Skip to content
Prabhu

सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायी आन्दोलनमा, सत्तारुढ दल नै असन्तुष्ट

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनमा लगाइएको विलासिता कर र हीरा–ज्वाहरत पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेजीको माग गर्दै पसल बन्द गरेर आन्दोलनमा जाने तयारी गरेका छन् ।

व्यवसायीको उक्त आन्दोलनलाई सत्तारुढ पक्षका नेताले पनि साथ दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाको बैठकमा आइतबार बजेटको छलफलमा सरकारले बजेटमार्फत ल्याएको उक्त विषय उपयुक्त नभएको जनाएका छन् । डा. महतले व्यवसायीलाई नै सुन आयात गर्न दिएर उचित सुन तथा हीरा–ज्वाहरत पत्थरमा एउटा सीमा तोकेर कर निर्धारण गर्न आग्रह गरेका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

उनले व्यवयासीलाई नै सुन आयात गर्न दिन सरकारलाई आग्रह गरेका छन् । ‘व्यवसायीलाई नै सुन आयात गर्न दिएर करको सीमा निर्धारण गर्दा तस्करी पनि रोकिन्छ’, डा.महतले भने । पछिल्लो केही वर्षयता सुनको तस्करी बढ्दो छ । सरकारले व्यवसायीलाई नै सुन आयात गर्न दिँदा सुन तस्करी रोकिने महतको बुझाई छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हीरा ज्वाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ । सो करको दरलाई खारेज गर्न भन्दै व्यवसायीले व्यवसाय नै ठप्प पारेर आन्दोलन गर्ने तयारी गरेका हुन् ।

व्यवसायीले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हीरा पत्थरमा लगाउने तयारी गरिएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेको नेपाल सुन–चाँदी व्यवसायी महासँग पूर्वअध्यक्ष तथा सल्लाहाकार तेजरत्न शाक्य बताउँछन् ।

यसैगरी, व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम गर्न माग राखेका छन् । ‘सरकारले गत मंसिरमा २० प्रतिशत रहेको सुनको भन्सारदर घटाएर १० प्रतिशतमा झारेको छ ।’ शाक्य भन्छन्, ‘उक्त १० प्रतिशत भन्सारदरलाई अझ घटाएर ६ प्रतिशतमा झार्न आवश्यक छ ।’ नेपाल र भारतमा सुनको मूल्य भन्सार दरको कारण फरक भएको कारण सुनको तस्करी बढेको साक्यको बुझाई  छ । यसलाई समान बनाउँदा व्यवसायमा पनि सहजता हुने र तस्करी पनि घट्ने उनी बताउँछन् ।

यसैगरी, आन्दोलित व्यवसायीले सरकारलाई सुुन–चाँदी कारोबारका लागि प्रष्ट नीति निर्माण गर्न पनि माग राखेका छन् । सरकारको सुन–चाँदी व्यवसायीप्रतिको नीति स्पस्ट नएको कारण प्रष्ट पार्न भन्दै व्यवसायीले माग राखेका हुन् । व्यवसायीले उक्त करको दर हटाउनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

व्यवसायीहरूले गत बिहीबार र शुक्रबार पनि पसल बन्द गरेर सडक आन्दोलन गरेका थिए । यसैगरी, सोमबार पनि व्यवसायीले सरकारको ध्यानाकर्षण गर्न शान्ति र्याली सम्पन्न गरेको शाक्यले बताए ।

सरकारले कर लगाएको सन्दर्भमा नेपाल सुन–चाँदी व्यवसायी महासंघ, नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पमा बिहीबारदेखि आन्दोलन गरेका थिए । तर, आन्दोलन गर्दा पनि सरकारले चासो नदेखाएको कारण सोमबार पनि शान्तिपूर्ण र्याली गरेर दिउँसो र्याडिसन होटल काठमाडौंका कार्यक्रम गर्ने तयारी गरेको शाक्यले बताए ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्