एजेन्सी । केही समय अघि एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले लगानीकर्ताहरुलाई अब भारतका निर्मित आइफोन उपलब्ध हुन्छ भनी भनेको खबरले नयाँ तरंग ल्यायो । केहीले त यसलाई भारतले आइफोन उत्पादनमा चीनको स्थान लिँदैछ भन्ने बुझाइमा पनि लगे । तर के भारत साँच्चै चीनको विकल्प बन्न सक्दछ ?
हालैका वर्षहरूमा एप्पलले भारतमा लगानी बढाएको छ । त्यसको प्रभावस्वरूप आपूर्तिकर्ता कम्पनीहरू पनि भारत प्रवेश गरेका छन् । केही रिपोर्टले भारतमा निर्माण हुने आइफोनको हिस्सा ७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको बताएका छन् । तर यसलाई चीनबाट उत्पादन सारिएको भन्ने होइन । एप्पलको आइफोन निर्माणको ठूलो हिस्सा अझै पनि चीनमै निर्भर छ, र चीन नै आपूर्ति शृङ्खलाको केन्द्रबिन्दु रहँदै आएको छ ।
भारत किन चीनको स्थान लिन सक्दैन भन्ने विषयमा चीनको ग्लोबल टाइम्सले समाचार प्रकाशित गरेको छ । जसमा विभिन्न कारण दिएको छ ।
१. अपूरो पूर्वाधार र आपूर्ति शृङ्खलाः
चीनसँग आइफोन निर्माणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र परिपक्व आपूर्ति शृङ्खला छ । चिप, स्क्रिन, ब्याट्रीदेखि क्यामेरा जस्ता सामग्री चीनमै तयार हुन्छन् वा सजिलै आयात गर्न सकिन्छ । भारत अझै पनि यी सामग्रीहरूमा आयातमै निर्भर छ, जसले लागत र समय दुवै बढाउँछ ।
२. दक्ष जनशक्तिको अभावः
चीनमा दशकौंको अनुभवसहितको दक्ष जनशक्ति छ । एप्पल र आपूर्तिकर्ता कम्पनीहरूले चिनियाँ कामदारहरूलाई जटिल उत्पादन प्रक्रियाको प्रशिक्षण दिएका छन् । भारतले यस्तो स्तरको जनशक्ति विकास गर्न अझै धेरै समय लाग्नेछ ।
३. ठूलो मात्रामा उत्पादन क्षमताको अभावः
चीनमा रहेका औद्योगिक पार्कहरू र सरकारी सहायताले एप्पललाई हरेक महिना करोडौं आइफोन उत्पादन गर्न सक्ने बनाएको छ । भारतले यति ठूलो मात्रामा उत्पादन क्षमताको विकास गर्न कठिनाइ भोगिरहेको छ ।
४. ढुवानी र यातायात पूर्वाधारको कमजोरीः
चीनसँग उच्च स्तरीय बन्दरगाहा, रेलमार्ग, राजमार्ग र अन्य यातायात सुविधा छ, जसले उत्पादित वस्तुहरू छिटो र प्रभावकारी रूपमा विश्वभर पठाउन मद्दत गर्छ । भारतले अझै यस्ता पूर्वाधारमा सुधार गर्नु पर्ने अवस्था छ ।
एप्पलले उत्पादनको विविधिकरण गर्दै भारत र भियतनाममा समेत आधार बनाइरहेको छ । तर यसको अर्थ चीनलाई विस्थापन गर्नु भने होइन । यो चीन प्लस १ रणनीति हो । जहाँ चीन मुख्य उत्पादन केन्द्र रहन्छ र भारत जस्ता देशहरू पूरकको रूपमा अगाडि बढ्छन् । त्यसैले, भारतले केही हिस्सा सम्हालेको भए पनि चीनको स्थान लिएको छैन । र, निकट भविष्यमा लिने सम्भावना पनि नदेखिने चिनियाँ पत्रिकाको दाबी छ । I
प्रतिक्रिया दिनुहोस्