काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको १ करोड बजेट अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्य समितिको बैठकले सरकारले दिएको अनुदान अस्वीकार गरेको हो । सेजनले चार वटा कारण देखाएर अनुदान अस्वीकार गरेको जनाएको छ ।
‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा ’सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी हुन आएको छ’ सेजनले भनेको छ, ‘नेपालका आर्थिक पत्रकारहरुको यस छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति नेपाल सरकार एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई हामी धन्यवाद दिन्छौं ।’
सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको, सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जनाएको छ ।
साथै सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएका छौं-छन् । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने देखिएको जनाएको छ ।
यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको स्मरण गराएको छ । जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्