Skip to content
Prabhu

वर्ल्डलिङ्कको ब्यापार बढ्दो, नाफाको मार्जिन घट्यो

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनको नाफाको मार्जिन घटेको छ । एक वर्षमा कम्पनीले गरेको ब्यापार बढे पनि नाफामा मार्जिन भने घटेको देखिएको छ ।

दिलिप अग्रवाल अध्यक्ष रहेको कम्पनीले सन् २०२४ मा ३१.४५ प्रतिशत नाफा आर्जन गरेको थियो । सन् २०२३ मा कम्पनीको ब्याज, भाडा, मूल्यह्रास र करपूर्वको नाफा ३३.४५ प्रतिशत रहेको थियो । कम्पनीको नाफा सामान्य घटेको भए तापनि ब्यापारमा भने वृद्धि भएको छ । कम्युनिकेसन कम्पनीका अनुसार सन् २०२४ मा कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको ब्यापार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीको ब्यापार अघिल्लो वर्षभन्दा ७९ करोड ६० लाख रुपैयाँले बढेको छ । सन् २०२३ मा कम्पनीले १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो । कम्युनिकेसनले सन् १९९६ बाट इन्टनेट सेवा दिँदै आएको छ । यो नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्युनिकेसन सन् २०१९ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ ।

हाल देशभर ३१ लाख ३० हजार ६ सय ५५ इन्टरनेट सस्क्राइबर रहेको कम्पनीले जनाएको छ । त्यसमध्ये कम्पनीको १० लाख सब्स्क्राइबर छन् । कम्पनीले देशभरको ४० प्रतिशत इन्टरनेट ब्यान्डविथ ओगटेको छ । कम्पनीले ७० भन्दा बढी जिल्लामा र १० हजार बढी अफिस तथा संघसंस्थामा सेवा पुर्याएको जनाएको छ ।

कम्पनीकाे देशभर १ सय ४० वटा शाखा छन् । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १९ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टले १ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको भने डोल्मा इम्प्याक्ट फन्डले ९० करोड लगानी गरेको छ । कम्पनीअनुसार उक्त दुई कम्पनीले विदेशी लगानी भित्र्याएसँगै विदेशी कम्पनीको इक्विटी इन्फ्यूजन २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्