एजेन्सी । इरानमाथि इजरायलको आक्रमण र इरानको जवाफी कारबाहीले विश्वभरका बजारमा हलचल ल्याएको छ । यसले विशेष गरी तेलको मूल्यमा उछाल ल्याएको छ । तर दुवै देशबीच मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्य फेरि घटेको छ ।
त्यसै पनि तेलको मूल्य एक महिनाअघिको तुलनामा १० डलरले बढेको छ भने ऊर्जा लागतको वृद्धिका कारण संसारभर पेट्रोलदेखि खाद्यवस्तु र बिदा मनाउने खर्चसम्म सबै महँगो हुनेमा चिन्ता व्यक्त गरिएको छ । तीन वर्षअघि युक्रेनमाथि रुसको आक्रमणपछिको स्थितिसँग यो धेरै हदसम्म मिल्दोजुल्दो छ, जसले विश्वभर मानिसहरूको जीवनमा असर पारेको थियो ।
तेलको मूल्य कति बढेको छ ?
गत हप्ता इरान–इजरायल आक्रमणको बजारमा तत्काल प्रभाव देखियो । त्यसले अन्तर्राष्ट्रिय कच्चा तेलको मुख्य मापदण्ड ‘ब्रेन्ट क्रूड’ शुक्रबार ७८ डलर प्रति ब्यारेलभन्दा माथि पुर्यायो । यद्यपि त्यसपछि यसको मूल्य फेरि घटेर करिब ७४.५० डलरमा झर्यो । तर यो अझै पनि अघिल्लो महिनाको यही अवधिको तुलनामा १० डलरले बढी छ ।
तेलको मूल्य ठूला भू–राजनीतिक घटनाक्रम र विश्व अर्थतन्त्रको अवस्थाका कारण सधैं घटबढ भइरहन्छ । त्यसैले इजरायल–इरान संघर्षका कारण तेलको मूल्य बढ्नु कुनै अचम्मको कुरा होइन ।
यद्यपि अहिलेको मूल्य एक वर्षअघिको तुलनामा अझै कम नै हो । सन् २०२२ मा युक्रेनमाथि रुसी आक्रमणपछि तेलको मूल्य करिब १३० डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।
त्यसो भए पेट्रोल र अन्य वस्तुको मूल्य बढ्ने हो त ?
जब कच्चा तेलको मूल्य बढ्छ, धेरै मानिसले त्यसको प्रभाव महसुस गर्छन्, किनकि यसले पेट्रोलको मूल्यमा प्रत्यक्ष असर गर्छ । ऊर्जा महँगो हुँदा कृषिदेखि उत्पादनसम्म करिब सबै वस्तु महँगो हुन्छन् ।
खाद्यवस्तुको हकमा ऊर्जा लागत बढ्दा कृषि यन्त्र चलाउने, उत्पादन बजारसम्म लैजाने, प्रशोधन र प्याकेजिङ गर्न महँगो पर्न सक्छ । तर यस्तो अवस्था तबमात्र हुन्छ जब ऊर्जा लागत लामो समयसम्म उच्च रहन्छ ।
यहाँसम्म कि पेट्रोल र डिजेलमा पनि कच्चा तेलको मूल्य वृद्धि सीमित असर पार्ने गर्छ । आर्थिक विश्लेषण संस्था ‘क्यापिटल इकोनमिक्स’ का डेभिड अक्स्ले भन्छन्, “एउटा सामान्य नियमअनुसार तेलको मूल्यमा १० डलर वृद्धिले पेट्रोल पम्पमा करिब ७ पेन्सको वृद्धि हुन्छ ।”
तर केवल तेलसम्म सीमित छैन ।
धेरैलाई रूस–युक्रेन संघर्ष सुरु भएपछि मूल्यवृद्धिको सम्झना हुनेछन् । चिसो क्षेत्रहरूमा धेरै मानिसले आफ्नो घर तताउन ग्यास प्रयोग गर्छन् । गत हप्ता इजरायल–इरान आक्रमणपछि ग्यासको मूल्य पनि बढेको छ । तर अक्स्ले भन्छन्, “यसको प्रभाव भए पनि, त्यो सर्वसाधारण घरमा बिस्तारै मात्र देखिनेछ, किनकि बजारको संरचनाले मूल्य नियन्त्रणमा नियामकको भूमिका पनि समावेश गर्छ ।”
के तेलको मूल्य अझ बढ्न सक्छ ?
