प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंसँग नियामक निकायमा समेत काम गरेको अनुभव छ । अहिले प्रभु महालक्ष्मी लाइफमा सीईओ रहेका प्रसाईं चार्टर्ड एकाउन्टेन्स समेत हुन् । प्रभु र महालक्ष्मी लाइफले मर्जर गरेको दुईवर्ष पुरा हुन लागेको छ । बीमा क्षेत्रमा मर्जर अनुभव तथा बीमा बजारको विषयमा लगानीन्यूजका लागि प्रसाईंसँग सोभित थपलियाले गरेको कुराकानी
दुई संस्थाको मर्जरपछि काम गर्दा कस्तो अनुभव भइरहेको छ ?
मैले अनुभव गरेको यो पहिलो मर्जर हो । नेपालमा कम्पनीहरुको सम्पत्तिको मूल्यांकन सँगै भावनात्मक लगावका आधारमा पनि मर्जर भएका उदाहरण छन् । त्यसैले कहिलेकाहीँ नेटवर्थ गौण बनिदिन्छ । मर्जरका सन्दर्भमा हामीलाई पनि सुरुमा यो चुनौतीपूर्ण लागेको थियो । फरक–फरक ठाउँका मानिसहरुलाई एकै ठाउँमा ल्याउन समय लाग्ने रहेछ । एउटा कम्पनीको मानिस एउटा कल्चरबाट र अर्को कम्पनीको मानिस अर्को कल्चर बाट आएका हुन्छन । दुवै एकै ठाउँमा आउँदा के नमिलेको नमिलेको जस्तो हुने रहेछ । कम्पनी गाभिए पछि कतिपय फस्र्ट म्यान (प्रमुख) हरू सेकेन्ड म्यान(उपप्रमुख) बन्नु पर्यो । त्यसैले शाखा प्रबन्धकहरूलाई भने असर पर्ने रहेछ शाखा प्रमुख भई काम गरिसकेकाले उपप्रमुख भई काम गर्न असहज महसुस गर्न रहेछ । प्रमुखका लागि सीमित पदहरू मात्र उपलब्ध हुने भएकाले सो मिलाउन कठिनाई हुने रहेछ ।
मर्जरको प्रक्रियामा रहँदा हामि करिब ६ सय कर्मचारी एकै ठाउँमा हुने अवस्था थियो । त्यसैले कतिपयले त मर्ज हुनुभन्दा अगाडि आफै छाडेका थिए । मर्जपछि पनि हामी करिब चार सयको हाराहारीमा कर्मचारीहरु भयौ । मर्जरपछि अघि बढ्ने विषयमा नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुने रहेछ । यद्यपि, अहिले हामि सो मिलान गरी लयमा आइरहेका छौं ।
दुई कम्पनी मर्ज भएर एकै कम्पनीबाट कारोबार सुरु गर्दा के कस्ता चुनौती देखिने रहेछन् ?
दुईवटा कम्पनी एकै ठाउँ आउँदा दुईवटा कल्चर हुने समस्या ठूलो एव प्रमुख नै थियोभन्दा फरक पर्दैन । त्यसको व्यवस्थापनमा हामी सफल भयौँ । कम्पनी मर्ज हुनुभन्दा अघि नै कोरोनाको प्रभावले बीमा व्यवसायमा कमी आइरहेको अवस्था थियो । मर्जको अघिल्लो वर्षनै १ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थियौं भने मर्जरपछिको पहिलो वर्ष त्यसको हाराहारी मात्र भइयो । मर्जरपछिका पहिलो पाँच महिनाको समय चुनौतीपूर्ण रह्यो । व्यावसायिक हिसाबले मर्जमा गएका अन्य कम्पनी नै हेरियो भने पनि उनीहरुको बीमाशुल्क २४/२५ प्रतिशतले घटेको अवस्था थियो ।
तत्कालीन समयमा हामी दुई प्रतिशतले मात्र पछाडि भयौँ । तर, मर्जरको केही समय मात्र पछि भने हामीले राम्रो प्रगति गरेका छौँ । अहिले हेर्ने हो भने हामी मर्जर पछिको पहिलो वर्षको व्यवसायको तुलनामा ५१ प्रतिशतको वृद्धिमा छौँ । त्यसको पछाडि हाम्रो टर्म वर्क नै मुख्य हो । मर्जपछि स्थायित्व हासिल गर्न (अथवा स्थिर हुन)केही समय लाग्ने रहेछ, जुन प्रक्रिया भावनात्मक र मनोवैज्ञानिक दुवै रूपमा जोडिएकोले केही विशेष अनुभव हुने रहेछ ।
कुनै पनि क्षेत्रमा नेतृत्व गर्नेले फराकिलो सोच राखेर अघि बढेमात्रै सफलता प्राप्त गर्न सकिन्छ र त्यसले मात्रै सकारात्मक परिणाम दिन्छ
मर्जपछिको २ प्रतिशत घटेको व्यापार अवस्थाबाट कसरी पुरानै अवस्थामा आउनुभयो ?
बीमा क्षेत्रमा मर्ज भएका पाँचैवटा कम्पनीहरू घट्दो अवस्थामै थिए । त्यसको केही असर हामी माथि पनि पक्कै परेको हो । हाम्रो पोर्टफोलियो सन्तुलनमै रहेको जस्तो अनुभव भएको थियो । नेतृत्व सम्हालेपछि मैले अघिल्लो नेतृत्वबारे न त राम्रो भनेको छु, न त नराम्रो- किनभने सबैको काम गर्ने तरिका आ-आफ्नै हुन्छ ।
मैले नयाँ अर्को कम्पनीको कर्मचारी ल्याउँदा, उसलाई नयाँ अनुभव हुन्छ । तर ममा कर्मचारीहरुलाई ‘यो तपाईंहरूको कम्पनी हो, र म तपाईंहरूको नेतृत्वकर्ता हुँ’ यो कम्पनी राम्रो हुँदा हामी सबैको राम्रो हुन्छ भन्ने सन्देश तल्लो तह सम्म पुर्याउन सके त्यो सोचले पनि सकारात्मक परिणाम दिन सक्ने भन्ने विश्वास थियो । किनभने कुनै पनि क्षेत्रमा नेतृत्व गर्नेले फराकिलो सोच राखेर अघि बढेमात्रै सफलता प्राप्त गर्न सकिन्छ र त्यसले मात्रै सकारात्मक परिणाम दिन्छ भन्ने मैले बुझेको थिएँ ।
सुरुमा हामीलाई लाग्यो कि समस्या कर्मचारीहरूमा हो । तर पछि बुझियो- सबैभन्दा ठूलो चुनौती त एजेन्सी क्षेत्रमा रहेछ । एजेन्सीका साथीहरूको आफ्नै मनोविज्ञान र भावनात्मक लगाव हुँदोरहेछ। कसैले पनि सीईओ वा अरूका लागि होइन, आफ्नो लागि काम गर्ने रहेछन् । त्यस्तो भावना दिलाउन सक्नु जरुरी रहेछ ।
यस कम्पनीमा काम गर्ने जो–कोहीका लागि राम्रो अवसरहरू छन्, तर त्यसका लागि मेहनत गर्नुपर्छ । यहाँ पदोन्नति पाउन आफ्नो मान्छे हुनैपर्छ भन्ने धारणा हट्नुपर्छ । कम्पनीको प्रमुख कार्यकारीको हैसियतले मलाई सबै कर्मचारी समान लाग्छन् । कसले कति समय काम गर्यो भन्ने होइन, कसले कस्तो काम गरिरहेको छ र उसको काम गराई परिणाम उन्मुख छ कि छैन भन्ने नै मुख्य कुरा हो ।
प्रतिफलका हिसाबले कस्तो छ ? आगामी दिनमा रणनीति कस्तो हुन्छ ?
अहिले हामीले लाभांश पनि राम्रै दिएका छौं । तीन वर्षदेखि करबाहेक करिब ८-९ प्रतिशत लाभांश राम्रो हो । हिजोका दिनमा ७० देखि ८० प्रतिशत फन्डको प्रतिफल १० देखि ११ प्रतिशत को हाराहारीमा थियो । अहिलेको अवस्था फरक छ । केही समय अघिसम्म १३ प्रतिशतमा राखेको मुद्दतीमा अहिले ४-५ प्रतिशत ब्याज पनि पाउन मुस्किल हुने अवस्था छ ।
हाल बैंकहरूले समेत मुद्दतीमा निक्षेप लिन अनिच्छा देखाइरहेका छन् । यस्तो पृष्ठभूमिमा हामीले हाम्रो रणनीतिहरूमा केही फेरबदल गर्नुपर्ने आवश्यकता देखिएको छ । अबको दिनमा उच्च प्रतिफल दिने प्रडक्टहरू (हाइ इल्ड प्रोडक्ट) बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।
कम्पनीको मुख्य आम्दानीका क्षेत्रहरु दुईवटा हुन्छन्- इन्भेस्टमेन्ट प्रोफिट र अन्डरराइटिङ प्रोफिट । इन्भेस्टमेन्ट प्रोफिट लगानीबाट प्राप्त हुने नाफा हो भने अन्डरराइटिङ प्रोफिट बीमा व्यवसायबाट आउने सरप्लस हो । अहिले यी क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने समय आएको छ । विशेषगरी हामीले अन्डरराइटिङ प्रोफिट सुधार गर्नका लागि विभिन्न उपायहरू अपनाइरहेका छौँ । दाबी व्यवस्थापन प्रणालीलाई डिजिटल माध्यमबाट थप पारदर्शी र प्रभावकारी बनाउने जस्ता रणनीति समावेश छन् । यस्ता उपायले कम्पनीको दाबी अनुपातलाई सन्तुलित राख्दै दीर्घकालीन लाभ सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास छ ।

हामी केही टर्म प्रडक्ट (म्यादी बीमालेख)हरु ल्याउने तयारीमा छौं । अहिलेको प्रतिफल कायम राख्न रणनीतिक रूपान्तरण आवश्यक देखिएको छ । विगतमा हामीले ४/५ वर्षको अन्तरालमा मात्र यस्तो चुनौती देखेका थियौं । त्यसबेला बैंकको ब्याजदर ११ प्रतिशतबाट ५ प्रतिशतमा झरेको थियो, तर त्यो धेरै समयको लागि भएन । अहिले लगभग डेढ वर्षदेखि ब्याजदर ११/१२ प्रतिशतबाट घटेर साढे ३ प्रतिशतसम्म आइपुगेको छ, र यो अझै कति समय रहने हो थाहा छैन ।
नेपाल राष्ट्र बैंकले नीति सहज बनाउँदा जनसाधारणसँग नगद उपलब्ध भयो, बैंकमा निक्षेप थुप्रियो। तर, कर्जाको प्रवाह भने बढ्न सकेको छैन । कतिपय बैंकहरूले सात वर्षका लागि ७/८ प्रतिशतको फ्ल्याट रेटमा कर्जा दिन थालेका छन्, तर त्यसले पनि कर्जाको मागमा खास वृद्धि ल्याएको छैन । त्यसैले, अहिलेको ब्याजदर बढने सम्भावना कम छ । विगतझैँ पुनः चाँडै बढ्ने संकेत पनि देखिएको छैन ।
हामीले हाम्रो रणनीतिहरूमा केही फेरबदल गर्नुपर्ने आवश्यकता देखिएको छ । अबको दिनमा उच्च प्रतिफल दिने प्रडक्टहरू (हाइ इल्ड प्रोडक्ट) बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ
बीमा कम्पनीको आम्दानीको एउटा हिस्सा ब्याजदर पनि हो । बीमा प्राधिकरणले विभिन्न क्षेत्रमा लगानीका लागि बाटो खोलिदिएको छ । तर, बीमा कम्पनीको मुख्य हिसा बैंकको मुद्दतीमा नै हुन्छ। घट्दो ब्याजदरले असर त पारे नेपालमा हाल बिक्री भइरहेका अधिकांश जीवन बीमा प्रडक्टहरू पार प्रडक्ट हुन्, जसलाई पार्टिसिपेटिङ पोलिसी पनि भनिन्छ । यस्ता प्रडक्टमा बीमालेखधारीहरूले कम्पनीको नाफामा सहभागी हुने सुविधा पाउँछन् ।
जब ब्याजदर ११/१२ प्रतिशत जति थियो, त्यो बेला हामीलाई धेरै चिन्ता थिएन । किनभने हामीले ग्राहकलाई राम्रो प्रतिशत बोनस रिटर्न दिन सकेका थियौं । हाल बैंकको ब्याजदर कम हुँदा मानिसहरू बैंकमा निक्षेप राख्न अनिच्छुक हुन्छन्, जसले बीमा क्षेत्रलाई एकल बीमालेख बिक्री गर्न सजिलो हुन्छ ।
उदाहरणका लागि, यदि कसैले १० लाख रुपैयाँको बीमा कभरेज लिन चाहन्छ भने बैंकमा त्यो रकम पूरै राख्नुपर्ने हुन्छ । तर, टाइम भ्यालु अफ मनि को कारणले ७०/७५ प्रतिशत मात्रै रकम जम्मा गर्नाले पनि त्यो बीमा कभरेज पाइन्छ । त्यसैले अहिले सिंगल प्रिमियम बीमा बढी आकर्षक बन्न थालेको छ ।
यद्यपि यो अवस्था सधै रहँदैन । यदि फेरि बैंकको ब्याजदर बढ्यो भने मानिसहरू फिक्स्ड डिपोजिटतिर फर्किन सक्छन् । तर, यहाँ बुझ्नुपर्ने कुरा के हो भने- बैंक र बीमाको अवधारणा नै फरक हो ।
नेपालमा अझै पनि बीमा प्रडक्ट ब्याजदरको ट्रेन्डसँग जोडिएर चल्छन्। जबकि जापान वा अमेरिका जस्ता बिकसित देशहरुमा नन–पार्टिसिपेटिङ र र्टम प्रडक्ट बढी बिक्रीमा छन् । त्यहाँको कर प्रणाली र सामाजिक सुरक्षाको संरचना नै फरक छ । व्यक्तिहरू रिटायर्ड भएपछि सरकारले नै जिम्मा लिन्छ, त्यसैले भविष्यको बचतप्रति धेरै चिन्ता गर्नुपर्दैन ।
तर, हामीकहाँ अवकास भए लगत्तै आम्दानीको स्रोत सकिन्छ, चाहे जतिसुकै कर तिरे पनि । त्यसैले हामीकहाँ बचतमा आधारित प्रडक्टको माग बढी छ । मानिसहरू ६० वर्षपछि पैसा आवश्यक पर्ने सोचले अहिले नै योजना बनाउँछन् । तर र्टम प्रडक्ट पनि महत्वपूर्ण छन्, जसले कम बीमाशुल्कमा ठूला जोखिमहरू धारण गर्ने काम गर्छ । यद्यपि अहिले भने ९६/९७ प्रतिशतसम्म सावधिक जीवन बीमालेख (पार्टिसिपेटिङ पोलिसी) हरु स्वीकार भइरहेका छन् । अब र्टम प्रडक्ट विस्तार गर्दै जानुपर्ने आवश्यकता देखिएको छ । यो एउटालाई रोज्ने कुरा होइन, दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउने रणनीति हो ।
दुईवटा संस्था मर्ज भइसकेपछि पुँजी बढ्यो, त्यसको अनुपातमा व्यवसाय कतिको बढिरहेको छ ?
