एजेन्सी । ओभरनाइट डेलिभरी उद्योगको जग बसाल्दै विश्वव्यापी व्यापार तथा उपभोक्ता प्रणालीमा क्रान्ति ल्याउने फेडएक्सका संस्थापक फ्रेड स्मिथको ८० वर्षको उमेरमा निधन भएको छ । कम्पनीले एक विज्ञप्तिमार्फत उनको निधन पुष्टि गरेको हो ।
फेडएक्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राज सुब्रमण्यमले स्मिथलाई सम्झिँदै भने, “फ्रेड केवल उद्योगका अग्रणी र हाम्रो महान कम्पनीका संस्थापक मात्र होइनन्, उनी फेडएक्सको मुटु र आत्मा थिए, हाम्रो पिएसपी संस्कृति, मूल्य, नैतिकता र आत्मासाथ, उहाँ धेरैको लागि गुरु र सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”
स्मिथले फेडएक्सको अवधारणा येल विश्वविद्यालयमा अध्ययनकै क्रममा बनाएका थिए । त्यतिबेला उनले समय–सम्वेदनशील सामानहरुका लागि नयाँ ढुवानी प्रणालीको प्रस्ताव राख्दै लेख लेखेका थिए, जसमा उनलाई केवल औसत ग्रेड प्राप्त भएको थियो ।
उनले सन् १९७१ मा अर्कान्सासको लिटिल रकबाट फेडरल एक्सप्रेस नामक कम्पनीको स्थापना गरे । दुई वर्षपछि, सन् १९७३ मा, कम्पनीले टेनेसीको मेम्फिसबाट आफ्नो सेवा सुरु ग¥यो । सुरुमा १४ वटा विमान र ३८९ कर्मचारीमार्फत २५ अमेरिकी शहरमा १८६ प्याकेज पु¥याइएको थियो ।
समयसँगै कम्पनीले बिस्तारै आफ्नो दायरा बढाउँदै गयो । दुई वर्ष लामो प्रयासपछि हवाई मालवाहन सेवा नियमन खुकुलो भएपछि कम्पनीले पहिलो सात बोइङ ७२७ विमान किनेको थियो । साथै, कम्पनीले विभिन्न सेवा विस्तार गर्न अनेकौं कम्पनीहरु खरिद गर्दै गयो । उनले किङ्कोको फोटोकपी केन्द्रहरु खरिद गरी ‘फेडएक्स अफिस’को नाममा सेवा सुरु गरेका थिए ।
सन् २०२२ मा प्रमुख कार्यकारी पदबाट अवकाश लिँदै कर्मचारीलाई लेखेको पत्रमा स्मिथले भनेका थिए, “हामी एउटा सानो स्टार्टअप थियौं र हामीप्रति शंका गर्नेहरु पनि थिए । तर, पहिलो रातको सेवा नै विश्वभर मानिस र सम्भावनालाई जोड्ने प्रणालीको सुरुवात बन्यो, जसले हाम्रो संसारलाई सकारात्मक रूपमा परिवर्तन ग¥यो ।” अवकाशपछि पनि स्मिथ कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा रहेका थिए ।
सन् १९४४ मा मिसिसिपीको माक्र्समा जन्मिएका स्मिथले चार वर्ष अमेरिकी मरीनमा सेवा गरे । दुईपटक भियतनाममा खटिएपछि स्वदेश फर्किएर उनले कम्पनी स्थापना गरेका थिए । फेडएक्स अहिले करिब ९० अर्ब डलरको वैश्विक ढुवानी साम्राज्यका रूपमा २२० देश र भूभागमा सेवा प्रदान गर्दै आइरहेको छ ।
पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू. बुसले स्मिथप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने, “उनी हाम्रो पुस्ताका महान अमेरिकी नागरिकमध्ये एक थिए । उनले अर्थतन्त्रलाई बलियो बनाउने कम्पनी निर्माण गरे। फेडएक्सले हामी कसरी बाँच्दछौं र व्यापार गर्छौं भन्ने तरिकालाई नै परिवर्तन ग¥यो ।”
बुसले स्मिथसँग दुईपटक रक्षा सचिवको भूमिकाका लागि आग्रह गरे पनि उनले आफ्नो परिवारप्रतिको समर्पणका कारण अस्वीकार गरेको उल्लेख गरेका छन् । उनले स्मिथकी पत्नी डायन, छोराछोरी तथा नातिनातिनीहरूमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्