर अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

पदमार्गले पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पु¥याउनका साथै पर्यटक आकर्षण गरेको प्रमुख थापाले बताउनुभयो ।

उनले भने, ‘पोहोर सालको तुलनामा यसवर्ष अल्ली बढी पदमार्ग निर्माण भएको छ, गत वर्ष सबै ठाउँमा रेलिङसहितको पक्की बनाएका थियौँ भने यस वर्ष केही किलोमिटर कच्ची पनि बनेको छ, पदमार्ग निर्माणले स्थानीय नागरिकलाई यात्रा गर्न सहज त हुने नै भयो, आगन्तुकलाई धेरै सजिलो बनाएको छ, पदमार्गले पर्यटक बढ्ने हामीहरुले अपेक्षा लिएका छौँ ।’

पर्यटकीय क्षेत्र ढोरपाटनको बुकीपाटन, कोठेभिर, नरसिंहकोट, सत्यवती मन्दिरलगायत दर्जनौँ स्थानमा पुग्ने पदमार्ग निर्माण भएका छन् । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत ३१ वटा पदमार्ग निर्माण भएका छन् । पदमार्ग निर्माण भएपछि निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोटमा पर्यटकको चहलपहल बढेको स्थानीय प्रमेबहादुर कुँवरले बताए ।

पहिले गोरेटोबाटो साँघुरो र अप्ठ्यारो हुँदा खास्सै पर्यटक पुग्न नसकेको भन्दै अहिले पदमार्गको सहजताले धेरै आगन्तुत आउने उनको भनाइ छ । सेरादेखि केही माथिसम्म पदमार्ग बने पनि अझै नरसिंहकोट नजोडिएको कुँवरले बताए । जहाँ सडक तथा पदमार्गको सहज पहुँच छ त्यहाँ बढी पर्यटक पुग्ने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime