Skip to content

फास्ट्रयाकसँगै डुकुछाप, सोखेलको जग्गामा आकर्षण, अन्य के के छन् आकर्षण ?

nabil bank

काठमाडौं । एउटा निश्चित तहमाथी आम्दानी भएपछि काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न चाहने मन कसको नहोला र ?

कतिपय मानिसले घर जग्गा खरिद गर्नका लागि आफ्नो जीवनभरको कमाइ समेत लगानी गर्न पछि पर्दैनन् । त्यसका लागि घर जग्गा मात्रै भएर पनि हुँदैन । घर जग्गा भएको स्थान, त्यहाँको वातावरण, सेवा, सुविधाले गर्दा पनि लगानी गर्नेलाई लगानीका लागि मन प्रफुलित बनाउँछन् ।

अहिले मानिसले जग्गामा लगानी गर्ने र केही समयपछि मूल्य बढेपछि नाफा लिएर पनि बिक्री गर्ने गरेका छन् । काठमाडौंमा जग्गाको जग्गाको मूल्य उच्च छ । जसका कारण घर जग्गा लिन चाहनेलाई समस्या भने देखिन्छ ।

काठमाडौं उपत्यकाभित्रैका केही उपल्लो भेगमा जाने हो भने भनेजस्तो जग्गा पाउन मुस्किल छैन । डुकुछाप, सोखेल, फर्सिडोल अहिले जग्गामा लगानी गरेर भविष्य देख्नेहरु तथा अहिले लगानी गरेर केही समयमा नै फाइदा लिनेहरुका लागि उपयुक्त गन्तव्य बनिरहेको छ ।

यहाँ राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्रयाक) अन्तिम चरणमा छ । यस आसपासका क्षेत्रहरूमा घरजग्गा कारोबारको चहलपहल अत्यधिक बढेको छ । चक्रपथबाट करिब ७ किलोमिटर टाढा पर्ने डुकुछाप, सोखेल र फर्सिडोल केही वर्षमै काठमाडौं उपत्यकाको सुन्दर क्षेत्र बन्ने निश्चित छ । सरकारको स्मार्ट सिटीको योजनामा परेको र भविष्यको आँकलन गर्नसक्नेहरुका कारण अहिले यी क्षेत्रका जग्गा खरिदकर्ताको प्रमुख रोजाइमा परेका छन् ।

प्रोजेक्ट स्टेट्स स्मार्ट सिटी इन्भेष्टमेन्टका निर्देशक विनय देवकोटा अनुसार, सामान्यतः जेठ, असार, साउन र भदौलाई कारोबारको अफ सिजन मानिए पनि अहिले यिनै महिनामा सो क्षेत्रको जग्गाको जानकारी लिनका लागि अत्यधिक फोन आउने गरेको छ ।

उद्योगी, व्यवसायी, र व्यक्तिगत लगानीकर्ताहरू द्रुतमार्ग निर्माणको अन्तिम चरणमा पुगेसँगै भविष्यको सम्भावना देखेर ती क्षेत्रहरूमा वेयरहाउस, व्यवसायिक प्रयोजन र उच्चस्तरीय आवासका लागि आकर्षित भएका छन् । भैसेपाटी आवास क्षेत्र र मेडिसिटी अस्पताल नजिक भएकाले नवधनाढ्य वर्ग, राजनैतिक नेताहरू र अस्पतालजस्ता सुविधासम्पन्न पूर्वाधारको पहुँचलाई ध्यानमा राखी धेरैको ध्यान त्यता तानेको छ ।

सिचाईको राम्रो पूर्वाधारका साथै आफ्ना बालबच्चा पढाउनका लागि युलेन्स, सेन्ट जेभियरजस्ता स्कुलहरु समेत सो क्षेत्रबाट एकदमै नजिकमा रहेका छन् । डुकुछाप क्षेत्र अहिले प्रारम्भिक विकास अवस्थामा रहेको उदीयमान क्षेत्र हो । उद्योगी, राजनीतिक व्यक्ति र ठूला व्यवसायीहरूले यहाँ प्लटहरु खरीद गरिरहेका छन् ।