कन्सल्टेन्सी र अनुसन्धान संस्था ‘एनर्जी एस्पेक्ट्स’ का भू–राजनीतिक प्रमुख रिचर्ड ब्राञ्ज अहिलेको अवस्था “धेरै महत्वपूर्ण र चिन्ताजनक भएको बताउन्छन् । तर यसको अर्थ यो होइन कि यसको प्रभाव रूस–युक्रेन संघर्ष वा मध्यपूर्वमा भएका अघिल्ला समस्याजत्तिकै ठूलो हुनेछ ।
मुख्य प्रश्न यो हो कि इजरायल र इरान यो संघर्षमा कति लामो समयसम्म अल्झिरहन्छन्, के क्षेत्रका अन्य देशहरू पनि संलग्न हुन्छन्, र के अमेरिका यस तनाव कम गर्न केही कदम चाल्छ कि चाल्दैन ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको के होर्मुज स्ट्रेटमा ढुवानीमा वास्तविक अवरोध हुन्छ कि हुँदैन भन्ने हो । यो जलमार्ग इरानको दक्षिणी किनारामा रहेको छ र यसले विश्वभरको कुल तेल उत्पादनको करिब पाँचौं हिस्सा विश्व बजारसम्म पुर्याउँछ ।
ब्राञ्ज भन्छन्, “यो एउटा साँघुरो बाटो हो, त्यसैले यो विश्व तेल बजारका लागि अत्यन्त संवेदनशील स्थान हो ।”
यो अहिले असम्भव भए पनि इरानले यसअघिपनि होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिँदै आएको छ, र अहिले पहिलेभन्दा यसको सम्भावना बढी देखिएको छ । कोभिडपछि र सन् २०२२ मा युक्रेनमाथि रूसको आक्रमणपछि फेरि ऊर्जा माग बढ्दै थियो । तर अहिले विश्व अर्थतन्त्र कठिनाइमा परेको छ, र साउदी अरेबियादेखि ब्राजिलसम्मका तेल उत्पादकहरूसँग आपूर्ति बढाउने क्षमता छ, जसले मूल्य घटाउन सहयोग गर्न सक्छ ।
विश्व अर्थतन्त्रका लागि यसको के अर्थ हुन्छ ?
ऊर्जाको मूल्य कति महँगो हुन्छ र यसको व्यापक प्रभाव के हुन्छ भन्ने कुरा इजरायल–इरानबीचको संघर्ष अगाडि कति जान्छ भन्नेमा निर्भर गर्छ ।
एसेट म्यानेजर एलियान्जका प्रमुख आर्थिक सल्लाहकार मोहम्मद एल–एरियन भन्छन्, “खराब समयमा विश्व अर्थतन्त्रलाई अर्को खराब झट्का दिनसक्छ । यो अमेरिकाले नेतृत्व गरेको विश्व आर्थिक व्यवस्थाको स्थिरताका लागि अर्को झट्का हो, त्यो पनि यस्तो समयमा जब पहिल्यै धेरै चिन्ताहरू छन् ।”
क्यापिटल इकोनमिक्सको मूल्याङ्कन अनुसार यदि तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुग्यो भने तीव्र रूपमा बढिरहेको अर्थतन्त्रको मुद्रास्फीति एक प्रतिशतले बढ्न सक्छ । जसले ब्याजदर घटाउने अपेक्षा गरिरहेका केन्द्रीय बैंकहरूको समस्यामा पार्न सक्छ ।
तर डेभिड अक्स्लेका अनुसार यस्तो अवस्था आउने सम्भावना धेरै छैन । उनी भन्छन्, “मध्यपूर्वमा अस्थिरता कुनै नयाँ कुरा होइन, हामीले यस्ता धेरै चरण देखेका छौं । यो सबै एक सातामै अन्त्य पनि हुन सक्छ ।”
प्रतिक्रिया दिनुहोस्