आदरणीय बद्रीजी र गौरीजी, उमेर त हाम्रो उस्तै होला, तर यस एनआरएनए अभियानमा म यहाँहरूको लागि बच्चा नै हो । तर, बालक श्रीकृष्णले विष मिसाएर दूध पिलाउन आउने पुतनाको प्राण चुसेको कथा झै तपाईहरूसँग लड्नुपर्यो ।
दुःखी छु । तर, मेरो कर्मभूमि यूएईका ७ लाख नेपाली श्रमिकलाई खाडीमा भेडा चराउने भनेर हेप्ने र कोरोनाका बेलामा आईएलओको पैसाले उद्दार गरेको बहानामा पैसा कुम्लाएर हाइड्रोमा सेयर हाल्ने सुकिलामुकिला अर्बपतिसँग लड्नूको मजा बेग्लै छ । हाम्रा ल्यापटप कता गए ? मेरो भाइ प्रबीनका बिल कसरी पास भए ? त्यतिबेला प्रबीनका हरेक इमेल ड्राफ्ट गर्ने यही भुवन वाग्ले हो । यस्तो भ्रष्ट गतिविधि रोक्नुपर्छ भनेरै म एनआरएनएमा आएको हो ।
श्रमिकका लागि आएको पैसाको हन्डी यूएईमा क–कसले खाए, त्यसको छानबिन समितिमा बसेर काम गर्ने र भ्रस्टाचारीलाई कारबाही गर्ने आदरणीय सल्लाहकारद्वय भुवानीप्रसाद तिमल्सिना र लक्ष्मण खनाल हामीसँगै हुनुहुन्छ । त्यतिबेलाका आईएलओ मिसनका हाकिम मेरो गाउँले दाइ राजेन्द्र राउतलाई हिसाब मिलान गरेको पुरस्कार स्वरूप आईसीसी कार्यालयको सीईओ पदको बक्सिस दिएको सबैलाई थाहा नहुन सक्छ ।
तीनवटा अध्यक्षको गाईजात्राको अन्तिम अध्यक्ष भएर चुनाव गराउने बठ्याइँ गरेर हाम्रो तत्कालीन एनसीसी अध्यक्ष ठाकुरप्रसाद ढुंगानालाई इमेलको वर्षात गरेर एनसीसी नै खारेज गर्ने धम्की दिने बद्रीजीको इमेलको जवाफ दिने डेस्क सम्हाल्ने मान्छे यही भुवन वाग्ले हो ।
बाध्य भएर आफैं आएर यहाँको एनसीसीलाई आफ्ना पक्षमा ३३ जना डेलिगेट चाइयो भनेर मागेर हामीले दिन्छौं भनेपछि श्रद्देय अध्यक्ष विकास शाही र म महासचिव त्यतिबेलै बनेका हौं । चुनावको राति तपाईंका समर्थक ७ जना स्वर्ग जाने कुकुरको कानमा किर्ना पनि स्वर्ग गएजस्तै यो कमिटीमा थपेर हामीले बैधानिकता खोसेर लिएको हो । तपाईहरूले दान दिएको हैन ।
सोल्टी होटलमा अक्टोबर २०२३ मा भएको निर्वाचनमा भेरोसँग सम्झौता गरेर आइटी व्यवसाय गर्ने गौरीजीका इन्जिनियर राखेर झेली गरी तत्कालीन कोषाध्यक्ष उम्मेदवार आदरणीय ठाकुर ढुंगानालाई ५ भोटले हराउने, उपाध्यक्ष केशव पौडेलको शून्य मत देखाउने र एनआरएनएले आदरणीय आरके शर्मा दाइलाई इतिहासमै मध्यपूर्वको पहिलो अध्यक्ष पाउने २२ लाख मजदुरको सपना तुहाउने योजनाकारहरू तपाईं दुई मौसेरे भाइ नै हुनुहुन्छ ।

मेरा केही प्रश्नहरू छन् ।
हिम्मत छ भने सार्वजनिक उत्तर दिनुहोस ।
प्रश्न १ः तपाईहरूको काइते पत्र पढियो । एनसीसी यूएईलाई तपाईको गुलामी नगरेको कारण सम्बन्धन खारेज र तिनै कुकुरको कानमा रहेको किर्ना झै आएर उपाध्यक्ष भएका व्यक्तिलाई तदर्थ समितिको संयोजक बनाउने पत्रको बेहोरा थियो । डेलिगेटको भीख मागेर दिएको सम्बन्धन खारेज गर्न तपाईसँग के नैतिकता छ ?
अहिलेसम्म एनसीसी यूएईलाई फुटाउने, बिगार्ने र उद्दारको नाममा आईएलओको बजेट झ्वाम पार्ने बाहेक के सिन्को भाच्नु भएको छ यो २ वर्षमा ?
