काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ऐन नियम विपरित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत दुरुपयोग गरेको पाइएको छ ।
सहकारी ठगी प्रकरणमा हाल हिरासतमा रहेका लामिछानेले सहकारी ऐनविपरीत संस्थामा सदस्य बनेको र आर्थिक कारोबार गरेको पाइएको छ । उनले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–६ मा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सदस्य बनेको भोलिपल्ट नै डेढ करोड कर्जा लिइएको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २०७८ साउन १८ गते सहकारीको सदस्य बनेको र त्यसको भोलिपल्ट अर्थात् साउन १९ गते डेढ करोड कर्जा लिएको पाइएको छ । सहकारी ऐन अनुसार सदस्य भएको तीन महिना पूरा नभइ कर्जा पाइँदैन । कर्जा दिँदा बचतको सीमा, धितो लगायत हेर्ने गरिन्छ । उक्त सहकारीबाट कर्जा लिँदा, दिँदा त्यो हेरिएको छैन ।
लामिछानेले सहकारीबाट कर्जा लिँदा ब्याजदर १२ प्रतिशत रहेको सम्झौतामा उल्लेख छ । लामिछानेको नाममा सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट १ करोड ५० लाख ऋण खडा गरेको सहकारी संस्था लिमिटेडको कम्प्युटरमा रहेको डिजिटल अभिलेख समेतबाट पुष्ठी भएको छ । लामिछानेले वास्तबिक ठेगाना उल्लेख नगरी बागमती काठमाडौं मात्र लेख्न लगाई वास्तबिक वतन लुकाउने प्रयास गरेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले त्यो कर्जा लामिछानेले लिएको र अहिलेसम्म नतिरेको देखाएकोे छ । प्रहरीले गरेको अनुुन्धानले लामिछानेले १ करोड ५० लाख रुपैयाँ ऋण लिएको र १ करोड ४७ लाख ४८ हजार रुपैयाँ उनको खाता सञ्चालन रहेको गोर्खा मिडिया नेटवर्कको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा पैसा जम्मा भएको पाइएको छ ।
२०७८ साउन १९ गते लिएको १ करोड ५० लाख रुपैयाँ कर्जामा १ लाख रुपैयाँ सेयर कायम गरेर र सेवा शुल्क काटेर बाँकी रहेको १ करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको हो । रविले कर्जा लिँदा ऋण जमानीमा श्रीमती निकिता पौडेललाई राखेको अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्