एजेन्सी । शनिबार राति अमेरिकाले इरानका तीन प्रमुख परमाणु स्थलहरूमा शक्तिशाली आक्रमण गर्दै ती संरचनाहरूमा गहिरो क्षति पु¥याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म कूटनीतिक प्रयासलाई प्राथमिकता दिए पनि, अन्ततः ‘असाधारण सैन्य बल’ प्रयोग गरेर इरानमाथि आक्रमण गरे ।
ट्रम्पले ती स्थलहरू नष्ट गरिएको दाबी गरे पनि इरानी अधिकारीहरूले भने क्षतिको प्रभावलाई कम आँक्ने प्रयास गरेका छन्, जुन यसअघि जुन १३ मा इजरायलले गरेको आक्रमणपछिको प्रतिक्रिया जस्तै हो ।
इरानको सबैभन्दा संवेदनशील र सुरक्षात्मक परमाणु प्रशोधन केन्द्र ‘फोर्दो’ भूमिगत पहाडभित्र करिब ८० देखि ९० मिटर (२६२–२९५ फिट) गहिराइमा रहेको छ । यस्तो गहिरो स्थलमा प्रभाव पार्न सक्ने बंकर–बस्टिङ बम अमेरिकी सेनासँग मात्र रहेको विश्वास गरिन्छ ।
सीएनएनलाई अमेरिकी अधिकारीले बताएअनुसार, ६ वटा बी–२ बमवर्षकले १२ वटा ३० हजार पाउण्डको जीबीयू–५७ बंकर बस्टर बम फोर्दोमा खसालेका थिए । म्याक्सरद्वारा लिइएको स्याटेलाइट तस्वीरहरूमा ६ वटा ठूलो क्र्याटर देखिएका छन्, जुन दुई अलग क्षेत्रका पहाडी भागहरूमा रहेको छ । ती क्र्याटरहरू भूमिगत परिसरमाथि सिधा बनेको देखिन्छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीले भने, “फोर्दोमा प्रत्यक्ष भौतिक प्रभाव परेको छ, तर अन्तरिक क्षति कति भयो भन्ने मूल्यांकन गर्न समय लाग्छ ।”
‘इन्स्टिच्युट फर साइन्स एन्ड इन्टरनेशनल सेक्युरिटी’ का अध्यक्ष डेभिड अलब्राइटले भने, “प्रारम्भिक स्याटेलाइट छविहरूका आधारमा प्रशोधन हल तथा सहायक संरचनामा गहिरो क्षति पुगेको हुनसक्छ ।” उनले भूमिगत प्रशोधन हल पूर्ण रूपमा नष्ट भएको हुनसक्ने बताए ।
हथियार विशेषज्ञ एन.आर. जेनसेन–जोन्सले पनि फोर्दोमा कम्तीमा ६ वटा प्रवेश बिन्दुहरू बनेको पुष्टि गरे । उनले भने, “धेरैवटा बम एउटै स्थानमा प्रहार गरिएको देखिन्छ, जुन गहिरो लक्ष्यमा पुग्न अनेक बमहरू संयोजनमा खसालिएको संकेत हो ।”
साथै, पहाडी क्षेत्रमा राखिएको छायाँचित्रमा ठूलो भाग खरानीले ढाकिएको देखिएको छ । पूर्वसतर्कताका रूपमा इरानले सुरुङ प्रवेशद्वारहरूमा माटो थुपारेर सुरक्षात्मक उपाय लिएको देखिएको छ ।
यद्यपि इरानका परराष्ट्रमन्त्रीले अमेरिकी आक्रमण ‘लाल रेखा’ पार गरेको बताएका छन्, फोर्दो नजिकको शहर कुमका सांसद मानन राइसीले भने आक्रमणको असर ‘सतही’ मात्र भएको प्रतिक्रिया दिएका छन् । तर, अलब्राइटले भने इरानी भनाइहरूलाई अस्वीकार गर्दै स्याटेलाइट विवरणहरूले पूरै भिन्न यथार्थ देखाउने दाबी गरे ।
इरानको सबैभन्दा ठूलो युरेनियम प्रशोधन केन्द्र नताञ्जमा इजरायली आक्रमण जुन १३ मा भएको थियो । उक्त साइटमा ६ वटा माथिल्लो भवन र ३ वटा भूमिगत संरचना छन् ।
इजरायली आक्रमणले माथिल्लो संरचनामा क्षति पु¥यायो भने भूमिगत संरचनाको अवस्थाबारे ठोस विवरण आउन बाँकी छ । उक्त आक्रमणले भूमिगत हलसम्म बिजुली प्रवाह रोकिएपछि केन्द्रिफ्युजहरूमा असर परेको हुनसक्छ ।
शनिबार रातिको अमेरिकी आक्रमणमा बी–२ बमवर्षकले २ वटा बंकर–बस्टिङ बम खसालेको थियो भने अमेरिकी नेभीको पनडुब्बीबाट नताञ्ज र इस्फाहानमा ३० वटा टिएलएमएम क्रुज मिसाइल प्रहार गरिएको थियो ।
म्याक्सरद्वारा जारी तस्बिरअनुसार, नताञ्जमा दुईवटा नयाँ क्र्याटर देखिएका छन् । एक करिब ५.५ मिटर र अर्को ३.२ मिटर व्यासका छन् – जुन भूमिगत संरचनामाथि परेका हुन् । तर, भूमिगत संरचनामा क्षति कति भयो भन्ने यकिन गर्न बाँकी छ ।
इस्फाहान इरानको सबैभन्दा ठूलो आणविक अनुसन्धान केन्द्र हो, जुन १९८४ मा चीनको सहयोगमा स्थापना गरिएको हो । यहाँ करिब तीन हजार वैज्ञानिक कार्यरत छन् ।
अमेरिकी आक्रमणपछि स्याटेलाइट तस्वीरहरूमा कम्तीमा १८ वटा संरचना पूर्ण वा आंशिक रूपमा ध्वस्त देखिएका छन् । संरचनाहरू कालो रंगले ढाकिएको देखिएको छ, जसले विस्फोटको ठूलो प्रभाव देखाउँछ ।
अलब्राइटका अनुसार, इस्फाहान नजिकको सुरुङ संरचनाहरू पनि लक्ष्य बनाइएको हुनसक्छ, जहाँ २० प्रतिशत र ६० प्रतिशतसम्म प्रशोधित युरेनियम राखिएको आशंका गरिएको छ । यदि यस्तो पुष्टि भएमा, अमेरिका इरानको संवेदनशील युरेनियम भण्डारलाई निशाना बनाएको प्रमाणित हुन्छ ।
प्रतिक्रिया दिनुहोस्