काठमाडौं । नेपाल प्रहरीका लेखापालहरु नेतृत्वसँग रुष्ट भएका छन् । प्रहरीले असईदेखि वरिष्ठ सई सम्मलाई विभिन्न समयमा आवश्यकताअनुसार लेखापालको तालिम दिने गरेको छ । अघिल्ला वर्षहरुलमा प्रहरीले लिएको तालिमअनुसार तालिम प्राप्त प्रहरीलाई जिम्मेवारी दिने गरेको थियो । तर, पछिल्लो डेढ दुई वर्षयता पहिला तालिम गरेर बसेकाहरुलाई भूमिका नदिइ नयाँ तालिम गरेकाले अवसर पाउने गरेको गुनासो गरेका छन् ।
अहिले पहिला नै तालिम गरेर बसेकाहरुले लेखापाललाई भूमिका दिँदा लेखासम्बन्धी तालिम गरेको वा सेवा प्रवेश गरेको वा भर्ना मितिको आधारमा भूमिका दिनुपर्ने माग गरेका छन् । अहिले प्रहरीले लेखापाललाई सिनियर दर्जाको आधारमा खटाउने गरेको छ । यतो हुँदा पहिला तालिम गरेर बसेकाले अवसर नपाउने समस्या बढेको छ ।
‘पहिला तालिम गर्नेले पछि अवसर पाउने र पछि तालिम गर्नेले पहिला नै अवसर पाउने गरेका छन्’, एक प्रहरी अधिकृतले भने, ‘पहिला तालिम गरेर बसेकामध्ये धेरै व्यक्तिहरु भूमिका नपाइ बसेका छन् । पछि तालिम गर्नेहरुले तुरुन्तै भूमिका पाउनेछन् ।’
प्रहरी नेतृत्वले सबैलाई समान अवसर दिने हो भने सेवा प्रवेश गरेको, भर्ना भएको मितिलाई आधारमा गर्नुपर्ने उनको सुझाव छ ।
यता नेपाल प्रहरीका प्रवक्ता एंव डिआईजी विनोद घिमिरेले सिस्टमले चलेको संगठनमा त्यस्तो नहुने बताए । प्रहरी संगठनमा ४९४ वटा बजेट चल्ने कार्यालय रहेको र कहीँ कतै पनि त्यस्तो समस्या नरहेको उल्लेख गरे । उनले कसैले पनि म ठूलो पदको हो भनेर पहिला भूमिका नपाउने बताए । घिमिरेका अनुसार तालिमका आधारमा भूमिका दिने गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्