काठमाडौं । सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसर खुमलटारमा आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । आयोजित महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले रोपाइँ गरेका छन् ।
आज ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ यो दिवस मनाइँदै छ।
किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो । धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ । चालु आर्थिक वर्षकको ११ महिनामा झन्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ ।
चालु आर्थिक वर्ष २०८१/८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।

काठमाडौँ उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित सहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन् । उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ ।
खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ । काठमाडौँ उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराईको प्रभावले खेती योग्य जमिन बाजो भएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्