काठमाडौं । जोहान्स जट्टलाई विश्व बैंकले दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ। जट्टले मार्टिन राइजरको स्थान लिनेछन् र उनको नियुक्ति सन् २०२५ जुलाई १ देखि लागू हुनेछ।
जट्टको नेतृत्वमा विश्व बैंकले दक्षिण एसिया क्षेत्रमा रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मकता, मानव पुँजी विकास तथा निजी लगानी परिचालनजस्ता विषयहरूमा सहयोग जारी राख्नेछ।
दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा, जट्टले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्ने छन्।
यी क्षेत्रमा सञ्चालनमा रहेका ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग तथा वित्तीय स्रोतहरूको पोर्टफोलियोको निगरानी गर्ने छन्।
डच नागरिक जट्ट सन् १९९९ मा विश्व बैंकमा प्रवेश गरेका थिए र त्यसयता उनले विभिन्न पदहरूमा काम गरेका छन्। हालसालै उनी ब्राजिलका लागि विश्व बैंकका देशीय निर्देशक थिए।
यसअघि उनी सञ्चालन नीति तथा देश सेवा उपाध्यक्ष कार्यालयअन्तर्गत रणनीति, नतिजा, जोखिम तथा अध्ययन विभागका निर्देशक थिए। उनले बंगलादेश, भुटान र नेपालका साथै टर्की, कोमोरोस, इरिट्रिया, केन्या, रूवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देश निर्देशकको रूपमा काम गरेका थिए।
ुम दक्षिण एसिया क्षेत्रले पछिल्ला १० वर्षमा हासिल गरेको बलियो विकास प्रगतिलाई हेरेर निकै खुसी छु,ु जट्टले भने, ‘म यो नयाँ अवसरमा योगदान दिन र फेरि पनि यस क्षेत्रका जनताको आत्मीयता तथा सांस्कृतिक विविधतालाई अनुभव गर्न उत्साहित छु।’
जट्टले टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र स्नातकोत्तर डिग्री, हार्वार्ड विश्वविद्यालयबाट कानुन डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन्।
जट्ट भारतको नयाँ दिल्लीमा रहेर जिम्मेवारी सम्हाल्नेछन्। भारतमा रहेको कार्यालयले अब दक्षिण एसिया क्षेत्रको नयाँ क्षेत्रीय केन्द्रको रूपमा कार्य गर्नेछ।
विश्व बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकसँग नजिकको सम्बन्ध स्थापना गर्ने गरी विकेन्द्रिकरणको अवधारणा अनुसार भारतमा कार्यालय रहने भएको हो।






प्रतिक्रिया दिनुहोस्