पुँजी किन बढ्यो र कसरी बढ्यो ? भन्नेतर्फ म जान चाहन्न । अहिले कम्पनीको प्रथम बीमाशुल्क अर्बभन्दा माथि गइसकेको छ । हामी यो वर्ष करिब १ अर्ब ८० करोड हाराहारी पुग्न सक्छौं । नवीकरण झन्डै ३.५-४ अर्ब रुपैयाँको हुन्छ । दुवै गर्दा करिब ६ अर्बभन्दा बढी हुन्छ ।
बैंक र बीमा फरक क्षेत्र हुन् । बीमामा पुनर्बीमा पनि गरिएको हुन्छ । मैले एक करोड रुपैयाँको बीमालेख लिए भने त्यसमा पाँच वा १० लाख रुपैयाँको जोखिम लिने हो बाँकी पुनर्बीमा कम्पनीलाई दिन्छौँ ।
यस्तो अवस्थामा चुक्तापुँजीले जोखिम धान्छ भन्ने लाग्दैन । किनभने जीवन बीमामा सबै जोखिम पुँजीले धान्नै सक्दैन । अहिले दुईवटा कम्पनी मर्ज भएको दुई वर्ष पुग्यो । हामी सञ्चालनमा आएको ७ वर्ष भयो । साविक प्रभु लाइफभन्दा महालक्ष्मी लाइफ एक वर्ष पछाडि आएको हो । अब हामीले हाम्रो पुँजी बराबरको प्रथम बीमाशुल्क निकट भविष्यमा अथवा ३/४ वर्षको अन्तरालमा गर्न सक्नेछौं ।
पाँच अर्ब रुपैयाँ पुँजी भएको कम्पनीले १० प्रतिशत मात्र प्रतिफल प्राप्त गर्न ५०/६० करोड रुपैयाँ कमाउनै पर्छ । शेयरधनीहरुलाई लाभांश दिनैपर्छ । बीमा कम्पनी चल्नका लागि नाफा चाहिन्छ । अहिलेसम्म हामीले राम्रो गरेका छौ । भविश्यमा पनि राम्रो गर्छौ भन्ने विश्वास छ ।
तपाईं नियामक निकाय हुँदै अहिले बीमा कम्पनी हाकिरहनुभएको छ । नेपालको बीमा बजार कस्तो देखिन्छ ?
नेपालको बीमा बजार राम्रो लाग्छ । जिडिपीको योगदानमा पनि हामी अन्य देशभन्दा कमजोर छैनौं। अहिले पनि जीवन बीमाको जीडीपीमा योगदान २.७४ र औसतमा बीमा क्षेत्रको ३.४७ प्रतिशत छ । आजभन्दा १० वर्ष अगाडि र अहिले हेर्ने हो भने मानिसमा सचेतना बढेको छ ।
मानिसलाई बीमा गरे के हुन्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर, यतिले मात्रै पुग्छ जस्तो लाग्दैन । अहिले नियामक निकाय पनि निकै सक्रिय भएको छ । स्थानीय तहहरूसँग समन्वय गरि कार्यक्रमहरु भइरहेका छन् । प्रत्येक प्रदेशमा नियामक निकाय पुगेको छ । यसले सचेतना स्तर बढ्छ भन्ने विश्वास लिएको छु ।
अझै पनि बीमा कम्पनी दूरदराजमा पुग्न सकेका छैनन् । बीमा बढी सहरमा केन्द्रित छन् । यस्तो कहिलेसम्म हुन्छ ?
