काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
कम्पनीले यो महिना ३१ हजार ४८८ वटा एनईभी बिक्री गर्यो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतीपूर्ण प्रथम त्रैमासिक पश्चात्मजबुत पुनरागमनको संकेत गरेको कम्पनीले जनाएको छ ।
चोंगकिङ लियाङ जियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको एनईभी बजारमा बलियो उपस्थिति बनाएको छ । यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडिज–बेन्ज, आदि जस्ता लक्जरी इन्धन गाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ । एम९ ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए । मार्चमा अपडेट गरिएको एम९ को सार्वजनिक वितरणर अप्रिलमा एम८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनः जागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ ।
बिक्रीको तथ्यांकअनुसार जनवरीमा बिक्री १२ हजार ४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६ मा झर्यो । तर एम९ को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनः बढेर १३,१४९ युनिट पुगेको छ ।
अप्रिल १६ मा सार्वजनिक गरिएको एम८, एम७ र एम९ को बीचको मोडल हो र यसको मूल्य ३५९,८०० युआनदेखि ४४९,८०० युआनसम्म तोकिएको छ । लिडर प्रविधि र र्हामोनिओस ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेलले एम९ भन्दा करिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ । सार्वजनिक भएको केही साता भित्रै यसले ७०,००० भन्दा बढी प्री अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ ।
सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४मा ४,२६,८८५ वटा एनईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो । तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ ।
हालसम्म सेरेसले एम८ को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिन छ । यद्यपि प्री अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण एनईभी बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार सन् २०२५ को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन एनईभी बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२ प्रतिशतले बढी हो ।
यो महिनामा चीनमा बिक्री भएका कुल २.५९ मिलियन सवारी साधनहरू मध्ये ४७.३ प्रतिशत एनईभीहरू थिए ।
प्रतिक्रिया दिनुहोस्