कैलाली । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।
उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार १ सय १२ उत्पादनमूलक, दुई सय चार कृषिमूलक,दुईवटा पर्यटनमूलक, दुईवटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ । दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५१८,कृषिमूलक सात हजार ३६,निर्माणमूलक दुई, पर्यटनमूलक ६८,सूचना प्रविधका १४ र सेवामूलक छ हजार २०८ उद्योग रहेका उनले बताए। चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५३२ वटा फर्म दर्ता भएका छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एक सय २७ पुगेका उहाँले जानकारी दिए।
चालु आवमा दुई सय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी पाँच सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए। कार्यालयले चालु आवको उक्त अवधिमा १ करोड ४६ लाख एक हजार ५७३ रुपैयाँ राजस्व संकलन गरेको छ ।
महिला, दलित र अपाङ्गता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता,नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । गत आवमा सात सय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीन सय एक फर्म दर्ता भएका थिए । गत आवमा एक करोड ७७ लाख ४४ हजार ७७७ रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्