बीमाको पहुँच गाउँ–गाउँसम्म पुर्याउनुपर्छ भन्नेमा दुईमत छैन । बीमा सेवा सबै नागरिकको हक हो, चाहे त्यो सहर होस् वा सुदूर गाउँ । हामी आफैं जुम्लादेखि बाजुरा,बझाङ दार्चुला सम्म पुगिसकेका छौं- त्यहाँभन्दा भन्दा दूरदराज के होला ? तर शाखा खोल्नु मात्रै समाधान होइन, त्यो शाखा दिगो रूपमा सञ्चालन हुन पनि सक्नुपर्छ । कुनै शाखा खोल्ने हो भने त्यसले दुई वर्षभित्र आफैं संचालनमा आउन सक्ने स्थितिमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हाल हाम्रो कम्पनीको शाखा-उपशाखा गरि ११५ वटा कार्यालयहरु छन्, जसमा ३० वटा शाखा काठमाडौं उपत्यकामा छन् ।
माइक्रो इन्स्योरेन्स सुरू गर्ने नियामकको उद्देश्य पनि त्यही हो-ती स्थानमा बीमा सेवा पुर्याउनु, जहाँ परम्परागत बीमा कम्पनीले पुग्न सकेका छैनन् । माइक्रो इन्स्योरेन्सले पाँच लाखभन्दा कम बीमा सीमा भएका ग्राहकहरूलाई लक्षित गर्ने हो, र उनीहरू त्यसै तहमा कार्य गर्नुपर्ने हो । त्यसका लागि सचेतना पनि आवश्यक छ । हाम्रो कम्पनी सँग मात्रै २५ हजार भन्दा बढी सक्रिय एजेण्टहरू छन्, जसको ठूलो हिस्साले गाउँघरकै प्रतिनिधित्व गर्छन् । त्यसैले बीमा गाउँमा पुगेको छैन भन्ने कुरा पूर्ण रूपमा सही नहुन पनि सक्छ ।
शाखा खोल्नु मात्रै समाधान होइन, त्यो शाखा दिगो रूपमा सञ्चालन हुन पनि सक्नुपर्छ । कुनै शाखा खोल्ने हो भने त्यसले दुई वर्षभित्र आफैं संचालनमा आउन सक्ने स्थितिमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो
अहिले आम मानिसलाई बीमा गर्नुपर्छ भन्ने सोचाइ कतिको अभिवृद्धि भएको पाउनुभएको छ ?
सुरुमा नेपालमा बीमाको पहुँच जम्मा ७ देखि १० प्रतिशत जनसंख्यामा सीमित थियो । आजको दिनमा करिब ४४ प्रतिशत जनसंख्याले बीमा सेवा लिएका छन्, जुन एक उल्लेखनीय प्रगति हो । यसले जनमानसमा जीवन अनिश्चित छ, मृत्यु सत्य हो र दुर्घटनाजस्ता घटना कहिल्यै पनि हुन सक्छ भन्ने चेतना विस्तार हुँदै गएको संकेत गर्छ ।
नेपालका अधिकांश परिवारमा एकजना मात्र कमाउने व्यक्ति हुन्छन्, जसको भरमा श्रीमती, बच्चा र अभिभावकजस्ता अन्य सदस्यहरू निर्भर हुन्छन् । त्यस्तो व्यक्तिलाई केही भएमा त्यसको सम्पूर्ण असर परिवारमा पर्छ ।
आजकल मानिसहरूले बीमालाई भविष्यको तयारीका रूपमा हेर्न थालेका छन् । कसैले अरूको अनुभवबाट सिकेका छन्, त कसैले आफैँ बुझेर बीमा गर्न थालेका छन् । नेपालको हालको कर प्रणालीले वृद्धावस्थाको सामाजिक सुरक्षा सुनिश्चित गर्न सक्दैन । जसले गर्दा मानिसहरू बुढेसकालका लागि आफैंले योजना बनाउनुपर्छ भन्ने बुझाइमा पुगेका छन् ।
त्यसमाथि, अधिकांश युवाहरू विदेश जाने गरेका छन् । उनीहरू आफैं आफ्ना परिवार र बच्चाहरूको जिम्मेवारीमा व्यस्त हुने भएकाले अभिभावकले पनि अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोच बढेको छ । उदाहरणका लागि, आजै बालबालिकाको १०–१५ लाख रुपैयाँ बराबरको बीमा गरेमा भविष्यमा पढाइ वा अन्य आवश्यकताका लागि २०/२५ लाख जुटाउन एकै पटक झमेला भोग्नुपर्ने हुँदैन । अहिले धेरै अभिभावकहरूले त्यो कुरा बुझेका छन् ।
बीमाको बजार अहिले तीव्र रूपमा विस्तार भइरहेको छ। तर यो चेतनाको विस्तार पर्याप्त छैन । यसलाई अझ विस्तार गर्न बीमा नियामक निकाय, सरकार, र हामीजस्ता कम्पनीहरूको सक्रिय सहभागिता अपरिहार्य छ । जनचेतना बढिरहेको छ भन्नेमा दुईमत छैन, तर अझै पनि देशका धेरै ठाउँमा पुग्न बाँकी छ । त्यसैले हामीले निरन्तर प्रयास गर्दै जानुपर्छ ।
न्यून आय भएका मानिसले कसरी बीमा गर्ने ?
बीमा विलासिता होइन, आवश्यकता हो। धेरैले बीमा गर्न धेरै पैसा लाग्छ भन्ने भ्रम पालेका छन्, तर त्यो वास्तविकता होइन । योजना मिलाएर काम गर्ने हो भने थोरै आम्दानी भएका व्यक्तिहरूले पनि सजिलै बीमा गर्न सक्छन् ।
जस्तो कि, यदि कसैले १५ वर्षको लागि १० देखि १५ लाख रुपैयाँको जीवन बीमा गर्छ भने, वार्षिक बीमाशुल्क औसतमा ९० हजारदेखि १ लाख रुपैयाँजति पर्छ । महिनामा हेर्ने हो भने त्यो ७–८ हजार रुपैयाँ मात्र हुन्छ । यदि १५ लाखको सट्टा १० लाख रुपैयाँको बीमा लिने हो भने, मासिक बीमाशुल्क झनै हुन आउँछ । यो त सामान्य मानिसले समान्य कुरामा गर्न खर्च रकम हो । समस्या के हो भने हामी एकैचोटि करोड रुपैयाँ चाहिन्छ भनेर सोच्छौं, जुन व्यवहारिक होइन । ठूलो रकम सानो सानो बचतबाटै बन्ने हो ।
अनि बीमा त मुख्यतः त्यही व्यक्तिका लागि आवश्यक हुन्छ, जसको आम्दानी सीमित छ । किनभने जसको कम आम्दानी छ, उसले जीवनमा हुने जोखिम थेग्न झन् बढी सुरक्षा आवश्यक पर्छ । त्यसैले बीमा खर्च होइन, बचतसँग सुरक्षा मिलाएको योजना हो भन्ने बुझाइ अब फैलनुपर्ने बेला आएको छ।
बीमाका पोलिसीहरू सबै उस्तै–उस्तै जस्तो देखिन्छ नि किन ?
हो, सतहमा हेर्दा अधिकांश बीमा पोलिसीहरू उस्तैजस्तै देखिन्छन् । किनभने बीमाको मूल ढाँचा-जस्तै बीमाङ्क रकम, अवधिको समय, र बोनस संरचना प्रायः कम्पनीमा मिल्दो जुल्दो नै हुन्छ । यदि कुनै कम्पनीले बढी बोनस दिन्छ भने उसको बीमाशुल्क पनि बढी हुन्छ । बीमाशुल्क बराबर भए बोनस पनि झण्डै उस्तै हुन्छ ।
तर, वास्तविक अन्तर सेवाको गुणस्तरमा हुन्छ-विशेष गरी दाबी भुक्तानीको प्रक्रियामा । बीमालेखधारीलाई चाहिने बेला सेवा कत्तिको सहज छ? दाबी गर्दा कति छिटो प्रक्रिया पुरा हुन्छ? कम्पनीको नेटवर्थ कस्तो छ? उसको विगतको दाबी भुक्तानी रेकर्ड कस्तो छ ? यी सबै महत्वपूर्ण पक्ष हुन, जुन धेरैले पहिलो नजरमा हेर्दैनन् ।
अहिले सेवामा ध्यान दिने प्रवृत्ति बढ्दै गएको छ । हाम्रो कम्पनीमा कागजात नपुगेका बाहेक लगभग सबै दाबी समयमै भुक्तानी हुन्छन् । आवश्यक कागजात पूर्ण भएमा हामी ३-४ दिनभित्र दाबी भुक्तानी दिने अभ्यासमा छौं । अन्त्यमा कुरा यत्तिमै आउँछ-वास्तविक मूल्य सेवा हो । पोलिसीको कागजमा लेखिएको मात्र होइन, तपाईंलाई कठिन समय परेको बेला कम्पनीले कत्तिको साथ दिन्छ, त्यसले नै फरक पार्छ ।
तर, पछिल्लो समय दाबी भुक्तानीमा किन धेरै प्रश्न उठिरहेको छ ?
हरेक कम्पनीको आफ्नो छुट्टै रणनीति हुन्छ । तर, हाम्रो कम्पनीको हकमा हेर्ने हो भने अहिलेसम्म ९९ प्रतिशत भन्दा बढी दाबी भुक्तानी भइसकेको छ । थोरै अपवादबाहेक अधिकांश दाबीहरू सहज रूपमा समाधान भएका छन् ।
तर समस्या प्रायः त्यस्तो अवस्थामा देखिन्छ, जब बीमा गर्दा ग्राहकले आवश्यक सूचना नखुलाएको हुन्छ । उदाहरणका लागि, यदि कसैलाई पहिले नै क्यान्सर लागेको छ भने त्यस व्यक्तिको बीमा गर्न मिल्दैन । तर जानकारीको अभावमा वा लापरवाहीले मानिसले बीमा गरिहाल्छन् ।
बीमा प्रस्ताव फारममा “तपाईंलाई कुनै रोग लागेको छ?“ भनेर सोधिएको हुन्छ । तर, ग्राहकले ‘छैन’ भनेर गलत जानकारी दिन्छन्, जबकि उसले पहिले नै परीक्षण गराइसकेको हुन्छ वा उसलाई रोग लागेको हुन्छ । यस्तो अवस्थामा पछि गएर दाबीमा समस्या आउँछ ।
यसलाई बीमा कम्पनीको गल्ती भन्न मिल्दैन । यो परम सदविश्वास सँग सम्बन्धित कुरा हो । यदि सबै जानकारी सत्य रूपमा दिइन्छ भने, दाबी प्रक्रियामा कुनै जटिलता हुँदैन ।
यो कुरा बीमीतहरुले बुझ्न आवश्यक छ । जब बीमा गर्दा सबै कुरा स्पष्ट गरिन्छ, तब दाबी भुक्तानी पनि सहज रूपमा प्राप्त गर्न सकिन्छ । यस्तो अपवादबाहेक, मृत्यु दाबी जस्ता दाबीहरूमा सामान्यतया कुनै समस्या देखिँदैन ।

पछिल्लो समयमा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको विषय निकै पेचिलो बनेर देखिएको छ । समस्या बढ्दो क्रममा हो ?
मैले व्यक्तिगत रूपमा हेर्दा यो देखेको छैन । कहिलेकाहीँ हुन पनि सक्छ । कहिलेकाहीँ सम्पत्ति शुद्धीकरण निवारणका लागि हामी दुई लाखमा पनि आय स्रोत खोजिरहेका हुन्छौं । एक लाख रुपैयाँभन्दा बढी बीमाशुल्कको विवरण हामीले राष्ट्र बैंकको सम्बन्धित विभागमा बुझाउने गरेका छौं । शंकास्पद कारोबारहरू पनि देखाउने गरेका छौं । भोलिको दिनमा असामान्य परिस्थिति सिर्जना नहोस् भनेर अलि कडाइ गरेको होला ।
बीमितले प्रायः १५ वर्ष तिर्छु भनेर योजना बनाउँछन्, तर तीन वर्षमै छोड्दा उनले तिरेको बराबरको रकम पनि फिर्ता पाउँदैनन् । एजेन्सी साथीहरूलाई पनि निरन्तर प्रिमियमबाट नै कमिशन आउने हुँदा सरेन्डरले सो कमिसन पनि रोकिन्छ
बैंकले नौ लाख ९० हजारसम्ममा स्रोत खासै हेर्दैन । हामिले प्राप्त गर्न बीमाशुल्क एक लाखभन्दा माथि अनिवार्य रुपमा बैङ्किङ माध्यम बाट मात्र लिन्छौं । बैंकमा रहेको पैसा हामीले फेरि पुनः प्रमाणीकरण कसरी गर्ने ? हामीले त्यो पैसालाई कर तिरेर नै आएको होला भनेर सम्झने हो । यद्यपी शंका लागेमा सम्बन्धित निकायमा सूचना गर्ने संयन्त्र पनि छ । साथै , बैङ्किङ माध्यम बाट आएको पैसालाइ सम्पती शुद्धिकरण गरेको भन्ने आधार हामीसँग हुँदैन । त्यसको स्रोत शुरुमानै बैंकमा नै बुझाएको हुन्छ ।
पछिल्लो समय बीमा पोलिसी सरेन्डरको संख्या बढेको तथ्यांकले देखाउँछ ?
सबैभन्दा पहिले, सरेन्डर (बीमा समर्पण) भनेको के हो भन्ने बुझ्न आवश्यक छ । बीमा सरेन्डर भन्नाले बीमितले बीमालेख जारी राख्न नसक्ने वा बीचमै छोड्ने अवस्था हो । बीमालेखको तीन किस्ता तिरेपछि र पूरा तीन वर्ष अवधि चलेपछि मात्रै सरेन्डर गर्न मिल्ने कानुनी व्यवस्था रहेको छ। तर, सरेन्डर कसैका लागि लाभदायक हुँदैन- न कम्पनीका लागि, न बीमितका लागि, न एजेन्सीका लागि ।
नेपालमा जीवन बीमा पोलिसी सरेन्डर (बीमालेख समर्पण) बढ्नुका पछाडि धेरै कारणहरू छन्- जस्तै अझै पनि बीमालाई अनिवार्यभन्दा सहायक मात्र मान्ने प्रवृत्ति, मानिसको आय–आम्दानी नबुझी जबरजस्ती वा अधूरो जानकारीका आधारमा बीमा बिक्री, देशको अस्थिर आर्थिक अवस्था, व्यक्तिगत जीवनका परिवर्तन (जस्तै बिदेसिनु ,जागिर छुटनु,व्यवसाय बन्द हुनु आदि) आफनो आर्थिक क्षमताभन्दा बढी बीमाङ्कको बीमा गर्नु ,कम बोनसदर, आकस्मिक वित्तीय आवश्यकताहरू नयाँ योजना लिन पुरानो बीमालेख सरेन्डर गर्ने जस्ता छन ।
यद्यपि हामी सरेन्डर शून्य होस् भन्ने चाहन्छौं, नेपाली बीमा बजारमा १५/२० प्रतिशत सरेन्डर रेटलाई सामान्य मानिन्छ । तर यसले प्रिमियममा कति असर गर्छ भन्ने बुझ्न जरुरी छ । कहिलेकाहीँ थोरै पोलिसी(बीमालेख) सरेन्डर हुँदा पनि ठूलो प्रिमियम (बीमाशुल्क) सरेन्डर हुन सक्छ भने कहिलेकाहीँ धेरै बीमालेख सरेन्डर हुँदा पनि कम बीमाशुल्क सरेन्डर हुन सक्छ । बीमालेख सरेन्डर कसैका लागि लाभदायक हुँदैनः कम्पनीले प्रारम्भिक खर्च (एक्विजिसन कस्ट) ५०-५५ प्रतिशतसम्म लगानी गर्छ, बीमितले छोटो अवधिमा सरेन्डर गर्दा आफ्नो योजना अनुसारको फाइदा पाउँदैनन्, र एजेन्टको कमिशन पनि रोकिन्छ ।
बीमितले प्रायः १५ वर्ष तिर्छु भनेर योजना बनाउँछन्, तर तीन वर्षमै छोड्दा उनले तिरेको बराबरको रकम पनि फिर्ता पाउँदैनन् । एजेन्सी साथीहरूलाई पनि निरन्तर प्रिमियमबाट नै कमिशन आउने हुँदा सरेन्डरले सो कमिसन पनि रोकिन्छ । त्यसैले हामी हाम्रा एजेन्टहरूलाई ब्रान्ड एम्बेसडर र पहिलो अन्डरराइटर भन्छौं । उनीहरूको कमिशन कम्पनीबाट हो । बीमित (पोलिसी होल्डर) को पैसा होइन । यदि त्यो बीमितकै पैसा हुन्थियो भने, भुक्तानीमा त्यो पैसा काटेर दिइन्थ्यो ।
अन्ततः, बीमा दीर्घकालीन आर्थिक सुरक्षा र परिवारको स्थायित्वका लागि हो भन्ने कुरा कम्पनी, अभिकर्ता र बीमितबीच सचेत, पारदर्शी र सकारात्मक संवादमार्फत फैलाउन सके बीमाको भविष्य अझ उज्यालो र दिगो बन्नेछ ।
अहिले बीमा क्षेत्रमा के कस्ता खालका चुनौतीहरू छन् ?
चुनौती त सधैं रहन्छन्, तर मुख्य कुरा त हो-ती चुनौतीलाई अवसरको रूपमा कसरी लिन सकिन्छ भन्नेमा ।अहिलेको सन्दर्भमा सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो । सशक्त एजेन्सी नेटवर्क निर्माण गर्नु, र त्योभन्दा पनि महत्वपूर्ण कुरा हो- एजेन्सी साथीहरूलाई बीमाको सटिक जानकारी दिनु, बुझाउन सक्नु । एजेन्टहरूलाई पेशागत रूपमा सशक्त बनाउनु अत्यावश्यक छ ।
यद्यपि बीमा पहुँच अहिले करिब ४४ प्रतिशत जनसंख्यामा पुगेको छ, त्यसलाई अझै विस्तार गर्नु अर्को चुनौती हो । बीमालाई हरेक घरसम्म पुर्याउनु, र बुझ्नेगरी पुर्याउनु, अझै टाढाको यात्रा हो ।
त्यसैगरी, नीति र नियामकीय चुनौतीहरू पनि उत्तिकै छन जस्तै सम्पत्ति शुद्धीकरण निवारण (एन्टी मनी लाइन्डिङ ) ऐनअनुसार कार्य गर्नु, नियामक निकायले ल्याउने नयाँ सर्कुलरहरू र नियमहरूको पालना गर्दै जानु, र तिनमा अनुकूलता ल्याउनु । अर्को चुनौती भनेको साधारणसभा समयमै सम्पन्न गर्नु हो, जुन नियामक र कम्पनीको इच्छाशक्ति तथा तयारीमा भर पर्ने कुरा हो ।
तर, यी सबै चुनौतीहरू नयाँ होइनन् । हिजो पनि थिए, आज पनि छन्, भोलि पनि रहनेछन् । प्रश्न भनेको ती चुनौतीलाई कसरी व्यवस्थित ढंगले समाधान गर्दै अगाडि बढ्ने भन्ने हो ।






प्रतिक्रिया दिनुहोस्