प्रश्न २: तपाईंहरू झगडिया हो । सर्वोच्च र पुनरावेदनमा हालसम्म कतिवटा मुद्दा हाल्नुभयो ? ती मुद्दाको खर्चमा यूएईका श्रमिकले छाक कटाएर तिरेको ५ डलरको अंश छ । तपाईंलाई त्यो खर्च गर्ने अख्तियारी कसले दियो ? तपाई कोषाध्यक्षदेखि अध्यक्ष रहुन्जेलसम्म र यो २ वर्षमा तपाईले मनोमानी गरेको खर्च भ्रस्टाचार हैन ? हामी एनसीसीहरू मिलेर तपाईविरूद्ध अख्तियारमा मुद्दा हाल्न मिल्छ कि मिल्दैन ?
प्रश्न ३: सम्मानित सर्वोच्च अदालतले परमादेश जारी गरी आदरणीय शेष घलेको संयोजकत्वमा गठित एचएलसीले वैधानिक चुनाव गराई आदरणीय महेश श्रेष्ठज्यूको अध्यक्षतामा कमिटी गठन भई परराष्ट्र मन्त्रालयले र राजदूतावासले समेत इन्डोर्स गरिसकेको अवस्थामा जबरजस्ती गुन्डा शैलीमा कार्यालय कब्जा गर्ने तपाईहरूलाई कसले अधिकार दियो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई गलत ब्रिफिङ गरेर त्यही आधारमा जबरजस्ती गर्नेले हाम्रो कमिटी खारेज गर्ने तपाईलाई अलिकति लाज लाग्दैन ?
प्रश्न ४: अध्यक्ष विकाश शाहीको नेतृत्वको नेपाल एसोसिएसनले राजदूतावास र संघसंस्थाहरूसँग मिलेर तपाईंहरूको एक थोपो सहयोग र साथ बेगर ११ वटा श्रमिकका सचेतनासहित पासपोर्ट बुटक्याम्प गर्नु अपराध हो ? दुबईमा कन्सुलर कार्यालय खोलेर ५ लाख बढी दुबई र उत्तरी इमिरेटका नेपाली श्रमिकका लागि सुविधा दिनु अपराध हो ?
इतिहासमै पहिलोपटक ६० हजार मान्छे भेला पारेर नेपाल फेस्टिभल गर्नु अपराध हो? खेलकुद सॉस्कृतिक कार्यक्रम गरेर श्रमिकहरूलाई खुसी बनाउनु अपराध हो ? सिस्नोपानी नेपालका कलाकार बोलाएर क्याम्प-क्याम्पमा हास्यव्यंग्य कार्यक्रम गरेर श्रमिक खुसी पार्नु अपराध हो ? महिनामा ३०/४० जनाको मृत्यु हुने श्रमिकका सयौं लासहरू नेपाल पठाउनु अपराध हो ?
मानव तस्करले अलपत्र पारेका अबैध स्टाटसमा बसेका रोगी बिरामी पीडित हजारौं नेपाली दाजूभाई दिदीबहिनीको उद्दार गर्नु, कागजात बनाएर टिकट काटेर पठाउनू अपराध हो ? कैयौं नेपालीको फसेका पैसा उठाईदिनु, झगडा मिलाईदिनु, अपराधी तस्करलाई प्रहरीमा बुझाउनु अपराध हो ?
बाबु बिनाका बच्चा बोकेका सूत्केरीलाई ६ महिना पालेर नेपाल पठाउनु अपराध हो? महिला तथा श्रमिकको क्षमतावृद्धि गर्न काम गर्नु अपराध हो ?
प्रश्न ५: तपाईंहरू आफै अबैध हो । तपाईंको महिला उपाध्यक्षले शव पठाउन पैसा नदिई पैसा दिएको छु भनेर विज्ञप्ति निकाल्ने र मैले त्यसको बास्तविक कुरा बाहिर ल्याएपछि हाम्रै कोषको पैसा खर्च गरेर फोटो खिचाउन जाने तपाईहरू नै हैन ? के नैतिकता पढाउनुहुन्छ हामीलाई ? के औकात छ तपाईंहरूको हामीलाई सम्बन्धन खारेज गर्ने ?
प्रश्न ६: एनसीसीहरू स्वायत्त हुन् । तपाईंहरू ठीक ठाउँमा बसे हामी तपाईलाई मान्थ्यौ, माने कै हो । तर कुकुर र बिरालो जसरी झगडा गरेपछि तपाईलाई किन मान्ने ? हामी महेश श्रेष्ठको कमिटीबाहेक अरूलाई चिन्दैनौ । हामीले एमओयू पनि गरिसक्यौ । हामी सही समयमा ५० हजार सदस्य हाम्रै पोर्टलबाट बनाएर यहाँको अथोरिटीसँग सल्लाह गरेर निर्वाचन गर्ने छौ । तपाईंको एमआईएसबाट तपाईका यहांका मान्छेले कति सदस्य बनाए ? हामीलाई थाहा छैन ?
वाग्ले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्र यूएईका महासचिव हुन् ।
(प्रस्तुत विचार लेखकका निजी हुन्)






प्रतिक्रिया दिनुहोस्