भविष्यको स्मार्ट सिटी क्षेत्र

डुकुछाप, फर्सिडोल र सोखेल क्षेत्रलाई समेटेर स्मार्ट सिटीको अवधारणा अगाडि बढाइएको छ । व्यवस्थित प्लटिङ, सडक विस्तार, वातावरणमैत्री योजना आदिका कारण भविष्यमा यो क्षेत्र काठमाडौंको अर्को भैसेपाटी’ वा बूढानीलकण्ठ बन्ने सम्भावना छ ।

केही वर्षअघि प्रतिआना ६–८ लाखमा कारोबार हुने जग्गा अहिले प्लटिङ भएपछि १४ लाखभन्दा बढीमा बेचिँदैछ । अझै निर्माण सकिन बाँकी फास्टट्रयाक पूरा भएपछि मूल्य दोब्बर–तेब्बर हुने सम्भावना बलियो छ । काठमाडौँको मुटुबाट नजिकै भएकाले दैनिक यात्रा गर्न सजिलो छ भने पूर्वाधारका हिसाबलेसमेत भविष्यमा समेत ट्राफिक जामको समस्या पनि तुलनात्मक रूपमा कम हुनेछ ।

खोकनाको इन्ट्री पोइन्ट डुकुछापतिर

स्थानीयको मागलाई सम्बोधन गर्दै सरकारले फास्टट्रयाकको खोकना इन्ट्री पोइन्टलाई फर्सिडोल–डुकुछाप क्षेत्रमा सार्ने तयारी थालेपछि सो क्षेत्रमा लगानीकर्ताको आकर्षण झनै बढेको छ । खोकनामा प्रस्तावित बसपार्क समेत डुकुछापतिर सार्ने सरकारी योजनाले अझ बढी सेवा सुविधा थपिने सम्भावना देखिएको छ । जसले गर्दा यातायात र व्यापारिक पहुँचको दृष्टिकोणले डुकुछाप रणनीतिक केन्द्र बन्दैछ । फास्टट्रयाक सकिएपछि काठमाडौँदेखि तराईसम्मको यात्रा अत्यन्त छोटो हुनेछ, जसले व्यापारिक तथा औद्योगिक गतिविधि बढाउनेछ । बसपार्कसँगै अन्य पूर्वाधार जस्तै सडक, बिजुली, ढल निकास, खानेपानी आदिको पहुँच तीव्र रूपमा विस्तार हुँदैछ ।

मूल्य कति ?

डुकुछाप, सोखेल क्षेत्रमा जग्गा किन्नुपर्ने सबैभन्दा उपयुक्त कारण यहाँ जग्गाको मूल्य कम हुनु पनि हो । रिङरोडदेखि उही दूरीका काठमाडौंका अन्य क्षत्रेमा जग्गाको मूल्य २०–२५ लाखको हाराहारीमा भएपनि यहाँ आधाभन्दा कम मूल्यमै जग्गा विक्री भइरहेको छ ।
पहिले न्यूनतम मूल्यमा कारोबार भइरहेको जग्गाको मूल्य हाल तीव्र रूपमा बढेको छ । तर अहिलेपनि डेभलप नभएको सामान्य जग्गा प्रतिआना ६ देखि ८ लाखमा कारोबार भइरहेको छ भने प्लटिङ गरिएको जग्गा प्रतिआना १४ लाख रुपैयाँभन्दा माथि छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दो आकर्षणले मूल्य केही बढेपनि अझैपनि यो क्षेत्रमा तुलनात्मक रुपमा जग्गाको मूल्य निकै सस्तो छ ।

फास्टट्रयाक निर्माणको अन्तिम चरण, सरकारी पूर्वाधारका ठूला योजनाहरू, र सुविधायुक्त स्थानको पहुँचले डुकुछाप, सोखेल र फर्सिडोल क्षेत्रलाई आगामी वर्षहरूमा काठमाडौं उपत्यकाभित्रकै एक प्रमुख आवासीय र व्यवसायिक केन्द्रको रूपमा विकास गराउने निश्चित देखिन्छ । डुकुछाप काठमाडौं उपत्यकाकै तीव्र गतिमा विकसित हुँदै गरेको क्षेत्र हो, जहाँ हालको अवस्थामा लगानी गर्नु बुद्धिमानीपूर्ण निर्णय हुन सक्छ । विशेषगरी फास्टट्रयाक परियोजना, बसपार्क स्थानान्तरण, र स्मार्ट सिटी योजनाहरूका कारण यहाँको सम्भावना रहेको बताइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime