Skip to content

औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

nabil bank

काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य निर्वाचित भएका छन्।

राजधानीमा शनिबार सम्पन्न संघको ८औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। यसअघि आचार्य संघको महासचिव थिए।

यस्तै, अधिवेशनबाट संघको दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन्। महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरूमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित भएका छन्।

यसैगरी डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी निर्वाचित भएका छन्। थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्ने निर्वाचन समिति संयोजक लालबहादुर बोहराले जानकारी दिए।

नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ। यसअघि संघको नेतृत्व अञ्जन पुडासैनीले गरेका थिए। कार्यक्रममा बोल्दै (मियान) का नव निर्वाचित अध्यक्ष पवन आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा आफूहरुको साथ नहुने स्पष्ट पारे।

उनले औषधिको मूल्य समायोजन गर्ने कुरामा आयातकर्ताहरू सधैं सकारात्मक रहेको र राज्यलाई साथ दिन तयार रहेको भए पनि पछिल्लो पटक बुझाइएको कार्यादलयको प्रतिवेदनले औषधि आयातमा अंकुश लगाउन खोजिएकोले त्यसको विरोधमा आफूहरू उत्रिएको बताए।

त्यसअघि उद्घाटन सत्रमा संघले आयोजना गरेको कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरोकारवालाको कुरा नसुनी एकपक्षीय रुपमा तयार गरिएको प्रतिवेदन आफैमा अपारदर्शी र न्यायोचित नदेखिएको आरोप लगाएका थिए।

उनले प्रतिवेदनले चिकित्सक वर्गलाई बदनाम गर्न खोजिएको, औषधिको मूल्य बढाउने तत्त्व चिकित्सक भएको जस्तो गरी देखाइएको भन्दै आक्रोश पोखेका थिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिवेदनको बचाऊ गरेका थिए। उनले अनावश्यक र आधारहीन रूपमा औषधि आयातका लागि दबाबा दिने काम भएको आरोप लगाए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime