काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अन्य गभर्नरहरूभन्दा नयाँ कदम चालेका छन् । डा. पौडेल हाल आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयार पार्ने चटारोमा छन् । जसको कारण उनले काठमाडौं उपत्यकामा हुने तारे होटलको कार्यक्रम छोडेर गाउँ लक्षित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
गभर्नर नियुक्त भए लगत्तै उनलाई काठमाडौंमा आयोजना गरिएको सञ्चार संस्थाको संगठन र सञ्चार माध्यमहरूले गरेको कार्यक्रममा बोलाउन चाहन्थे । तर, उनले ती कार्यक्रमहरूमा सहभागिता देखाएनन् । यसअघिका गभर्नरहरूले मौद्रिक नीतिको तयारी गर्न पूर्ववर्ती व्यवसायिक संगठन, पत्रकार संगठन तथा सञ्चार संस्थाको कार्यक्रममा सहभागिता जनाएर सुझाव लिने गर्दथे र सबैलाई सहुलियत हुने खालको नीति ल्याउने आश्वासन दिए।
यसैगरी, यसअघिका आर्थिक वर्षहरूमा अन्य गभर्नरहरूले बजेटपछि निजी क्षेत्रमा आएका गुनासो सुन्ने र त्यसमा मौद्रिक नीतिले कसरी सम्बोधन गर्न सक्नेमा जोड दिने गरेका थिए। तर, गभर्नर डा. पौडेलले भने यसको विपरीत गरे। उनले उपत्यकाको कार्यक्रम छोडेर बिभिन्न जिल्लामा सहभागिता जनाए र त्यहाँको स्थानिय सुझावहरू लिए।
डा. पौडेललाई आउँदो आर्थिक वर्षमा अन्य गभर्नरहरूले ल्याएको भन्दा फरक मौद्रिक नीति ल्याउनु चुनौती हुनेछ। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको खराब कर्जा लगायतका कुरालाई लक्षित गर्दै निजी क्षेत्रमा कर्जा लगानी वृद्धि गराउने नीति ल्याउनु चुनौती हो।
राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूको अवस्थालाई ध्यानमा राख्दै, उनले उपत्यकाको कार्यक्रमबाट टाढा गएर बाहिरी जिल्लाहरूलाई प्राथमिकता दिए । जेठ १९ गते सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) को छलफलमा, उनले खराब ऋण सानो तरिकाले बढ्न सक्ने सम्भावना बताउँदै, त्यसको समाधान खोज्ने गरी मौद्रिक नीति तयार पार्ने संकेत दिए ।
यस्तै, गभर्नर डा. पौडेलले कृषि क्षेत्रमा गएको, साना तथा मझौला उद्योगको ऋणको रिभ्यु गर्ने बताएका थिए। सोहीअनुसार उनले पश्चिमका विभिन्न जिल्लामा पुगेर तिनीहरूको परिस्थिति बुझ्न प्रयास गरे। उनले उक्त कार्यक्रममा एउटा व्यक्तिले एक अर्ब पाउनुको सट्टा, एक हजारव्यक्तिले १० लाख पाउने भए, त्यसको प्रभाव राम्रो हुने र त्यसलाई ध्यानमा राखी मौद्रिक नीति बनाउने संकेत गरे। पछिल्लो समयमा कृषिमा लगिएको ऋणमा खराब कर्जा बढिरहेको र यसको कारणहरु पत्ता लगाउन पनि उनी जिल्ला केन्द्रित कार्यक्रममा पुगे।
अर्कोतर्फ, उनलाई अहिलेको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नुपर्ने चुनौती पनि छ। उनले अर्थतन्त्रको सुस्तता ध्यानमा राख्दै, आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने आश्वासन दिए। राष्ट्र बैंकको धनगढी शाखाले आयोजना गरेको उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघसंस्था, कृषि ऋण लिएका निकायका प्रतिनिधिसँग गरिएको छलफलमा उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्रलाई गतिशील बनाउने खालको हुने बताएका छन् ।
कोभिडलगायत अन्य विभिन्न कारणले अर्थतन्त्रमा केही समस्या देखिएकाले मौद्रिक नीतिमार्फत तिनको पहिचान गरेर समाधान गरिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्