काठमाडौं । करिब १० वर्षदेखि अलपत्र पर्दै आएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले छलफलका लागि विधेयक प्रस्तुत गरेका थियो । छलफलपछि उनले विधेयक पारित गरियोस् भनेर गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतका साथ पारित गरेको हो ।
विधेयक पारित हुनुअघि सभामा उठेका प्रश्नहरूमाथि मन्त्री गुप्ताले जवाफ दिए । त्यसक्रममा उनले नेपालको संविधान २०७२ को धारा २८५ बमोजिम निजामती सेवा विधेयक आएको जानकारी दिए । विधेयक ऐनमा रूपान्तरण भएपछि प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न सहज हुने उनको भनाइ थियो ।
विधेयक पारित गर्नुअघि भएको छलफलमा सांसदहरू अमनलाल मोदी, जानर्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, रञ्जुकुमारी झा, डा अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहालले विधेयकमा गरिएका विभिन्न व्यवस्थाबारे आ–आफ्नो धारणा व्यक्त गरे ।
यस्तै, शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवाल, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ, चित्रबहादुर केसी, दीपा शर्मा र प्रभु साहलगायतले पनि उक्त छलफलमा सक्रिय सहभागिता जनाए ।
छलफलका क्रममा सांसदहरूले विगत नौरदश वर्षदेखि अलपत्र परेको विधेयकलाई सुदृढीकरण गरी दीर्घकालीन महत्वका विषयहरूसमेत समावेश गरी राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतरूपमा पारित गराइ प्रतिनिधि सभामा पेस गरेका मन्त्री गुप्ताको उच्च प्रशंसा गर्दै धन्यवाद तथा बधाई ज्ञापन गरे । सङ्घीय निजामती सेवा विधेयक ऐनका रूपमा आउँदा मुलुकको सङ्घीयता कार्यान्वयनमा ‘पोलिसी डिपार्चर’ हुने उनीहरूको विश्वास छ ।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनस् प्रतिनिधि सभामा आउँछ र सभामुख देवराज घिमिरे हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएपछि ऐनका रूपमा कार्यान्वयनमा आउने छ ।
मन्त्री गुप्ताको एकसुत्रीय अभियान
निजामती सेवा ऐन नहुँदा मुलुकमा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको थिएन । त्यही विषयलाई दृष्टिगत गरी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीका रूपमा पदवहाली गर्दै आफ्नो कार्यकालमा यो विधेयक कुनै पनि मूल्यमा पारित गराउने प्रतिबद्धता व्यक्त गरे । आफ्नो प्रतिबद्धता पूरा गराउन उहाँले यो बीचमा विधेयकको विकासका लागि निरन्तरको पहल र दृढ इच्छाशक्ति प्रदर्शन गर्दै आएका थिए ।
राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना गर्न र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका निम्ति आवश्यक यो विधेयकलाई टुङ्गोमा पुर्याउन आफूले मन्त्रालयका कयौँ कामहरू थाती राख्दै समय व्यवस्थापन गरिएको मन्त्री गुप्ताको भनाइ छ । ‘निजामती विधेयकलाई ऐनका रूपमा रुपान्तरण गरानु मेरो मुख्य उद्देश्य थियो । यसका लागि मैले आफ्नो र मन्त्रालयका अन्य कैयन कायमहरूलाई थाती राखेर पनि समय व्यवस्थापन गरेँ,’ मन्त्री गुप्ताले भने, ‘यसबाट मैले नेतृत्व गरेको मन्त्रालयको काम देखिने मात्र नभइ मुलुकको व्यवस्थालाई नै डिर्पाचर गराउने हुँदा मेरो अर्जुनदृष्टि सधैं यो विधेयकमा परिरह्यो ।’
मन्त्री गुप्ताका अनुसार १३ परिच्छेद १४७ वटा दफा रहेको यो विधेयकउपर १२४ दर्ता समूहबाट १३० जना सांसदले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गराए । उक्त प्रस्तावमाथि राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिसमेत बनाएर व्यापक छलफल गरेको थियो । त्यसक्रममा प्रशासन विज्ञ, लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगहरू, निजामती कर्मचारी ट्रेड युनियन, प्रशासनिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति–व्यक्तित्वहरू, पूर्वप्रशासकहरू, कानुनविद्, राष्ट्रसेवक कर्मचारीहरू तथा प्रदेश सरकार र विभिन्न सरोकारवाला पक्षहरूसँग व्यापक छलफल गरी सुझाव ग्रहण गरिएको थियो ।
छलफलपछि गत जेठ २ गते बसेको समितिको ७३औँ बैठकले सर्वसम्मतरूपमा विधेयक पारित गरेको थियो । यो विधेयक जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरिए पनि नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका कारण अगाडि बढ्न पाएको थिएन । लामो कसरतपछि नयाँ आयामसहितको सङ्घीय निजामती सेवा विधेयक यही असार १ गते प्रतिनिधि सभामा पेस गरिएको थियो ।
विधेयक संसदमा पेस भइसकेपछि पनि कुलिङ अफ पिरियडको व्यवस्था हटाउन निजामती कर्मचारीका उच्च अधिकारीहरूले मन्त्री गुप्तासहित सरकारलाई नै उच्च दबाब दिँदै आएका थिए । त्यसबीचमा मन्त्री गुप्ताले संसदमै कयौँ प्रश्नहरूको जवाफ दिनुपरेको थियो । त्यसक्रममा उहाँले दृढ अडानका साथ भन्नुभएको थियो, ‘कुलिङ पिरियड वा अरु कुनै पनि व्यवस्थाको परिमार्जन हुन सक्दैन, कमा (अल्पविराम) र फुलस्टप (पूर्णविराम) पनि परिवर्तन हुँदैन ।’
अनेक दबाब र झमेलाहरूबाट विचलित नभइ उनले आफ्नो प्रतिद्धतालाई निष्कर्षमा पुर्याए । यसले उनलाई ऐतिहासिक सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रूपमा उभ्याएको छ । संविधानपछिको ठूलो र महत्वपूर्ण विधेयक पारित गराउन सफल हुनुले उनको राजनीतिक क्षमतामा समेत विश्वास बढाएको छ ।






प्रतिक्रिया दिनुहोस्